यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम
काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने
आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, जगेडा कोषमा थपियो ६ करोड रुपैयाँ
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाले गत असार मसान्तसम्ममा ८८ करोड ५७ लाख निक्षेप संकलन र २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड अर्थात ५८४ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा पनि बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९८ प्रतिशत, कुल सम्पत्ति प्रतिफल १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ ।
एभरेष्ट इन्स्योरेन्सकाे नाफामा १५ करोड रुपैयाँ वृद्धि
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख २९ हजार रुपैयाँ नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा आर्थिक वर्ष २०७५/७६ को तुलनामा साे नाफा वृद्दि गरेकाे हाे । कम्पनीले गत आर्थिक वर्षकाे अन्त्यसम्म १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तमा भने कम्पनीले ४ करोड १ लाख १० हजार रुपैयाँ आर्जन गरेको थियो । यस्तै, गत आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको आम्दानी ३३ करोड ३० लाख ७९ हजार रहेको छ। कम्पनीले सोही समयमा १३ करोड ९९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा कम्पनीलकाे आम्दानी ८ करोड १३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । कम्पनीले उक्त समयमा ४ करोड १२ लाख ८४ हजार रुपैयाँ खर्च गरेको थियाे। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा कम्पनीको २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।