काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आव २०७५/७६ को खुद नाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६ प्रतिशत लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश(कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाइएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको जनाएको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका जनाइएको छ ।