राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बिच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पारेका थिए भने सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताए ।

करको विषयमा म अलि कठोर नै छुँ साथीहरुः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘करको विषयमा म अलि कठोर नै छु साथीहरु, यो बुझिदिनु होला, कर भनेको कमाउन सक्नेबाट लिने र कमाउन नसक्नेलाई दिने हो, तपाईहरु खाली कर छुट, कर छुट मात्र भनिरहनु हुन्छ,’ अर्थ मन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. खतिवडाले भने । जीवन बीमा कम्पनीहरुले जीबन बीमा गरेको रकममा कर छुटको सीमा बढाउनु पर्ने बताउँदै आएका छन् । अहिले जीबन बीमा गरेको रकमबाट वार्षिक २५ हजार रुपैयाँसम्म घटाएर आयकर छुट पाउन सकिन्छ । बीमा कम्पनीहरुले यो रकम बढाएर ५० हजार रुपैयाँ बनाउन माग गरिरहेका छन् । बीमा गरेको रकम जम्मा भएर राष्ट्रिय महत्वका परियोजना पनि बनाउन सकिने भएकोले कर छुट दिएर बीमामा आकर्षण बढाउनु पर्ने कम्पनीहरुको भनाइ छ । तर, कर छुट दिदाँ राजस्व संकलन प्रभावित हुने भन्दै सरकारले सीमा बढाउन चाहिरहेको छैन । देशमा सम्पन्न तथा विपन्न दुर्व वर्गका नागरिक रहने र सरकारले दुवैलाई सम्बोधन गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । साथै, हरेक क्षेत्रको जोखिम बहन गर्ने भएकाले बीमा बजारमा सबैले आफ्नो सकारात्मक भुमिका खेल्न आवश्यक रहेको उनले सुझाए ।

एनएमबि बैंकको नयाँ खाता संचालनमा, यस्ता छन् बीमाका सुविधा

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गरि नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावाललाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुको लागी ५ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिएको छ । एनएमबि प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ७ लाखसम्म बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ । रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरेको बैंकले जानकारी गराएको छ । यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएको जनाएको छ ।