अब स्वास्थ्यमा समस्या आएमा कामना सेवाका कर्मचारीले सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्ने
काठमाडौं । अब कामना सेवा विकास बैंकका कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरी सकेको छ ।
हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु
काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमई रेमिटसँग आवद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
विजय लघुवित्तको नाफा साढे ५ करोड बढी, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७५ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले ६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले २१ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा संस्थाले १६ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, समीक्षा अवधिमा लघुिवत्तको सञ्चालन नाफा ९ करोड ७३ लाख रुपैयाँबाट घटेर ८ करोड ५५ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ५९ करोड ३३ लाख रुपैयाँबाट बढेर ७९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी २ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । हाल २२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी २५.९५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १४७.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.३१ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ७ सय ६६ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर १०.६० प्रतिशत, सीडी रेसियो घटेर ९३.०९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ३.२४ प्रतिशतमा रहेको छ ।