ग्लोबल आइएमई र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अल बिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो । अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अल बिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरु मार्फत रकम प्राप्तगर्न सक्नेछन् । बैंक अल बिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ । साउदी अरबका लागि नेपाली राजदुत प्राडा महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुवै बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा बोल्दै राजदुत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अल बिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहज हुने बताउँदै नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताए । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीचअन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको बताए । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उनले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पठाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताए । यी दुई बैंकबीच गत जेठ १३ गते यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अल बिलादका महाप्रबन्धक ओमार अलहुसेनले हस्ताक्षर गरेका छन् ।
भदौमा भित्रियो पौने १ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको भदौमा मात्रै ७८ अर्ब ३३ करोड रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका रोजगारबाट गत साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स नेपाल पठाएका थिए । यस वर्षको साउन र भदौमा गरी कुल १ खर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । यस वर्षको पहिलो दुई महिनामा भित्रिएको रेमिटयन्स गत आवको सोही अवधिको तुलनमा ३३.४ प्रतिशतले बढेपनि वृद्धिदरमा भने ०.३ प्रतिशतले कमी आएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली संख्या बढेसँगै रेमिट्यान्स बढेको हो । गत आवको भदौमा वैदेशिक रोजगारीमा जानेको संख्या ३९ प्रतिशतले घटेको थियो । गत आवमा नेपालमा वैदेशिक रोजगारीमा गएकाबाट ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो । सो रकम नेपालकोे बजेटको करिब आधा हो । सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ ।
नेशनल माइक्रोफाइनान्सले गर्यो पोर्टफोलिया म्यानेजमेन्ट तालिम
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले पोर्टफोलिया म्यानेजमेन्ट एण्ड लिडरसीप तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङक्रिक रिसोर्ट धादिङबेसीमा कात्तिक २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको हो । तालिमको उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका हुन् । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयका वरिष्ठ सहायक तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पण्डित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व सीप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयम् उत्प्रेरणा बारेमा प्रशिक्षण गराइएको थियो ।