सञ्चय कोषका ऋणिलाई व्याजमा १० प्रतिशत छुट, कोरोना पीडितलाई २ लाख क्षतिपूर्ति
काठमाडौं । कर्मचारी सञ्चाय कोषबाट कर्जा लिएको ऋणिले चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । कोषबाट घर सापटी, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल कर्जा लिएका सञ्चयकर्ताले चैत, बैशाख, जेठ र असार चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका हुन् । कोरोना भाइरसको संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्नको लागि कोषले उक्त छुट दिन लागेको हो । साथै, कोषले २०७७ असार मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम साउनसम्म बुझाउन सकिने गरि समय वृद्धि गरेको काेषका सहप्रशासक राजेन्द्र काफ्लेले जानकारी दिए । यस्तो छुट सुविधा कोषका संस्थागत ऋणिको लागि पनि भएको उनले विकासन्युजलाई बताए । साथै, कोषमा नियमित सञ्चय कोष कट्टी गरिरहेका सञ्चयकर्ताको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्ति बापत २ लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
नेशनल लाईफ इन्स्योरेन्सले कोरोना कोषमा दियो ५१ लाख रुपैयाँ
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो । कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।