बैंक अफ काठमाण्डूले ल्यायो सहज बचत खाता, २५ रुपैयाँमा नै खोल्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा  ‘ बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता

जेएससि एमएफआइ इन्टल एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइ रेमिटका प्रबन्धक दिवाकर पौडेल र जेएससि एमएफआइ इन्टल एक्सप्रेसका प्रमुख निर्देशक डेभिड तवर्तकिलाजले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सोमबारदेखि लागु हुनेगरी इन्टल एक्सप्रेसमार्फत विश्व भरिबाट पठाएको रकम जिएमइ रेमिटको ८ हजार भन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ । हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाँडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै

रसुवा । रसुवा जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोबार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् । यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एक समेतका बैंक शाखा स्थापना भइसकेका छन् । नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् । बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् । अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ । रासस