पोलिसी बोनस घोषणा गर्नेमा महालक्ष्मी लाईफ इन्स्योरेन्स पहिलाे, सीईओ भन्छन्- भनेका थियाैं, गरेर देखायाैं’

काठमाडाैं । नयाँ कम्पनीहरुमध्ये महालक्ष्मी लाईफ इन्स्योरेन्स पोलिसी बोनस घोषणा गर्नेमा पहिलाे बन्न सफल भएकाे छ । कम्पनीले बीमा समितिकाे नयाँ व्यवस्था सहितको मुल्याङ्कन गरी आर्थिक वर्ष २०७५/७६ को पोलिसी बोनस घोषणा गरेको हाे । कम्पनीले उक्त आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको हो । बीमा समितिको गत कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम ५० रुपैयाँ (प्रतिहजार बीमाङ्कमा) को दरले बोनस घोषणा गरेको हो । बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको आगामी बिमाङ्किय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ । बीमा समितिबाट स्वीकृत बोनस निम्न बमोजिम रहेको छ । नयाँ भ्यालुएशन निर्देशिका आएपछि कष्ट अफ फ्युचरको व्यवस्था गरेर नयाँ कम्पनीमा संभवतः सबै पोलिसीहरुमा शुरु मै सबैभन्दा अत्यधिक बोनस घाेषणा गर्न महालक्ष्मी लाईफ सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । साथै, जीवन बीमामा कसले कति व्यापार गर्यो भन्दा पनि पोलिसी होल्डरलाई कति बोनस र लगानिकर्तालाई कति लाभांश दियो भन्ने कुराले महत्व राख्ने उनको भनाई छ । ‘बीमामा ५-१५ वर्षे पोलिसी नै ९० प्रतिशत बिक्री हुने गर्छ । २ वर्ष भित्र हामी उत्कृष्ट हुने घोषणा गरेका थियौं, गरेर देखायौं । सबैलाई बधाई छ ।’, उनले भने ।

युनाईटेड इन्स्योरेन्सकाे निमित्त सीईओमा उपासना पौडेल नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत( निमित्त सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओकाे पदमा नियुक्त गरेको हो । कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट समाप्त भएको थियो । साथै, उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ ।

वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । कार्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुने छ ।