विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवास्थापन एसोसिएसन (निर्मा) ले विपद् र जोखिम विरुद्ध सरकारसँग हातेमालो गर्न तयार रहेको बताएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सरकारले लकडडाउन घोषणा गरेको सन्दर्भमा निर्माले विपद र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउनु पर्ने र त्यसका लागि सरकारसहित सरोकारवाला सबैसँग सहकार्य गर्ने जानकारी दिएको हो । कोरोनो भाइरस संक्रम रोक्न सरकारले लागू गरेको लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै असर परेको भन्दै निर्माले यो परिस्थितिको सामना गर्नका लागि सरकारद्धारा स्थापना गरिएको राष्ट्रिय बिपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा नीजि पहलमा स्थापना भएका विभिन्न जोखिम व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुसँग हातेमालो गरी अघि बढ्नका लागि नेपाल बीमा तथा जोखिम व्यवस्थापन एशोसियसन प्रतिबद्ध रहेको जानकारी गराइएको हो । ‘भविष्यमा आईपर्ने विभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनीतिक तयारीका लागी नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ बर्ष २०७७ आगमनको पूर्वसन्ध्यामा सारा संसार कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुध्न वाध्य भएको भन्दै निर्माले विश्वमा ४ अर्बभन्दा बढी मानिस बन्दाबन्दीकै अवस्थामा रहेकोले नेपालमा यो समय अझै लम्बिने आंकलन गरेको छ । शुरुआती दिनहरुमा यस खतरनाक रोगलाई निकै हल्का रुपमा लिएको कारणले जोखिम व्यवस्थापन सम्बन्धी पर्याप्त तयारी नगर्दा विश्वका शक्तिशाली मुलुकहरु समेत त्राहीमाम भएका र आज कोरोनासंग सिङ्गो मानव सभ्यता डरायमान बन्न पुगेको निर्माको ठहर छ । ‘मानव सभ्यताको सुरुवाती दिनहरुबाटै धेरै प्रकारका जोखिम र विपद्हरुको सामना गर्दै हामीहरु यहाँसम्म आइपुगेका छौ, यो अवधिमा मानव जातिले ठुला ठुला प्राकृर्तिक विपद र मानव सिर्जित विपद्हरुको सामना मात्र होइन, त्यस्ता विपदमाथि बिजय प्राप्त नै गरेको इतिहाँस छन्, मानवीय सभ्यता जति विकसित हुदै जान्छ, जोखिमका स्वरुप र परिणामहरु पनि परिवर्तन हुदै जाने तथ्य हामीबीच छ,’ निर्माले भनेको छ । कोरोना बिरुद्धको यो मानव जातिको लडाईमा नेपाल पनि सहभागी हुन पुगेको भन्दै निर्माले यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आव्हानलाई सकारात्मक रुपमा लिई, जीवन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु सबैको दायित्व हो भनेको छ । ‘यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलिका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापि हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पति हुदैन, कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागि सम्भावना पनि हुन सक्छन्, ती सम्भावना आगामी दिनमा देखिने छन्,’ अध्यक्ष डा. घिमिरेले भने । नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनि सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन भन्दै अध्यक्ष घिमिरेले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दासमेत नेपाल भने निकै पछाडि रहेको बताए । देशका केही सक्षम जनशक्ति आज विदेशी भूमिमा आफ्नो आविष्कार र अनुसन्धानको परिणाम कौडीको भाउमा बिदेशीलाई सुम्पन बाध्य छन् । देशमा रहेकाहरुलाई आवश्यक अनुसन्धान र विकासमा लगाउन सरकारले सकेको छैन । अवका दिनमा सकारात्मक सोचका साथ भोलिका दिनमा आइपर्न सक्ने विपद्को पूर्व तयारीमा जुट्न तथा जोखिम न्युनिकरणका माटो सुहाउदो उपायको खोजी तथा विकासमा अघि बढ्नु पर्ने अध्यक्ष घिमिरेले बताए ।

मेरो माइक्रोफाइनान्सले कोरोना कोषमा साढे २५ लाख दिने, खाद्यान्नका लागि छुट्टै १० लाख पनि

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा २५ लाख ६० हजार ७ सय १९ रुपैयाँ सहयोगको गर्ने निर्णय गरेको छ । संघीय सरकारले स्थापना गरेको कोषमा गर्ने यो सहयोग सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा गरिने निर्णय भएको हो । यसका अतिरिक्त तत्कालका लागि संस्थाले विपन्न तथा पिडित वर्गहरुका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने समेत जानकारी गरिन्छ ।

सिटी एक्सप्रेस र सेल पेबीच रेमिटान्स कारोबार शुरु, अब मोबाइल वालेट नचाईने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७ हजार ५ सयभन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् । यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।