शेयर बजारमा नेपाल लाइफ फेरि छैटौँ स्थानमा, ४ हप्तापछि हिमालयन बैंकलाई उछिन्यो
काठमाडौं । शेयर बजार पुँजीकरणमा ४ हप्तापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि छैंटौं स्थान हासिल गरेको छ । नेपाल लाइफले हिमालयन बैंकलाई उछिनेर सो स्थान हासिल गरेको हो । गत सेप्टेक्बर २६ मा भएको साप्ताहिक कारोबारमा हिमालयन बैंकले नेपाल लाइफलाई उछिनेर छैंटौं स्थान लिँदै आएको थियो । अक्टोबर २४ को कारोबारपछि भने नेपाल लाइफले हिमालयनलाई फेरि ७ औं स्थानमा सीमित गरिदिएको हो । पछिल्लो कारोबार अनुसार नेपाल लाइफको पुँजीकरण ४३ अर्ब ९७ करोड र हिमालयनको ४३ अर्ब २० करोड रुपैंया छ । सेप्टेम्बर २६ मा हिमालयन बैंकको शेयर ४८७ रुपैंयामा कारोबार भएकोमा अक्टोबर २४ मा ५०७ रुपैंया पुगेको छ जुन ४.११ प्रतिशतको वृद्धिदर हो । नेपाल लाइफको भने सोही अवधिमा शेयरमूल्यमा ५.८२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपाल लाइफको शेयर मूल्य ७५६ रुपैंयाबाट ८०० रुपैंया पुगेको छ । हिमालयन बैंक बजार पुँजीकरणमा पछि पर्नुको कारण भने नेपाल लाइफको मूल्य धेरै रुपैंयाले बढ्नु हो । यो अवधिमा हिमालयन बैंकको २० रुपैंयामात्रै बढ्दा नेपाल लाइफको शेयरमूल्य ४४ रुपैंया बढेको थियो । नेपाल लाइफको ५ करोड ५० लाख र हिमालयन बैंकका ८ करोड ५२ लाख कित्ता शेयर जारी भएका छन् ।
नेपाल लाइफको शाखा डोल्पाको दुनैमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन र बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको बताए । यसैगरी, कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको अवस्थामा नेपालभर नै सेवाको विस्तार गर्ने रहेको जानकारी दिएका छन् । यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी रू. ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
काठमाडौंको टोखामा प्राइम कमर्सियल बैंकको दुई शाखा विस्तार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ग्राण्डी शाखा बैंकका संचालक नरेन्द्र बज्राचार्य र बानियांटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् । यस बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै निक्षेपकर्ता तथा ग्राहकहरुलाई थप गुणस्तर दिंदै जानेछ । यस शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।