विजय लघुवित्तका सीईओ लम्सालको राजीनामा, घिमिरेलाई जिम्मेवारी

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् । लम्सालले गत वैशाख २८ गते दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो ।  

संस्थाको वैशाख ३१ गते बसेको ४३औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा आगामी जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हाे ।  

सीईओ लम्सालको बहिर्गमनसँगै संस्थाको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन सञ्चालक समितिले नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।  

घिमिरेले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।  

Share News