लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारण सभा, चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मनोहरदास मूलले १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरे । आब २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको अध्यक्ष मूलले जानकारी गराए । सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी रु. ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए ।

यूनाइटेड फाइनान्सबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

आइएमई जनरल र बिदुर नगरपालिकाबीच सम्झौता, पशुपन्छी तथा कृषि बीमा गरिने

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगारपालिका, नुवाकोटबीच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ । सोही अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले नगरावासीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरेको बताए ।