काठमाडौं । माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । संस्थाको आज (मंसिर ४ गते) बिहिबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख रुपैयाँबाट चुक्ता पुँजीको ६.४ प्रतिशतका दरले हुन आउने १ करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।
त्यस्तै, सभाले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई माछापुच्छ्रे क्यापिटलमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड हुनेछ ।
नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजत प्राप्त गरेको यस कम्पनीले मर्जर पश्चात थप सबल भै आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूचअल फण्ड, निक्षेप सदस्य सेवा लगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।
उक्त सभाले आ.व. २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ ।