भारतबाट पठाएको रेमिट्यान्स नेपालमा पाउन सकस, आइएमई रेमिट र मुथुत फाइनान्स धाउँदै उपभाेक्ता
धनगढी । कैलालीका प्रविन जोशी धनगढीको एक आइएमई सेन्टरमा निरन्तर जान थालेको आज ४ दिन भयो । भारतको कर्नाटकमा काम गरिरहेका उनका बुबाले उनलाई दशैंका लागि खर्च भनेर मुथुत फाइनान्स हुँदै आइएमई मार्फत पठाएको रकम आज ४ दिन बित्दा पनि उनले पाएका छैनन् । उनी हरेक दिन बैंक जान्छन् । आफ्ना बुवाले पठाएको आइएमई कोड नम्बर दिएर पैसा लिन खाेज्छन् प्रत्येक दिन आइएमई सेन्टरका प्रतिनिधिले उनलाई पैसा नआइपुगेको बताउँदै फर्काउँछन् । भारतमा उनका बुबा पनि छटपटाइरहेका छन् । उनका बुवा पनि हरेक दिन आफूले पैसा पठाएको मुथुत फाइनान्समा जान्छन् र पैसा किन गएन भन्ने प्रश्न सो फाइनान्सका प्रतिनिधिलाई गर्छन् । प्रविनका अनुसार भारतको मुथुत फाइनान्सका प्रतिनिधिले शुरुमा एक घण्टा समय लाग्छ भनेपनि पछिल्लो दिन भने पैसा पठाइसकेको उत्तर फर्काउछन् । तर, यता धनगढी आइएमई सेन्टरका प्रतिनिधिहरु भने भारतबाट एप्रुभ नै नभएको जवाफ दिन्छन् । यसरी भारतको मुथुत फाइनान्स र नेपालको आइएमई सेन्टरको झमेलामा परेका प्रविनका बुबा छोरा पठाएको ५० हजार रुपैयाँ नै गायब हुने होकि भन्ने चिन्तामा छन् । प्रविन जस्तै भारतबाट पैसा पठाएका धेरै मानिसहरु आजभोलि समयमै पैसा नपाएको गुनासो गर्छन् । धनगढीकै शर्मिला सुनारले पनि धनगढीको चौराहामा रहेको आएमई सेन्टर धाउन थालेको ३ दिनपछि आज बल्ल पैसा पाइन् । उनले हातमा पैसा लिँदै खुसी हुँदै भनिन्, भारतबाट आइसकेको भन्थे, यता भने आइपुगेको हुँदैेन, तीन दिनपछि पैसा पाएँ, उता पनि श्रीमानले दैनिक बैंकमा गएर सोधिखोजी गर्नुहुन्थ्यो ।’ पहिला पनि श्रीमानले पठाएकाे पैसा उनले आइएमईबाट बुझ्दै आएका थिए । ‘पहिले पैसा पठाउँदा १ घण्टामै पाइन्थ्याे, यस पटक तीन दिन कुर्नु पर्याे’ शर्मिलाले भनिन् ।उनले कुनै कागजातमा समस्या नभएपनि यस पटक भने किन ढिलाई भएको हो बुझ्न नसकेको बताइन् । भारतबाट पठाएको पैसा नेपाल नआएपछि अधिकांशले कतै रकम नै हिनामिना हुने त होइन भन्ने चिन्ताले पठाइसकेको रकम पनि भारतको मुथुत फाइनान्सबाट फिर्ता लिएको भारतबाट पैसा पठाउनेहरुका आफन्त बताउँछन् । नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै भारतमा रहेका आफन्तहरुले पठाएको रकम समयमै नपाउँदा धनगढी लगायत ठाउँका सेवाग्राहीहरु समस्यामा परेका छन् । धनगढीको चौराहामा स्थित ग्लोबल आइएमई सेन्टरका प्रतिनिधले पनि भारतबाट पठाएको रकम नेपालमा समयमै नपुग्ने गरेको स्वीकार गरे । उनले केही दिन यता भारतबाट पठाएको रकम समयमै नआउने गरेको बताए । उनले तीन दिनदेखि आज पैसा पाएकी महिलालाई इकिंत गर्दै भने, ‘उहाँ दैनिक यहाँ आउनु हुन्थ्यो, तर आज बल्ल पैसा पाउनु भयो, उताबाट पैसा आइएमई गरेको भएको हुने भए पनि एप्रुभ गरेको हुँदैन, पछिल्लो समय अधिकांशको यस्तै समस्या देखिन थालेको छ,’ ती व्यक्तिले भने । आइएमई लिमिटेडका महाप्रवन्धक खिलेन्द्र पौडेलले यस्तो खालको समस्या आफूहरुकाेमा अहिलेसम्म नआइपुगेको बताए । विकासन्युजसँगकाे कुरा लगत्तै यस विषयमा भारतका प्रतिनिधिहरुसँग जानकारी लिएकाे तर त्यस्ताे कुनै समस्या नआएको जवाफ पाएकाे उनले बताए । ‘भारतमा हाम्रो आइएमई फरेक्स भन्ने कम्पनी छ, भारतबाट नेपालमा पैसा पठाउँदा बैंक टु बैंकबाहेक काम गर्न पाउँदैन’ उनले भने । ग्राहककाे केवाइसीमा केही समस्या भएकाले भुक्तानीमा समस्या भएकाे हुन सक्ने उनकाे भनाइ छ । ‘त्यहाँको एजेन्सीहरुले पठाएको केवाइसी आइएमई फरेक्सले हेर्नु पर्ने हुन्छ, त्यसमा भारतको एजेन्सीलाई चाहिने डकुमेन्ट पुगेन भनेपछि सम्पर्क गर्छ, त्यसैले पनि अलिकति समय लाग्न सक्छ,’ उनले भने । उनका अनुसार दशैं नजिकिँदा ट्रान्जेक्सन पनि धेरै भइरहेको छ । अहिले बैंक वित्तीय संस्थाहरु पनि बन्द भएको कारणले धेरै ग्राहक र काराेबारकाे चाप बढेको छ । यस्ताे बेलामा कतिपय ऐजन्सीहरुले आफूसँग पैसा नहुँदा वाहिरबाट पैसा नआएको पनि भन्दिन्छन्, त्यस्तो पनि हुन सक्छ । कम्पनीकाे सिस्टममा भने कुनै समस्या नभएकाे उनले बताए । एक दुई घण्टा ढिलाई हुनु स्वभाविक भए पनि दुई तीन दिन ढिलाई हुन भारतमै अर्थात केवाइसीमा समस्या भएको हुन सक्ने उनको भनाई छ । २४ घण्टामा केवाइसीका गलत भएको भए पनि ग्राहकलाई फोन गरेर बोलाउने गरेको उनले बताए । तर, भारत स्थित मुथुत फाइनान्सका प्रतिनिधहरुले ग्राहकलाई केवासीका लागि पनि कुनै खवर नगरेको उनीहरु बताउँछन् । उनका अनुसार आफूले भारतस्थित टीमसँग पनि कुरा भइसकेकोले कुनै समस्या नभएको सुनाए । उनका अनुसार अहिले दैनिक हालसम्मकै ट्रान्जेक्सन हुने गरेको बताए । नेपाल स्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले रेमिट्यान्स पठाउने समझदारी गरेका छन् । भारतमा रहेका नेपालीहरुले भारतको मुथुत फाइनान्सबाट नेपालको आइएमईमा पैसा पठाउँदै आएका छन् । पछिल्लो समय विदेशबाट पैसा पठाउनेहरुका लागि आइएमई लोकप्रिय बन्दै गएको छ ।
ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीको बीमा गराउने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा प्रदान गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच कार्तिक ५ गते सम्झौता भएको हाे । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो । उक्त सम्झौता अनुसार हाल विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् । ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड-१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्नेछ । यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् । विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफनो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने कुरा नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले जनाएको छ ।
बीमा कम्पनीका सीईओहरुको दशैंः खानपानमा सुप, दक्षिणामा बीमा पाेलिसी
काठमाडौं । नेपालीको महान चाड विजया दशमी नजिकिएको छ । दशैं मान्न विदेशमा भएकाहरु पनि घर फर्किने गरेका थिए । देशभित्रै अन्य स्थानमा रहेकाहरु भने बाबुआमा तथा अग्रजको हातबाट टिका र आशिर्वाद ग्रहण गर्ने प्रचलन छ दशैंमा । तर, यसवर्षकाे परिवेश फरक छ। विश्व महामारीको रुपमा फैलिएका कोरोना भाइरस आफू तथा आफन्तमा संक्रमणा हुन्छ कि भन्ने चिन्ताले धेरैलाई सताएको छ । यसै सन्दर्भमा हामीले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग दशैं कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले सोधेका छौं । यस वर्षाकाे चाडपर्व जहाँ बसेकाे हाे साेही स्थानमा मनाउनु सरकारले भने जस्तै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओहरु) पनि यस वर्षका दशैमा यथास्थानमा मनाउने साेचमा छन् । दशैंकाे लामाे छुट्टीमा देश विदेश घुम्ने पुरानाे अभ्यास यस वर्ष काेही पनि निरन्तरता दिने साेचमा छैनन् । घर पनि नजाने, ससुराली पनि नजाने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस वर्षको दशै राजधानीमै मनाउँने तयारी गरेका छन् । उनको स्थायी घर गोरखा हो । उनले यस पटक गोरखा नजाने निर्णय गरेका छन् । कोरोना महामारीकै कारण उनले आफू दशैमा गाउँघर नपुग्ने बताए । उनको बसाई अहिले राजधानीको मैंपीमा छ । सोही स्थानबाट उनले यसपालीको दशै मनाउछन् । उनको परिवारमा १ दाजु तथा ३ बहिनीहरु छन् । नजिकै भएकाले यसपाली दाजुसँग भेट्ने साेचमा रहेकाे उनले बताए । उनकी छोरी बंगलादेशमा एमबिबिएस अध्ययन गर्दैछिन् । कोरोना त्रासकै कारण उनकी छोरी पनि यो पाली दशैंमा घर आउने छैनन् । विगत एक वर्षअघि बित्नु भएको ममतामयी आमाले संसार छाड्नु भएको १ वर्ष पुग्दैछ । उनले आमाको बर्ष दिनको काम आएको तथा बुबाको आफू सानै हुदा मृत्यु भएको बताए । तर अन्य मान्यनबाट दशैं मनाउने सोचमा कार्यकारी निर्देशक पौडेल छन् । कार्यकारी निर्देशक पौडेलको ससुराली चितवन हो । पाको उमेरका सासु ससुराको हातबाट दशैंको टिका थाप्न र आशिर्वाद ग्रहण गर्न नपाएकोमा उनलाई चिन्ता छ । तर, हाल फैलिरहेको कोरोना महामारीका कारण दशैं मनाउन जाँदा आफूले कोरोना भाइरस संक्रमण बोकेर घर गइने हो कि, अरुबाट आफूलाई संक्रमण सर्ने हो कि भन्ने चिन्ताको कारण परम्परागत रुपमा दशैं मनाउन नपाएको पनि उनलाई खासै पछुतो छैन । उनले बीमित, बीमा कम्पनीका कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीलाई चाडपर्व मनाउने क्रममा सुरक्षा तथा सावधानीको उपाय अपनाउन अनुरोध गरेका छन् । वियर खाने पैसाले तागतिलो सुप खाउँ शिवनाथ पाण्डे जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । स्थायी घर स्याङजा भएका पाण्डे हरेक वर्ष दशैमा घर जान्थे । तर पाण्डेले यस वर्ष भने घर नजाने निर्णय गरेका छन् । उनले कोरोना महामारीकै कारण आफू यस वर्ष घर जान असमर्थ रहेको बताए । ‘आफ्नो गाउँठाउँ कसलाई पो जान मन नलाग्ला र, तर यसवर्ष जाने माहाेल छैन, सरकारले जो जहाँ छ, त्यही बस्नु भनेको छ, यस्तो अवस्थामा काठमाडौ छोड्नु ठिक लागेन, नत्र म हरेक वर्ष दशैमा घर जाने मान्छे हो’, पाण्डेले भने । उनले दशैंको बेलामा विभिन्न ठाउँमा काम गरिरहेका दाजुभाइ दिदी बहिनीहरु घर फर्किने र एक अर्काबीच विभिन्न अनुभव साट्न मिल्ने अवसर भएपनि यसपालीको सन्दर्भ नै फरक भएको बताए । अन्य वर्षहरुमा दशैंको छुट्टै माहोल हुने गरेको भएपनि यो वर्ष भने उल्लास नै कम भएको उनको अनुभव छ । घरमा उनले आमाको हातबाट आशिर्वाद थाप्थे । यसबर्ष आफूले काठमाडौमा छोराछोरीलाई आर्शिवाद दिने बताएका छन् । उनको ससुराली घर बुटबल हो । आफ्नो घर तथा ससुराली घरबाट भर्चुअल्ली आशिर्वाद लिने उनको योजना छ । दशैं तिहार जस्ता तथा चाड पर्वको अवसरमा मदिराजन्य बस्तुको सेवन गर्नेहरु धेरै हुन्छन् । प्रमुख कार्यकारी अधिकृत पाण्डेले वियरका लागि खर्च गर्ने पैसा यसपाली तागत दिने खालका सुपमा खर्च गर्न सल्लाह दिए । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको अवस्था छ । यस्तो अवस्थामा अरुका लागि भन्दापनि आफ्नै लागि भन्ने सोचेर सावधानीका उपायहरु अपनाउन सिइओ पाण्डेले आग्रह गरेका छन् । दक्षिणा बीमा पाेलिसी चंकी क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा बीमक संघका महासचिव पनि हुन् । उनले यसपालीको दशैं काठमाडौमै मनाउँने बताए । यसपाली कोरोना महामारीका कारण बजारमा चहलपहल कम छ । त्यसको प्रभाव व्यवसायमा समेत परेकाे छ । व्यवसाय राम्राे नभए पनि आफ्नो चाड पर्व भने रमाइलाेसँग मनाउने साेचमा उनी छन् । उनकाे पुर्ख्याैली घर तनहुँमा हाे । हाल घर काठमाडौंको महाराजगञ्जमा हाे । उनको ससुराली काठमाडौंको ठमेलमा हो । हरेक वर्ष उनी दशैं मनाउन तनहुँ नै जान्छन् । यस वर्षभने दुविधामा परेकाे उनले बताए । जातिय हिसावले, सास्कृतिक हिसावले उनकाे परिवार मिश्रित छ । आफू क्षेत्री, आमा गुरुङ्ग र श्रीमती नेवार भएकोले उनको दशैं अनुभव विविध सांस्कृतिक विविधतायुक्त हुने गरेको छ । फरक फरक संस्कारमा टिका र दक्षिणा संस्कार पनि फरक फरक छ । आफूहरुको दशैं मान्ने भिन्न शैलीका कारण पनि गाउँको दशैं उनलाई विछट्टै रमाइलो लाग्ने गरेको उनले बताए । दशैको समयमा क्षेत्रीको घरमा ठूला मान्छेले मात्र सानालाई टिका लगाउनु पर्छ भन्ने छैन । मन लागेमा एकले अर्कालाई टिका लगाउन मिल्ने चलन उनको परिवारले चलाउँदै आएको छ । उनले आफूले दह्रो तरिकाले दक्षिणा दिने गरेको हास्दै बताए । केही समय अघि उनले दशैको दक्षिणा स्वरुप बीमा पोलिसी समेत दिएको बताए । आफूकहाँ आर्शिवाद थाप्न आउँनेलाई पैसाभन्दा पनि बीमा पोलिसी दक्षिणा दिदा पैसाको सही सदुपयोग हुने उनको भनाइ छ । तर आफ्नाे परिवारमा खाममा राखेर दक्षिणा दिने चलन नभएको उनले बताए । चाडपर्वको नाममा मदिरा पिएर अरुलाई हानी नोक्सानी पुर्याएको उनलाई मन पर्दैन । तर, कसैले थोरै मदिरा पिएर रमाइलो गर्नुलाई भने उनी अन्यथा मान्दैनन् । उनले सकेसम्म मदिरा नपिउँदा राम्रो हुने बताएका छन् । महाअष्टमीसँग शाकाहारी, त्यसपछि सर्वहारी मनोज कुमार लाल कर्ण युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले यस वर्ष विगतका वर्षमा जस्तो दशैंको चहलपहल महशुस नभएको बताएका छन् । महोत्तरीको जलेश्वर स्थायी घर भएका कर्णले विगतका वर्षहरुमा आफू दशैंमा घर जाने गरेको बताएका छन् । तर, यसपाली कोरोना महामारीकै कारण उनीले काठमाडौमै दशैं मनाउने तयारीमा छन् । उनले यस वर्ष गाउँ जानुभन्दा जो जहाँ छ, त्यही रमाइलो गर्नु पर्ने बताएका छन् । साथै, उनले यो साल जोगिएर बसेमा आगामी वर्षमा दशैंमा सबैसँग भेटघाट गरेर रमाइलोसँग मनाउन पाइने बताए । उनले घटस्थापनाको दिनदेखि अष्टमीको दिनसम्म आफूले शाकाहारी भोजन गर्ने बताए । घटस्थापनादेखि टीकाको दिनसम्म आफ्नो परिवारले नवदुर्गाको पूजा गर्ने उनले बताए । ‘गाउँमा बुवा आमा हुनुहुन्छ, बुबाले त्यहीबाटै पूजा गर्नु हुन्छ, हामीले पनि काठमाडौमा कहिले दक्षिणकाली कहिले भद्रकालीको दर्शन गर्ने गरेका थियौं तर यो वर्ष हिड्डुल बन्द गरेका छौं’, उनले भने । उनी मदिराका सौखिन होइनन् । महाअष्टमीको दिनसम्म त उनको घरमा माछा मासु वा मदिरा चल्दैन । अष्टमी पछाडी भने पाहुनहरुको अनुरोध अनुसार आफू पनि साथी लाग्ने गरेको उनले बताए । अन्य बेलाभन्दा यसपालिको दशैमा बढी सजकता अपनाउनु पर्ने उनको सुझाव छ । ‘गाउँ जान त सबैलाई मन हुन्छ, तर यसपाली जानेहरुले धेरै सजकता अपनाउन आवश्यक छ, चाडपर्व मनाउँदा महामारी संक्रमण बढ्न नपाओस् भन्नेप्रति सबैजना सजग हुनुुपर्छ,’ उनले भने । टिका लाउन नकुर्नु पोषकराज पौडेल सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत हुन् । उनको स्थायी घर चितवन हो । आफ्नो परिवार हाल काठमाडौमै रहेकाले उनले यसवर्ष दशैं यतै मनाउने निर्णय गरेका छन् । हरेक वर्षको दशैमा चितवन जाने गरेका पौडेल यसपाली भने नजाने निर्णयमा पुगेका छन् । ‘पहिले सधै घर जाने गरेको थिएँ, यसपाली कोरोना भाइरस संक्रमणको उच्च जोखिम छ, त्यसैले काठमाडौंमै दशैं मानिन्छ,’ सिइओ पौडेलले भने । दशैंमा सबैभन्दा पहिला हजुरबुबाबाट आशिर्वाद लिने उनले बताए । उनको परिवारमा बुवा हुनुहुन्न भने आमाको हातबाट उनले दशैंको टिका थाप्दै आएका थिए । गन्यमान्यको हातबाट टीका लगाएर आफ्ना भाइ, छोरा छोरीलाई टीका लगाइदिने गरेको उनले बताएका छन् । उनको ससुराली घरपनि चितवन नै हो । अहिले त टीका थाप्न जाने घरमा मान्यजनले पनि सकेसम्म नआओस भन्ने अवस्था छ । विगतका वर्षमा मान्यजनहरु टिका लगाइदिन पर्खेर बस्ने गर्थे । यस पटक आफू पनि अरूलाइ नकुर्ने बताउँदै आफूलाइ पनि अरूले नकुर्ने उनकाे भनाइ छ । सिइओ खत्रीको विशेष योजना छ दशैंमा कुमार बहादुर खत्री अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपाल सरकारले जो जाहाँ छ, त्यहीबाट दशैं मनाउन अनुरोध गरेका कारण उनले दशैंमा घर नजाने निर्णय गरेको बताएका छन् । स्थायी घर मोरङ भएका खत्रीले यसपाली राजधानी मै दशैं मनाउनले भएका हुन् । उनी हाल गंगबु बानियाटारमा बस्दै आएका छन् । तर विगतका वर्षहरुमा उनी घर जाने गरेका थिए ।‘कोभिडको कारण विश्वमा समस्या आइरहेको छ, यस्तो बेलामा घर नजाने’, खत्रीले भने । यसपालीको दशैका लागि उनको केही योजना छ । त्यो योजना भनेको फोनबाटै बुबाआमाको आशिर्वाद लिने हो । उनले सबैलाई चाडपर्व मनाउदा कोरोना महामारी भूल्न नहुने बताए । दारु अलिअलि, तास बन्द मनोज कुमार भट्टराई प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनको घर राजधानीस्थित बालुवाटारमा छ ।आफ्नो सपरिवार नै राजधानीमा भएकोले उनले दशैमा कतै जाने योजना बनाएका छैनन् । ‘मेरो त चार पुस्ताले काठमाडौमै दशैं मनाउदै आउनु भएको छ, आफू यही जन्मियो, हुर्कियो, मलाई त काठमाडौको दशैं रमाइलो लाग्छ, तर यसपालि रम्ने माहाल छैन, आफूआफू रमाइलो गर्ने योजना छ’, भट्टराईले भने । उनले आमाको हातको टिकालाएर कहि नजाने र कसैलाई नबोलाउने बताएका छन् । यो उनले यसपालीका लागि गरेको निर्णय हो । अन्य वर्षहरुमा भने उनले आफ्ना प्रिय आफन्तजनहरुलाई डाक्ने गरेका थिए । उनले छोरीहरुलाई दक्षिणा १० र २० वर्षको हिसाबमा दिएको बताए । यसको अर्थ उनले आफ्ना छोरीहरुको बीमा गरिसकेका छन् । उनले आफ्नो दशैं भनेको पूजापाठ गर्ने र मान्यजनको हातबाट टिका लगाउने बताएका छन् । पूजापाठमा आफू रम्ने भएकाले दशैको समयमा भगवानको पूजाआजामा समय बिताउने उनले बताए । दशैंमा मदिरा र तास खुबै चल्छ । तर उनले आफूले मदिरा सेवन गर्ने तर अलिअलि मात्र भएकाे बताए । उनलाई तास खेल्न त्यति रुची छैन । दशैं भन्ने बित्तिकै तास खेल्ने र रमाउने भन्नेहरुका लागि आफू त अपवाद नै रहेको उनले बताएका छन् । आमाकाे मायाले दशैं एक्लै विरेन्द्र वैद्यबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले यस वर्षको दशैंमा आफू काठमाडौ बाहिर नजाने बताएका छन् । उनको स्थायी घर नारायणघाट हो । घरमा आमा हुुनुहुन्छ । सधै आमाको हातबाट टिका लगाउने उनले यसवर्ष कोरोना महामारीकै कारण घर नजाने निर्णय गरेको बताए । ‘कोभिडको सन्त्रास छ, ७० वर्ष भन्दा बढिको मुवा हुनुहुन्छ, सोही कारण घर जान असहज भइरहेको छ’, वैद्यबारले भने । हाल उनको बसाई काठमाडौको बुद्धनगरमा छ । उनले यस वर्षका दशैं बुद्ध नगरमै मनाउने भएका हुन् । आमाको हातबाट टिका थापेपछि उनले लगाउने ३ जना छोराछोरी छन् । यस्तै, दाजुभाइ भने २ जना रहेका छन् । घर जादा आफैलाई सन्त्रास हुने भएकोले नजाने भन्ने उनको निर्णय छ । सुरक्षित रूपमा मनाऔं विश्वराम तिमिला प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । राजधानीमै दशैं मनाउदै आएका उनले यस वर्षपनि यतै मनाउने बताएका छन् । उनको स्थायी घर बालुवाटार हो । राजधानीमै मनाइने दशै उनलाई रमाइलो लाग्छ । उनको ससुराली घर पनि काठमाडौमै हो । सोही कारण आफूले दशैं मान्न राजधानी बाहिर जानै नपर्ने उनी बताउँछन् । अन्य वर्षभन्दा यसवर्ष अवस्था केही फरक छ । यस वर्षको दशैं अरु बेलाको भन्दा कोरोना महामारीले अवस्था फरक गरेको छ ।राजधानीमा विगतका वर्षका तुलनामा चहलपहल कम छ । व्यापारीहरुले पनि पसलमा ग्राहकको कमी भएको गुनासो गर्दै आएका छन् । यस्तो माहोलमा पनि दशै आफ्नै तरिकाले बचेर मनाउनु पर्नेमा उनले जोड दिएका छन् । ‘यसपालि कतै घुम्न जाने अवस्था छैन, घर, ससुराली काठमाडौमै छ, सचेत भएर दशै मनाउनु पर्ने अवस्था छ, म कही पनि जान्न’, तिमिलाले भने । घरमै घण्टी बजाउने, ससुराली पनि नजाने एसके टमोट जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक हुन् । उनले यसपालीको दशैंमा धेरै सर्तक रहनु पर्ने बताएका छन् । उनको स्थायी घर काठमाडौंको कोटेश्वरमा हो । दशैंको अवसरमा राजधानी बाहिर वा कतै जाने योजना नभएको उनी बताउछन् । अहिलेको दशैं उनलाई कस्तो कस्तो, विल्कुल फरक खालको लागिरहेको छ । ‘दशैं त दशैं हो तर, दशैं जस्तो केही छैन’, टमोटले भने । घर परिवार साथमै भएकाले बिहान बेलुका पूजा अारती गर्ने, घण्टी बजाउने उनको योजना छ । भगवानप्रतिको आस्था भने उनको निकै छ । उनले आफूलाई भगवती माताको विश्वास लाग्ने बताएका छन् । ससुराली नि ? ‘ससुराली, बूढो मान्छेको कहाँ ससुराली हुन्छ’, उनले ठट्टाको भावमा भने । ‘म कहीं जान्नँ, घरमै बस्छु, अहिले अरुसँग भेटघाट गर्ने समय नै छैन’, टमोटले भने । हेलचेक्रयाइ नगरौं राजकुमार अर्याल सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले यसवर्ष सुरक्षा सावधानी अपनाउने कुरा विशेष रुपमा सम्झिनु पर्ने बताएका छन् । दशै मनाउने नाममा सावधानीका उपायहरु नअपनाएमा संक्रमण झनै फैलिने खतरा रहेको उनको भनाइ छ । दशैं धेरै उल्लासपूर्ण पनि छैन । आफ्नै घर भित्रै बसेर दशै मनाउनु पर्ने अवस्था अहिलेको छ । यही अवस्थामा पनि बिदालाई रचनात्मक बनाउन सकिने उनको भनाइ छ । गुल्मीको गौडाकोट उनको स्थायी घर हो । गुल्मी दरबारबाट २ मिनेको समयमा उनको घर पुग्न सकिन्छ । हाल उनको बसाई काठमाडौको बनस्थलीमा छ । बनस्थलीमै यस वर्षको दशै मान्ने उनले बताए । उनकाे पारिवारिक रुपमा माछा मासु पछिल्लो पुस्ताले मात्रै खाने गरेको छ । मदिराजन्य पदार्थको सेवन भने परिवारमै बर्जित छ । उनको ससुराली अर्घखाचीमा हो । यसपालि ससुराली नजारे र दशैको दक्षिणा अर्को वर्ष लिने उनले बताए । यो समयमा गरिने हेलचेक्राइले आफूलगायत अरुलाई समेत असर पर्ने भएकोले सचेत भएर व्यवहार गर्न उनले सुझाव दिएका छन् ।अहिलेको समयमा सामाजिक दूरी कायम गर्ने कुराको बारेमा धेरैलाई जानकारी भइसकेको छ । तर पनि पूर्ण रुपमा पालना नगर्दा त्यसको लाभ उठाउन सकिन्न र सोही कारण सुरक्षित र रचनात्मक दशैं मनाउन सबैलाई सिइओ अर्यालले सुझाव दिएका छन् ।