प्रभु बैंकको एकैदिन दुई नयाँ शाखा डिमुवा र बिरेठाँटीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा सञ्जाल बढाउने क्रममा एकैदिन दुई शाखाको विस्तार गरेको छ । बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चापागाइँले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसरी, प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । आजदेखि सञ्चालनमा आएको बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
कृषिमा दश प्रतिशत लगानी पुर्याउन राष्ट्र बैंकको निर्देशन, वाणिज्य बैंकहरुले गरे बेवास्ता
नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए पनि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्ने, झण्झटिलो प्रक्रिया बनाइदिने र ढिलासुस्ती गरिदिनाले कृषि कर्जा सर्वसुलभ नभएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति साउन ८ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । यसअघि जारी भएको मौद्रिक नीतिलाई निरन्तरता दिँदै राष्ट्र बैंकले कूल पूँजीको पुनःअनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा पुर्याउन वाणिज्य बैंकहरूलाई मौद्रिक नीतिमार्फत निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०५९/०६० देखि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि भएको जनाएको छ । असार मासन्तसम्म सो प्रकारको ऋण लिने किसानको सङ्ख्या १५ हजार ९१६ छ भने उनीहरुसँग रु २९ अर्ब ३६ करोड कर्जा बक्यौता छ । नेपाल सरकारले कृषि कर्जामा पाँच प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । यस वर्ष सहुलियतपूर्ण कर्जाका लागि सरकारले कूल रु एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको हाे । कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ । रु १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशत मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समयअगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था छ । रासस
नेपाल राष्ट्र बैंकले सोमबार १० कराेडको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० कराेड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरिदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।