बैंकिङमा एआईको प्रयोग बढाउन ग्लोबल आइएमईको ह्याकाथन सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन २०२६’ सुरु गरेको छ ।

शुक्रबार आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष दोस्रो संस्करण सञ्चालन गरेको जनाएको छ ।

प्रतियोगितामा प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूबाट खुला आवेदन माग गरिएको थियो । तीमध्ये छनोट भएका १४ टोली आवासीय प्रतियोगितामा सहभागी छन् ।

बैंकका अनुसार प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सहभागीहरूले लगातार ३६ घण्टासम्म कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ । सहभागी टोलीका लागि आवासीय व्यवस्थासमेत गरिएको छ ।

प्रतियोगिताका क्रममा टोलीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित नवीन अवधारणा र समाधान प्रस्तुत गर्नेछन् । ती समाधानले बैंकिङ सेवालाई थप सुरक्षित, सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

उद्घाटन कार्यक्रममा सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सेवा विकासका सम्भावना पहिचान गर्न र यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइने जानकारी दिए ।

null

Share News