कोरोना बीमा दावी भुक्तानीका लागि पटक–पटक कम्पनीमा धाउँदै हुनुहुन्छ ? यस्तो गर्नुस् समस्या चैट
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमितहरुले पटक–पटक बीमा कम्पनीहरुको कार्यालय धाउदै आएका छन् । बीमितले आवश्यक कागजपत्र पूरा नगरी कम्पनीमा जानाले पनि पटक–पटक धाउनु पर्ने समस्या आएको कम्पनीहरुले जनाएका छन् । पटक–पटक बीमा कार्यालयमा धाउनु परेपछि बीमितहरुले कम्पनीलाई दावी भुक्तानी गर्न अटेर तथा अनावश्यक दुख दिएको आरोप पनि लगाउँदै आएका छन् । तर, कम्पनीहरुले भने बीमितकै कारणले बढी समय लाग्ने र उनीहरुले पटक–पटक बीमा कम्पनीमा धाउनु पर्ने अवस्था भएको बताएका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालाका अनुसार कोरोना बीमाका केही चेक लिस्ट रहेको र उक्त चेक लिस्ट अनुसार कागज पत्र तयार पार्नु पर्ने भएकोले बीमितले कोरोना बीमाको दाबी भुक्तानीकाे लागि आवश्यक कागजात अपुरो ल्याउँदा उनीहरुले पुनः कार्यालयमा आउनु पर्ने समस्या हुने गरेको बताए । ‘कोरोना बीमाको दाबी भुक्तानी पाउने बीमितले नै हो जसले कोरोना बीमा गराउनु भएको छ, तर उहाँहरुले ल्याउनु भएको काजगपत्र कतिको सही छ, त्यसका लागि केही चेक लिस्टपनि हामीले तयार पारेका छौं, सो चेकलिस्ट अनुसार आफ्ना कागजात बोकेर बीमा कम्पनी जाँदा पटक–पटक धाइरहनु पर्दैन’, उनले विकासन्यूजसँग भने । उनका अनुसार सरकारी वा निजी दुवै किसिमका बीमा कम्पनीहरुमा कोरोना बीमाको लागि चाहिने कागजात एकै हुन् । यस्ता छन् काेराेना बीमा दावी भुक्तानीका लागि आवश्यक कागजात: १. कोरोना बीमा गरेको बीमालेख पेश गर्नु पर्नेछ । २. पूर्ण रुपमा भरिएको दाबी फारम पेश गर्नु पर्नेछ । ३. पिसीआर परिक्षणको सक्कल रिपोर्ट पेश गर्नु पर्नेछ । ४. संक्रमित व्यक्तिको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । ५. गत भदौ २८ गतेपछि भएका संक्रमणको हकमा पिसीआर पोजेटिभ भई घर वा होटल (आइसोलेसन) मा बसेकाहरुको हकमा आफू बसोबास गरिरहेका स्थानीय तहको सिफारीस समेत पेश गर्नु पर्नेछ । तर अस्पतालमै भर्ना भई उपचारत व्यक्तीको हकमा भने अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर र उपचारमा खर्च भएका बिल भर्पाइ समेत पेश गर्नु पर्नेछ । ६. संस्थागत बीमाको हकमा कर्मचारीहरुको परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ । संस्थागत बीमाको हकमा संस्थागत बीमाको हकमा संक्रमित कर्मचारीहरुको छु्ट्टा छुट्टै फाइल बनाई पोलिसी समेत छुट्टा छुट्टै राखी पेश गर्नु पर्नेछ । बीमा कम्पनीहरुले बीमा लेखको आधारमा दाबी भुक्तानी गर्छन् । बीमितले बीमा गर्नु पूर्व नै बीमालेखका शर्तहरु राम्रोसँग अध्ययन गरेर लाभ लिनुु पर्ने राष्ट्रिय बीमा कम्पनी बताउँछ । दाबी भुक्तानीकालागि आवश्यक कागज पत्र पूरा गरेमा बीमितहरुले समेत झण्झट व्यहोर्नु पर्दैन ।
जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल
काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् । त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । उनी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् । नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागी दुबै संस्था मिलेर जानु पर्ने विषयमा प्रकाश पारेका छन् । जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि बढ्न शुभकामना दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धिसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको बताएका छन् । कार्यक्रमको अन्त्यमा नव निर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महुली र नव किरण मर्जपश्चात मंसिर ८ गतेदेखि एकीकृत कारोबार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार हुने छ । एक आपसमा मर्जको लागि यी दुई संस्थाले गत कार्तिक १९ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएका थिए ।