प्रभु बैंकले बढायो ५८ प्रतिशत नाफा, कर्जाको ब्याजदर १.०१ प्रतिशत सस्तो हुने
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४५ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ४५ करोड २१ लाख ७१ हजार पुग्दा माघदेखि चैतसम्म बैंकले ४१ करोड रुपैंया नाफा कमाएको देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ५८.३६ प्रतिशत हो । नाफासँगै बैंकका वित्तीय परिसूचकमा उच्च सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ३.९० बाट घटेर २.४२ प्रतिशतमा झर्दा लोन लस प्रोभिजन ७५ प्रतिशतबाट बढेर १३० प्रतिशत पुगेको छ । त्यस्तै अघिल्लो त्रैमासमा ६.३९ प्रतिशत रहेको कस्ट अफ फण्ड ०.२१ प्रतिशतले घटेर ६.१८ प्रतिशत कायम हुँदा बेसरेटमा १.०१ प्रतिशत भन्दा बढीले घटेर ९.१६ प्रतिशत कायम भएको छ । यो बेसरेटका आधारमा प्रभु बैंकका ऋणीहरुको ब्याजदर १ प्रतिशत भन्दा बढीले सस्तिने देखिएको छ । अन्य वित्तीय परिसूचकको सुधारसँगै बैंकले ४.४१ प्रतिशत रहेको स्प्रेडदर ४.८८ प्रतिशतमा पुर्याएको छ, यद्यपि नेपाल राष्ट्र बैंकले ४.७५ प्रतिशतसम्म कायम गर्न भनेको बेसरेट तोकिएकोभन्दा बढी हो । तीन महिनाको अवधिमा करिब १० अर्बले निक्षेप संकलन बढाएको प्रभुले कर्जा प्रवाह १४ अर्बले बढाउँदा सीसीडी अनुपात भने ७४.४९ प्रतिशतबाट ७५.८२ प्रतिशत पुगेको छ । बैंकको पुँजीकोष अनुपात ११.४४ प्रतिशत छ, यसले पुँजीकोषमा वृद्धि गर्नुपर्ने वाध्यता बैंकलाई देखिन्छ । ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको बैंकको यो शेयर वितरणप्रश्चात् यो अनुपातमा केही सुधार देखिनेछ । बैंकले अघिल्लो वर्ष ५.९० अर्ब रहेको ब्याज आम्दानी बढाएर ८.०१ अर्ब पुर्याउँदा ब्याज खर्च ३.९५ अर्बबाट बढाएर ४.६४ अर्ब पुर्याएको छ । प्रशासनिक खर्च पनि बढेर १ अर्ब ७ करोडबाट १ अर्ब २४ करोड पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा रोजगारदाताले गर्नु पर्ने
काठमाडौ । सरकारले वैदेशिक रोजरागीका लागि जाने नेपाली कामदारको बीमामा चासो देखाएको छ । आगामी आर्थिक वर्षबाट वैदेशिक रोजगारमा जाने श्रमिकको बीमा रोजगारदाताले नै गर्नु पर्ने नीति कार्यक्रममा उल्लेख भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको पेश गरेको नीति कार्यक्रममा बैदेशिक रोजगारीमा जानेको बीमा अपरिहार्य रहने कुरामा विषेश जोड दिएकी हुन् । रोजगारीको खोजीमा परदेशी जीवन बिताउन बाध्य नेपालीको जोखिमलाई अन्त्य गर्न श्रमिककै पक्षमा सम्बोधन गरेको हो । बीमा कम्पनीहरुको नियामकको रुपमा रहेको बीमा समितिलेपनि वैदेशीक रोजगारमा जाने श्रमिकको पक्षमा विभिन्न निर्देशिका तथा कार्यक्रमको तर्जुमा गर्दै आएको पाईन्छ । विदेश जाने कामदारको मर्मलाई मध्यनजर गर्दै बीमा समितिले वैदेशिक रोजगारमा जाने कामदारको बीमा पुल मार्फत हुने सुविधा उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारमा ‘बीमा पुल’ बीमा समितिले वैदेशिक रोजगारीमा हुने जोखिम बहन गर्न सहजता होस् भन्ने ध्येयले बीमा पुलको सञ्चालन गरेको हो । पुलमा तोकिएका कम्पनीले अन्य कम्पनीको कार्यक्रमलाई सहज बनाउन सहयोगी भुमिका निभाउँदै आएको पाईन्छ ।
सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधा सहित ‘जीवन सुरक्षा बचत खाता’
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न बैंकले यो योजना सार्वजनिक गरेको हो । घरबाटै अनलाइनपनि खोल्न सकिने ‘जीवन सुरक्षा बचत खाता’ मा २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने विशेषता रहेका छन् ।