वित्तीय विवरण सार्वजनिकमा पहिलो बन्यो सिटिजन्स बैंक, नाफा ३५ करोड, अरु सूचक कस्ता ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ३५ करोड रुपैंया नाफा कमाएको छ । बैंक तथा वित्तीय संस्थामध्येमै पहिलोपटक त्रैमासिक विवरण सार्वजनिक गर्दै सिटिजन्सले साउनदेखि असोज महिनासम्मको अवधिमा जम्मा ३४ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो आम्दानी बैंक ८ अर्ब ६२ करोडको चुक्तापुँजीका आधारमा वार्षिक १६.२० रुपैंया हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड ८८ लाख रुपैंया नाफा कमाए पनि यो वर्ष भने पहिलो त्रैमासमा बैंकको नाफा घट्न पुगेको हो । प्रतिशेयर आम्दानी नाफा घटे पनि बैंकको मूल्य आम्दानी अनुपात भने करिब १२ गुणामात्रै छ जुन औसतभन्दा राम्रो हो । बैंकको नाफा ३४ करोड ९१ लाख रुपैंया भए पनि उक्त रकम विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयरधनीलाई बाँड्न मिल्ने रकम भने २१ करोड रुपैंया मात्रै छ । यद्यपि आर्थिक वर्षको पहिलो त्रैमास भएकोले यो नाफाले त्यति ठूलो महत्व भने राख्दैन । बैंकसँग २ अर्ब ९५ करोडको रिजर्भ छ जुन अघिल्लाने वर्षभन्दा १३ करोड रुपैंयाले बढी हो । असोज मसान्तसम्म आइपुग्दा बैंकले निक्षेपतर्फ करिब २ अर्बको सुधार हासिल गर्दा कर्जा प्रवाह करिब साढे ४ अर्बले बढाएको छ । बैंकको निक्षेप संकलन ७२ अर्ब ४३ करोड हुँदा कर्जा प्रवाह ६७ अर्ब ५५ करोड रहेको देखिएको हो । बैंकले यो अवधिमा निष्क्रिय कर्जा अनुपातमा भने उच्च सुधार गरेको छ । अघिल्लो वर्ष १.२३ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यो अवधिसम्ममा ०.९८ प्रतिशतमा झार्दा बैंकको लोनलस प्रोभिजन १९६ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.३० प्रतिशत, बेसरेट १०.७५ प्रतिशत र सीसीडी रेसियो ७८.४१ प्रतिशत हुँदा पुँजी पर्याप्तता अनुपात भने १२.६६ प्रतिशतको कसिलो विन्दुमा छ । नेपाल राष्ट्र बैंकको परिमार्जित स्प्रेडदर गणना विधिअनुसार बैंकको ब्याजको स्प्रेडदर ४.१६ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको सीमाभित्र हो ।

राष्ट्रिय वाणिज्य बैंकका ट्रेड युनियनहरुको शुभकामना कार्यक्रम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । तीनवटै ट्रेड युनियनका अध्यक्ष क्रमशः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंक लि.का अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंक लि.का अध्यक्ष दिपेन्द्र कार्कीले संयुक्त रुपमा अध्यक्षता गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रुमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुखहरु, विभागीय उप प्रमुखहरु, शाखा प्रबन्धकहरु, तीनवटै युनियका पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका महासचिव उभार पाण्डेले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका महासचिव मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सचिव ईश्वर उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

काठमाडौँको चपलीमा प्राईम कमर्सियलको शाखा बिस्तार

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बिहीबार बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् ।