हालसम्म साढे ३ लाख बढीले भरे युनाईटेड इदी-मर्दीकाे आईपीओ
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत बुधबार(मंसिर ३ गते)देखि आज शुक्रबार(मंसिर ५ गते) अपराह्न चार बजेसम्ममा मागभन्दा ७.५६ गुणा बढी आवेदन परेको हो । क्यापिटलका अनुसार सो अवधिसम्म ३ लाख ५४ हजार ५ सय ८१ जना आवेदकले ६६ लाख १२ हजार १ सय ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सेयर निष्काशन गरेको तेश्रो दिनसम्ममा कूल ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । कम्पनीले गत बुधबार मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियाे । यससँगै सेयरधनीले साे दिनदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । क्यापिटलका अनुसार इच्छुकले आगामी आइतबार(मंसिर ७ गतेसम्म) न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
माउण्टेन इनर्जी नेपालको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । भर्खरै मात्र सर्वसारधारणहरुमा सेयर निष्काशन गरी बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपालले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयरसंग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो प्रयोजनको लागि गत मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । यससँगै सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ । अब उक्त सेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेजमा सूचिकरण पश्चात बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर हितग्राही खातामा जम्मा गर्ने लगायत सेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत
काठमाडौं । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताको लागि बैंक उक्त उपाधिबाट पुरस्कृत भएको हो । संस्थाले प्रदान गरेको सेवाको प्रभावकारिताले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट पुरस्कृत गरेको हो । ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ । मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिई रहनु भएको छ भने यो क्षेत्रमा रु. १७ अर्ब भन्दा बढी लगानीमा रही रहेको छ ।