
काठमाडौं । बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बीमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
यस्तै, कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।
बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।
अर्थ मन्त्रालयकाे बैठक लगत्तै बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिन भित्रै दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
सरकारकाे नीति तथा कार्यक्रम र बजेटमा काेभिड बीमा समेटिएकाे, सरकारी कर्मचारी, स्वस्थ्यकर्मी, सुरक्षाकर्मीकाे बीमाबारे सरकारले गरेकाे घाेषणा सबैकाे पूर्ण कार्यान्वयन गर्न अर्थमन्त्रीले सबैलाई निर्देशन दिएकाे छलफलमा सहभागी एकले विकासन्युजसँग भने ।
‘सरकारकाे प्रतिवद्धता पनि कार्यान्वयन हुनुपर्छ, बीमा कम्पनीहरूले गरेकाे प्रतिवद्धता पनि पुरा हुनुपर्छ’ अर्थमन्त्रीकाे भनाइ उदृत गर्दै स्राेतले भन्याे । काेराेना बीमाकाे विषय नीति तथा कार्यक्रममा पर्नु तर बजेट विनियाेजन नहुनुमा अर्थमन्त्रालयकाे तर्फबाट त्रुटी भएकाे सरकारी अधिकारीहरूले छलफलमा स्वीकार गरेका छन् ।
बजेट तथा कार्यक्रममा पर्नु तर बजेट नराखिनु सरकारकाे तर्फबाट त्रुटी भएकाे र बीमाकाे सिद्धान्त तथा अभ्याससँग नमिल्ने गरी बीमा पाेलिसी बनाउनु बीमा क्षेत्रकाे कमजाेरी भएकाे छलफलमा उठेकाे थियाे । अर्थमन्त्री पाैडेलले बीमितप्रतिकाे जिम्मेवारीबाट काेही पनि उम्कन नहुने भन्दै काेभिड बीमाबारे अाएकाे जनगुनासाे सम्बाेधन गर्नुपर्ने बताएका छन् ।
काेभिड बीमा पाेलिसी अहिलेसम्म करिव १५ लाख मानिसले लिएका छन् । त्यसबाट बीमा कम्पनीहरूले करिव ६३ कराेड रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।अहिलेसम्म १४ हजारले बीमा दावी गरेका छन् । उनीहरू सबैकाे दावी भुक्तानी गर्दा १ अर्ब ४० कराेड रूपैयाँ भुक्तानी गर्नुपर्छ । अहिलेसम्म १७ सय बीमितले बीमा दावी भुक्तानी पाएका छन् । थप १८ सयले बीमितले प्रकिया पूरा गरी वीमा दावी गरेकाे छन् ।
‘प्रकिया पूरा गरेका १८ सय बीमितकाे दावी भुक्तानी गर्ने निर्णय भएकाे छ । उनीहरूले यसै साता भुक्तानी पाउने छन्’ स्राेतले भन्याे-‘दुइ साताभित्र सबै प्रक्रिया नियमित गर्छाैं । त्यसपछि प्रकिया पूरा गरेका सबैलाई दावी भएकाे ७ दिनमा भुक्तानी गर्छाैं ।’
फर्जी बीमा दावी गर्नकाे लागि इन्टेलिसेन्स टिम बनाएर काम शुरू भएकाे पनि उनले बताए । ‘कोरोना बीमाको दाबी भुक्तानी अब झनै छिटो हुने भएको छ, यसले कोरोना बीमा गर्ने सबैलाई सहज बनाउने छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विकासन्युजसंग भने ।