ढकाल भर्सेज प्रधानः वस्तुगततर्फ बराबर सदस्य विजयी, जित्ने सम्भावना कसको बढी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फ कडा प्रतिस्पर्धा देखिएकाे छ । १४ सदस्यीय प्रतिस्पर्धामा दुबै प्यानलबाट ७/७ जना निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल,  आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता, निर्वाचित भएका छन्। यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्। १४ पदमा लागि भएकाे निर्वाचनमा २८ जनाले उम्मेदवारी दिएका थिए । खसेको कुल १०५ मतमध्ये २ वटा बदर भएको थियो भने १०३ मत सदर भएकाे छन् । सबैभन्दा धेरै मत नरेशलाल श्रेष्ठले पाएका छन् । उनले ७२ मत पाएका छन् । त्यस्तै आकाश अधिकारीले सबैभन्दा कम ४९ मत पाएर विजयी भएका छन् । यस्ताे छ नतिजा

एफएनसीसीआई निर्वाचन अपडेटः मतगणना सुरु, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को निर्वाचन सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ । अहिले काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइहरेको छ । महासंघको एसोसियट, वस्तुगत र जिल्ला नगरको मतदान भएको तीन केन्द्रहरुबाट मतपेटिकाहरु संकलन गरेर प्रतिष्ठानमा ल्याएसँगै अहिले मतदान सुरु भएको हो । महासंघको निर्वाचन बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि सवा ९ बजे मतदान सुरु भएको थियो भने साँझ ४ बजे सबै केन्द्रहरुको मतदान सम्पन्न भएको थियो । महासंघको निर्वाचनमा एसोसियटतर्फ ९ सय ३ जना मतदाताले मतदान गरेका छन् भने वस्तुगततर्फ कूल १ सय १ र जिल्ला तथा नगरतर्फ १ सय ५ जना मतदाताले मतदान गरेका छन् । महासंघको निर्वाचनमा शतप्रतिशत मत खसेको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै मतदान तीन ठाउँबाट गरिएको थियो । एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको थियो । जिल्ला नगर समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको थियो । यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्लारनगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित हुनेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्लारनगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्षमा कसले बाजी मार्ला भन्ने प्रतिक्षाको विषय बनेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि त्यसको नतिजा भने आजै आउने लगभग निश्चित नै छ ।

महासंघ चुनाव अपडेटः वस्तुगत र जिल्लानगरतर्फ करिब ५० प्रतिशत मत खस्यो, एसोसिएटमा कति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन अहिले राजधानीका विभिन्न तीन ठाउँमा जारी छ । बिहान सवा ९ बजेदेखि सुरु भएको महासंघको मतदान कार्यक्रम अहिले १२ बजेर ५६ मिनेट जाँदा करिब ५० प्रतिशत मत खसेको हो । महासंघको वस्तुगत र जिल्लानगरतर्फ करिब ५० प्रतिशत मत खसेको बताइएको छ । जिल्लानगरको मतदान स्थल प्रज्ञाप्रतिष्ठान भवन र वस्तुगततर्फको महासंघको सचिवालय टेकुमा तोकिएको छ । अहिले १२ बजेर ५६ मिनेट जाँदा वस्तुगत तर्फ ६० र जिल्लानगर तर्फ ६५ मत खसेको बताइएको छ । वस्तुगत तर्फको मतदान स्थल टेकुका निर्वाचन अधिकृत रमन कर्णका अनुसार अहिले वस्तुगतमा ६० जनाले मतदान गरेका छन् । यस्तै, जिल्लानगरतर्फको मतदान भइरहेको प्रज्ञा भवनका निर्वाचन अधिकृत उपेन्द्र केसरी पौडेलले पनि आधा घण्टा अगाडिको डाटा अनुसार  जिल्लानगरतर्फ५० प्रतिशत मत खसेको बताए । महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ६५ मत खसेको छ भने वस्तुगत तर्फ कुल १०१ मध्ये ६० मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये करिब डेढ सय मत खसेको छ । अहिले तीनै मतदान स्थलमा मतदान जारी नै छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान आफ्नो पयानलसहित चुनावी मैदानमा छन् । ढकालतफबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाईँले उम्मेदवारी दिएका छन् भने प्रधान पक्षबाट जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र एसोसियटतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।