ग्लोबल आइएमईका ग्राहकलाई दिल्ली र मुम्बईमा स्वास्थ्य उपचार गराउँदा ५० % सम्म छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र भारतको नयाँदिल्ली स्थित बिएलके सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयर प्रा. लि.द्वारा संचालित) बीच फागुन २९ सेवा सुविधाहरुमा छुट दिने सहमति भएको छ । बैंकले रेडियन्ट लाईफ केयर प्रालिसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्भौता पत्रमा रेडियन्ट लाईफ केयर प्रा लिका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंक लि. का तर्फबाट सहायक महाप्रबन्धक आरतीराज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात भारतको नयाँदिल्लीमा बिएलके सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५०प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भने । डा खतिवडाले भने–‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’ नेपालमा पूर्वस्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक मात्रै भएको हुँदा मुलुकमा रहेका २८ वाणिज्य बैंकलाई समान अवसर प्रदान गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउँदै उनले सबै बैंकलाई समान रुपमा प्रतिस्पर्धा गराउने ढङ्गबाट बैकिङ सञ्जाल विस्तार गर्नुपर्छ भने । बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउँदै डा खतिवडाले भने, “कुनै पनि खातावालाको विवरणबाहिर जाँदैन, अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् । “मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहे पनि ती सबै नेपाली बैंक नै हुन्, सरकारले सबै बैंकलाई समान व्यवहार गर्दछ, सरकारी काम सरकारी बैंकबाटै गर्नुपर्छ भनिरहँदा सरकारी बैंकको पहुँच नपुगेको अवस्थामा निजी क्षेत्रका बैंकमा लगानी हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको छ”, उनले भने । “कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बैंकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था छैन”, डा खतिवडाले भने । यसअघि बैठकमा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबारभित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ भनी प्रश्न गरेका थिए । यसैबीच, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव र वन्यजस्तु बासस्थानबीच देखिँदै आएको द्वन्द्व व्यवस्थापन गर्न सरकार समग्र योजना निर्माणमा जुटिरहेको बताए । प्रतिनिसभाको आजको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी दिनमा झापा र बर्दियालगायत जिल्लामा हात्ती आक्रमणका घटना न्यूनीकरणका लागि ठीक ढङ्गबाट तारबार व्यवस्थापन गरिनेछ भने ।

बुटलवमा खुल्यो गुहेश्वरी मर्चेण्टको बाह्रौं शाखा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालय गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ उपस्थिति रहेको थियो । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।