काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ क्षेत्रमा साइबर क्राइमको जोखिम बढेका बताएका छन् । यस क्षेत्रमा बढ्दो जोखिमलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय क्षेत्रले साइवर सुरक्षामा लगानी बढाउनु पर्ने बताएका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रमा उनले भने ‘एनआईसी एशियाको स्वीफ्ट ह्याकदेखि अहिलेसम्म भएका क्राइमहरूको प्रकृति हेर्दा जोखिम अझ बढेको छ,’ उनले भने ‘लगानी नगरे जोखिम अझ बढ्छ ।’ प्रविधिले बढाएको जोखिम न्यूनीकरण गर्न यसमा लगानी गर्नै पर्ने आवश्यकता आएको छ । यो विकाससँगै आएको हो र यसलाई हामीले मिलेरै समाधान गर्नुपर्छ ।
अहिलेको युग भनेको प्रविधिको युग भएको र यसको अधिकतम उपयोगले वित्तीय बजारलाई क्यासलेस बनाउँदै जाने उनले बताए । ‘डिजिटाइजेशनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान राष्ट्र बैंकले अभियान नै शुरु गरेको उनले जानकारी गराए ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पेमेन्ट कार्ड, मोबाइल वालेट, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्पिटिङ लगायतका विकासले वित्तिय क्षेत्रको क्षमता र प्रभावलाई बढाएको छ । ‘साइबर क्राइम दैनिक नयाँ नयाँ ढंगले आईरहेकाले सोही अनुसारको सुरक्षा अपनाउनु पर्ने उनले बताए ।