वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडाैं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । बिहिबार एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै अब शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा वितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागि कुमारी क्यापिटल नागपोखरी १, नक्साल , काठमाण्डौं मार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटल मार्फत सेवा प्रारम्भ हुने मिति सार्वजनिक सुचना मार्फत जानकारी गराइने लघुवित्तले जनाएकाे छ ।

चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति

काठमाडौं । चन्द्रगिरी हिल्सले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कार्तिक २८ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले स्थानिय र सर्वसाधारणलाई सो मात्रा अर्थात १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने छ । यससँगै संस्थाले केही दिनमै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत सो मात्राको आईपीओ स्थानिय रसर्वसाधारणमा बिक्री गर्ने छ ।

रिलायन्स लाइफको एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको जनाएकाे छ । यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टल मार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन् ।