काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र युके एड सक्षम एक्सिस टु फाइनान्सबीच सहुलियतपूर्ण कर्जामा सहमति भएकाे छ । शुक्रबार बैंकले पत्रकार सम्मेलनको आयोजना गर्दै गोरखा र धादिङ जिल्लाका भुकम्प पीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सहमति भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
२०७२ सालको भुकम्पले क्षति पु¥याएका धादिङ र गोरखाका ६ पालिकाहरुका भुकम्प पीडितहरुलाई उपलब्ध गरिने बताइएको छ ।
धादिङका धुनिबेँशी, नीलकण्ठ र ज्वालामुखी गाउँपालिका र गोरखाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिदलखन गाउँपालिकाका भुकम्प पीडितलाई सहुलियत कर्जा उपलब्ध गरिने बताए । यस्तै सम्झौतापछि प्रदेश नम्बर २, ५ कर्णाली र सुदूरपश्मि प्रदेशकमा दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षा कोषको भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएकाे नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी बैंकले भुकम्प पीडितलाई सहुलियत रुपमा कर्जा लगानी गरिने बताए । यस्तै सक्षमका टीम लिडर निर्मल दाहालले यो सम्झौतले भुकम्प पीडितहरुले धेरै सहयोग पुग्ने बताए ।
उनले भुकम्प पीडितहरुलाई कर्जाको ब्याजदरमा कसरी सहुलियत गर्ने भन्ने कुरामा बारम्बार छलफल हुँदा अहिले आएर सम्झौता भएको बताए । अहिले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा लिनेले २.६ प्रतिशत ब्याजमा कर्जा पाइरहेका छन् ।