महासंघको विभिन्न समितिमा सभापति तोकिए, को कुन समितिमा ?

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन हुनु भएका छन् । महासंघ सचिवालयमा आज आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका हुन् । उद्योग समिति भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डि.बी. वस्नेत, महिला उद्यमी विकास समिति रिता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाश सिंह कार्की, कर तथा राजस्व समिति संदिप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ चयन भएका छन् । यस्तै, सूचना तथा संचार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशनसमिति रंजितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा शीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खडका, उर्जा तथा वातावरण समिति गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ । त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम ईन्जिनियर देश बन्धु बस्नेत(अजित),सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पू“ंजी बजार फोरम अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने आफ्नो अपेक्षा रहेको बताए । साथै उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभ–कामना समेत दिए । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाई सहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए । कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो ।

चन्द्रागिरीमा रिट्रिट पार्टी गरेपछि शेखर गाेल्छाले भने-महासंघमा नयाँ सूर्योदय भयो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा उनले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको जनाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा दुई प्यानल अगाडि देखिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । चन्द्र ढकाल र किशोर प्रधानले आ-आफ्नो टीम बनाएर अगाडि बढेका थिए । जसमा किशाेर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएका थिए भने जिल्ला नगरमा प्रधान पक्षका दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघाई र वस्तुगतर्फ प्रधान पक्षका अञ्जन श्रेष्ठ विजयी भएका थिए । यस्तै, निर्वाचनको पछिल्लो दिन कोषाध्यक्ष पदको लागि दुबै पक्षले आ-आफ्नो उम्मेदवार उठाएका थिए । जसमा गोल्छाको साथ रहेको प्रधान पक्षका सकुन्तलाल हिराचन विजयी भएका थिए भने उनका प्रतिस्पर्धी अर्थात ढकाल पक्षका डीबी बस्नेत पराजित भएका थिए । निर्वाचनपछि धेरैले महासंघमा एक पक्षले अर्काे पक्षलाई साथ दिन नसक्ने भन्ने प्रक्ष्येपण गर्दै आएका थिए । तर, महासंघ अब एक ढिक्का भएर अगाडि बढ्ने अनुमान गोल्छाको ट्वीटबाट थाहा पाउन सकिन्छ । अध्यक्ष गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेकाे जनाएका हुन् । उद्योग बाणिज्य महासंघ मा नयाँ सुर्योदय, नवनिर्वाचित पदाधिकारी हरुको सहकार्यको प्रतिबद्धता pic.twitter.com/8OGsHpay31 — Shekhar Golchha (@golchha_shekhar) December 5, 2020 उनले लेखेका छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सुर्योदय भएको छ, नवनिर्वाचित पदाधिकारीहरुको सहकार्यको प्रतिवद्धता छ ।’ अध्यक्ष गोल्छाले चन्द्रागिरी हिल्सबाट खिचिएकाे सूर्य उदाउँदै गरेकाे फाेटाे र  आफूसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाइ र काेषाध्यक्ष सकुन्तलाल हिराचनकाे सामूहिक तस्वीर पोष्ट गरेका छन् । उनले चन्द्रागिरी हिल्समा नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी पनि दिएका छन् । महासंघका नवनिर्वाचित कार्यसमिति हिजोदेखि चन्द्रागिरीमा छ । उनीहरुले हिजो चन्द्रगिरीमा गुड फ्राइडे मनाएर आज अध्यक्ष गोल्छाले आफ्नो भिजन पनि प्रस्तुत गरेका छन् । सो भिजन पेपरमाथि सबैको समर्थन रहेको बताइएको छ ।

अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्ने गरी आफ्नो दृष्टिकोण तयार गर्नेछाैँ- महासंघ

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्ने गरी आफ्नो दृष्टिकोण तयार गर्ने जनाएकाे छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताएका छन् । निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अवको १ सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए । अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमि आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने र त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने उनले बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवद्र्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको उनले  बताए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघको गरिमालाई तलमाथि गरेर उदाउदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरुको भनाई छ ।