काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई १ खर्ब बढी रुपैयाँ ऋण वितरण गरेका छन् । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आव २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूबाट १ खर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेका हुन् ।
गत आवको यही अवधिमा कम्पनीहरूले ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ ऋण दिएका थिए । गत आवको तुलनामा कम्पनीहरुबाट बीमितलाई प्रवाह गरेको ऋण ५.३२ प्रतिशतले वृद्धि भएको छ ।
जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरूले बीमा कम्पनीहरूबाट आफूले तिरेको बीमा शुल्कको सरेण्डर भ्यालुको आधारमा ऋण लिन सक्ने व्यवस्था रहेको छ । बीमितहरूले दैनिक जीवनमा कुनै आर्थिक संकट आएको खण्डमा आफूले बीमा गरेको कम्पनीबाट व्यवस्था भए बमोजिम र आवश्यक भए अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।
चैत्रसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले धितोलेख बीमा कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले प्रवाह गर्ने कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कम्पनीले प्रदान गरेको बीमालेख धितो कर्जा ०.५८ प्रतिशतले घटेको छ ।
दोस्रो धेरै बीमितलाई ऋण दिने बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) रहेको छ । उक्त कम्पनीले चैत्रसम्ममा बीमितलाई २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले बीमितलाई २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ बीमालेख धितो प्रदान गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले बीमितलाई दिएको ऋण ६.३९ प्रतिशतले घटेको छ ।
तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको धितोलेख कर्जा ८.९० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले बीमितलाई १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बीमितलाई बीमा कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीको ऋण प्रवाह १०.३१ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले ७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै, एशिएन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ८३ करोड रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
गत आवको तुलनामा एशिएन लाइफको ३.८६ प्रतिशत, सूर्य ज्योति लाइफको १६.८३ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २ अर्ब ५३ करोड रुपैयाँ, सानिमा रिलायन्सको २६.४१ प्रतिशत बीमालेख धितोकर्जा बढेको छ ।
त्यसैगरी, मेट लाइफले चैत्रसम्ममा बीमितलाई १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीले प्रवाह गर्ने बीमालेख धितो कर्जा ३.१९ प्रतिशतले घटेको देखिन्छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
चैत्रसम्ममा प्रभु महालक्ष्मीले १ अर्ब ४५ करोड रुपैयाँ, आईएमई लाइफले १ अर्ब २३ करोड रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफ ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बीमितले आफ्नो जीवन बीमालेखमा जम्मा भएको समर्पण मूल्य (सरेन्डर भ्यालु) वा नगद मूल्यको आधारमा बीमा कम्पनीबाट कर्जा प्राप्त गर्न सक्छन् । बीमा कम्पनीहरूले सामान्यतः बीमालेखको समर्पण मूल्यको निश्चित प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गर्छन् ।