काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीको २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनाको अवधिमै सो मात्राकाे बोनस सेयर धितोपत्र बजारमा थपिएको हो ।
सो अवधिमा ११ वटा लघुवित्त, १ वाणिज्य बैंक, ४ विकास बैंक, ३ बीमा, १ हाइड्रो र नागरिक लगानी कोषको गरी कूल २ करोड २ लाख ८४ हजार ८ सय ८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्त समूहतर्फ समता लघुवित्तको ९१ लाख ८ सय रुपैयाँ, स्पर्श लघुवित्तको एक करोड ७ लाख ८५ हजार रुपैयाँ, नयाँ नेपाल लघुवित्तको एक करोड ६८ लाख रुपैयाँ, समीट लघुवित्तको ४ करोड ४३ लाख रुपैयाँ र ग्लोबल आईएमई लघुवित्तको ३ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएका छन् ।
त्यस्तै, वोमी लघुवित्तको २ करोड ५२ लाख ७२ हजार रुपैयाँ, सर्पोट लघुवित्तको ६० लाख रुपैयाँ, सामुदायिक लघुवित्तको ३ करोड २० लाख रुपैयाँ, सिभिल लघुवित्तको ५७ लाख ५ हजार रुपैयाँ, नागबेली लघुवित्तको ४ करोड ३५ लाख ९६ हजार रुपैयाँ र मिथिला लघुवित्तको एक करोड ५८ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको बोर्डले जनाएको छ ।
वाणिज्य बैंक तर्फ भने हालसम्म नेपाल बङ्गलादेश बैंकको मात्रै बोनस सेयर सूचीकृत भएको छ । बैंकको आर्थिक वर्ष २०७५र७६ को ५ प्रतिशत अर्थात ४० करोड ७६ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । उक्त रकम हालसम्म बोनस सेयर सूचीकृत भएका कम्पनीमध्ये सबैभन्दा बढी हो ।
उता विकास बैंकतर्फ एक्सेल डेभलपमेन्ट बैंकको ११ करोड ८४ लाख ४७ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ४ करोड ७२ लाख २६ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ करोड ३४ लाख रुपैयाँ र तिनाउँ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, हाइड्रोपावर समूहतर्फ पनि छ्याङ्दी हाइड्रोपावरको आर्थिक वर्ष २०७५/७६ को बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको एक करोड ३५ लाख रुपैयाँ अर्थात एक लाख ३५ हजार कित्ता बोनस सेयर थपिएको छ ।
बीमा समूहतर्फ नेपाल इन्स्योरेन्स कम्पनीको ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ६ करोड १२ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, अन्य समूहतर्फ नागरिक लगानी कोषको आर्थिक वर्ष २०७५/७६ को २२ प्रतिशत बोनस सूचीकृत भएको छ । संस्थाको २९ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबर अर्थात २९ लाख ५८ हजार ७ सय १३ कित्ता बोनस सेयर सूचीकरण भएको हो ।
यी मध्ये आईएमई जनरल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७४/७५ को र बाँकी कम्पनीको आर्थिक वर्ष २०७५/७६ को बोनस सेयर सूचीकृत भएको हो ।