बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिले निर्देशन दिएको छ । बुधबार एक निर्देशिका जारी गर्दै सो जानकारी दिएको हो । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनुपर्नेछ । यस्तै, बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गरेको हुनु उल्लेख गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयको मागसँगै सूचना प्रविधि मार्गदर्शन मार्फत थप व्यवस्थित गर्न खोजिएको बताए । ‘हालसम्म बीमा कम्पनीहरुले आफ्नो वेव साइट प्रयोगमा ल्याएका थिए सोही मार्फत काम गर्थे, अहिले यो प्रणाली लागु गर्न खोजेका छौं’, उनले भने । बीमा कम्पनीहरुले हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धि सक्कली उत्पादन मात्र प्रयोग गर्न पाउने छन् । त्यस्ता सक्कली ईजाजतपत्र लाइसेन्स समेत राख्न समितिले अनिवार्य गरेको छ । सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको हुनपर्नेछ । कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनु पर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ । निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्याण्डवाई साइट वा विपद पुनरुत्थान साइट कार्यान्वयन गर्नु पर्नेछ । डेटा, पावर तथा प्रणालीको व्याकअप, रिकभरी टाइम अब्जेक्टिभ र रिकभरी व्याइन्ट अब्जेक्टिभ, घटना व्यवस्थापन, डेटा सेन्टर तथा प्रकोप व्यवस्थापनमा भएको सूचनाको कारोबार तथा तथ्यांकको पूर्णताको सम्बन्धमा, सूचनाको सुरक्षा सम्बन्धलाई समितिले जोड दिएको निर्देशिकामा उल्लेख छ । यस्ताे छ  निर्देशिका  [pdf id=198022]

एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना ल्याउने, पुग्याे धिताेपत्र बाेर्ड

काठमाडाैं । एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा ल्याउने भएकाे छ । क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको उक्त योजना ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हाे । क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई फण्ड ल्याउन बोर्डकाे अनुमति मागेको हो । बोर्डले अनुमति दिएसँगै क्यापिटलले साे मात्राकाे फण्ड बजारमा ल्याउने छ । नेपालमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखीम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालन ल्याउन लागिएको जानकारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले उल्लेख गरेका छन् । क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढावबाट कम प्रभावित हुने देखिन्छ । यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ । हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ र ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ संचालन गरिरहेको छ । यसका साथै एन आई सी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एनआईसी एशिया क्यापिटल एक मात्र आईएसओ सर्टिफाइड क्यापिटल हो ।

को बन्ला अर्थमन्त्री ? प्रधानमन्त्रीले भने: ‘कि वार कि पार मैले युवराजलाई नै निरन्तरता दिने हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने खुलेको छ । नेकपाका एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने बताएका हुन् । बुधबार नेकपा सचिवालयले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने गरी सिफारिस गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले अस्विकार गरेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्यूले युवराज खतिवडालाई नै निरन्तरता दिने बताउनु भएको छ, उहाँले अब कि वार कि पार शुरु हुन्छ भन्नुभयाे, खतिवडा नै अर्थमन्त्री रुपमा दाेहाेर्याउने उहाँकाे मनसाय छ’, स्राेतले भन्याे । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपा सचिवालयकाे निर्णय प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् । याे सँगै अब उनको अर्थमन्त्री पद जाेगिने सम्भावना पनि बढेको छ । गौतम अर्थमन्त्री डा‍. युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतको दाबी छ । तर यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।