महासंघको चुनावमा लोकप्रिय मत ल्याएर विजयी हुने अम्बिका र भरत को हुन् ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन निकै शान्तीपूर्ण ढंगले सम्पन्न भएको छ । हिजो भएको मतदानमा दुवै (ढकाल र प्रधान) प्यानलबाट मिश्रित उम्मेदवारहरु निर्वाचित भएका छन् । सबैभन्दा आकर्षकका रुपमा हेरिएको वरिष्ठ उपाध्यक्षको पदमा चन्द्र ढकाल विजयी भएका छन् । ढकाल आफ्ना निकटतम प्रतिद्वन्दी किशोर प्रधानलाई १ सय ५४ मतले पछि पार्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ४ सय ६६ र ढकालले ६ सय ३० मत प्राप्त गरेका थिए । उनीहरुसँगै निर्वाचनमै सबैभन्दा बढी अर्थात लोकप्रिय मत ल्याएर विजयी हुने उम्मेदवार हुन् अम्बिका प्रसाद पौडेल र भरतराज आचार्य । चन्द्र ढकाल समूहबाट एसोसिएटमा उम्मेदवारी दिएका पौडेलले सबै उम्मेदवारीभन्दा बढी मत अर्थात ८ सय २ मत प्राप्त गरेर विजयी भए भने आचार्यले पनि ७ सय ४६ मत प्राप्त गरेर विजयी भए । को हुन् अम्बिका पौडेल ? अम्बिका पौडेल पुँजी बजारका लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष हुन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा जन्मिएका पौडेल बैक तथा वित्तिय संस्था, जलविद्युत, कन्स्ट्रक्शन कम्पनी, चन्द्रगिरी हिल्स, उत्पादमूलक उद्योगहरुमा पनि संलग्न भएर काम गर्दै आएका छन् । आफूलाई पुँजी बजारकै अभियन्ताका रुपमा चिनाउँदै आएका पौडेलले पुँजी बजारमा आफुलाई अभ्यस्त पार्नकै लागि आफुले सरकारी जागिर छोडेको बताउँछन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पूरा गरेका उनी पछिल्लो समय विभिन्न उद्योगी व्यवसायीहरुकाबिच प्रिय बन्दै गएका छन् । झट्ट हेर्दा हँसिला र फुर्तिला देखिने पौडेलको सरल र शालिन स्वभावले नै उनी लोकप्रिय बन्दै गएका छन् । वि.स २०४९ सालदेखि पुँजी बजारमा जोडिएका उनले आजभन्दा २३ वर्ष अगाडि अर्थात २०५५ सालमा लेखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेपनि उनले आफ्नो रुचीको रुपमा पुँजी बजारलाई लिए र उनी पुँजी बजारमै आफुलाई अभ्यस्त बनाउन पनि सफल भए । वि.स २०६५ सालमा लेखा अधिकृतको जागिर छोडेर पुँजी बजारमा प्रवेश गरेको पनि उनलाई २५ वर्षभन्दा बढी भइसकेको छ । पुँजी बजार सम्बन्धि उनको कार्यकौशलता र उनको भद्रताले नै महासंघका मतदाताले उनी महासंघमा आवश्यक परेको कारणले नै उनलाई लोकप्रिय मतका साथ विजयी गराएको प्रष्ट हुन्छ । को हुन् भरत आचार्य ? व्यवसायी भरत आचार्यको नेपाली उद्योग व्यवसाय क्षेत्रमा लामो अनुभव छ । प्युठानमा जन्मेका आचार्यले दुई दशकभन्दा बढी समय व्यापार व्यवसायमा अनुभव हाँसिल गरिसकेका छन् । उनले नेपालमा उत्पादन मुलक उद्योग र ट्रेडिङ व्यवसायमा रहेर काम गर्दै आएका छन् । टीएनएस ग्रुपका अध्यक्ष समेत रहेका आचार्यले फर्माप्याक प्रा.लिबाट महासंघको एसोसियट तर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका थिए । उनी आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पराजित गर्दै विजयी भएका हुन् । उनले ७ सय ४६ मत प्राप्त गरेर विजयी भएका हुन् । युवा उद्यमी तथा व्यवसायी आचार्यसँग यसभन्दा अगाडि पनि महासंघको कार्यसमितिमा बसेर काम गरेको अनुभव छ। उनले महासंघको रोजगारदाता परिसंघको उपसंयोजक भएर काम गरिसकेका छन् । उनले युवाहरुलाई स्वरोजगार बनाउनको लागि पनि विभिन्न पहल कदमी गरेका छन् । आचार्य सबै उद्योगी व्यवसायीका एजेण्डालाई सरल तरिकाले प्रस्तुत गर्न सक्ने क्षमता भएकै कारण उनलाई धेरैले रुचाउँछन् । व्यवसायीका मुद्दा तथा समस्याहरु समाधानका लागि लागि पर्ने आचार्यको लगनशिलताले नै उनलाई धेरै उद्योगी व्यवसायीले रुचाएर जिताएका छन् । सम्बन्धित सामग्री: प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
अब कति सम्भव छ एफएनसीसीआईमा चण्डीराज ढकालको ‘रि-इन्ट्री’ ?
काठमाडौं । पूर्व अध्यक्ष चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान हुन लागेकी अध्यक्ष भवानी राणा र अध्यक्षको जिम्मेवारी लिदै गरेका शेखर गोल्छालाई मैले नै महासंघको नेतृत्वमा पुर्याएको हो भन्ने दाबी गरिरहेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएपछि पूर्वअध्यक्ष चण्डीराज ढकालको दाबी–दराजमा अर्काे दाबी पनि थपियो । अहिले थपिएको उनको दाबी हो– महासंको नेतृत्वमा चन्द्र ढकाललाई पनि मेरै बल बुतामा पुर्याएको हूँ भन्ने । पूर्वअध्यक्ष ढकालले गर्ने दाबी कति सत्य हो, कति हल्ला हो वा कति मात्रामा सही हो भन्ने कुरा भुक्तभोगीले नै अनुभूत गरेका होलान् । महासंघको यो निर्वाचनमा चण्डीराज ढकालले समर्थन गरेका उम्मेदवार चन्द्र ढकालले निर्वाचन जितेका छन् । आफ्नो मार्केटिङ गर्न खप्पिस र राम्रो वाकपटुता भएका चण्डीराज ढकालले चन्द्र ढकाललाई मैले नै जिताएको हूँ भन्दै हिड्नेछन् भन्नेमा भने दुविधा छैन । यो निर्वाचनमा बनेको समीकरणको कारक चण्डीराज ढकाल नै हुन् भनेर मान्नेहरु धेरै छन् । पूर्व अध्यक्ष ढकालले निवर्तमान अध्यक्ष भवानी राणा र नेतृत्व लिदै गरेका अध्यक्ष शेखर गोल्छाप्रति गरेको व्यवहारकै कारण अहिलेको अवस्था आएको भन्ने विश्लेषण व्यवसायीहरुले गरिरहेका छन् । पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई समर्थन गर्नुको कारण उनमा लुकेको स्वार्थ थियो । महासंघको विशिष्ट सदस्यमा फेरि पनि आफू मनोनित हुन पाउँछु भन्ने आशामा पूर्व अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन गरेका थिए । पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए यसपालीको निर्वाचन सर्वसम्मत रुपमा हुने थियो भन्ने विश्लेषण गर्नेहरु पनि भेटिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुन पाउने व्यवस्था संशोधन गरेर गोल्छालाई रोक्न खोजेको, त्यसो गर्न नसकेपछि अध्यक्षको जिम्मेवारी संहालेको ६ महिनाभित्र गोल्छालाई अविश्वासको प्रस्ताव राखेर हटाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको आरोप पूर्व अध्यक्ष ढकालमाथि लाग्ने गरेको छ । पूर्व अध्यक्ष ढकालको यही गतिविधिको कारण गोल्छा र उनका शुभेच्छुकहरु पूर्व अध्यक्ष ढकालप्रति चिढिएका थिए । गोल्छा र उनको टीमले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानलाई खुलेरै समर्थन र सहयोग गरेको थियो । रमाईलाे के छ भने यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छा र प्रधान नै भिडेका थिए । तर, यसपाली भने गोल्छाले प्रधानलाई सकेसम्म सहयोग गरे । यदि पूर्व अध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पछि नलागेका भए गोल्छा, अध्यक्ष राणा, पूर्व अध्यक्ष पशुपति मुरारका लगायतको टीम चन्द्र ढकालकै पक्षमा लाग्ने थियो भन्नेहरु पनि छन् । त्यस्तो अवस्थामा चन्द्र ढकाल सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना रहन्थ्यो । यद्यपि, यो विषयको अब कुनै औचित्य छैन । पूर्व अध्यक्ष ढकालको समर्थन पाएका कारण वरिष्ठ उपाध्यक्षको निर्वाचनमा चन्द्र ढकाललाई केही नोक्सानी भएको विश्लेषण पनि हुन थालेको छ । वस्तुगत र एसोसिएटबाट चन्द्र ढकालले राम्रै मत पाएका थिए । जिल्ला/नगरतर्फ भने उनको भन्दा प्रधानको एक मत बढी आएको छ । पूर्व अध्यक्ष ढकालबाट आफूलाई जिल्ला/नगरमा बढी सहयोग हुने अपेक्षा राखेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सोही समूहमा मात्रै पछि पर्नु परेको छ । यो नतिजाले पनि पूर्व अध्यक्ष ढकालसँगको उनको सामिप्यता त्यति फलदायी नभएको विश्लेषण गरिएको छ । चण्डी ढकाल विशिष्ट सदस्य बन्ने सम्भावना छ ? पूर्व अध्यक्ष ढकालको अहिलेको जोडबल भनेको महासंघमा फेरि पनि विशिष्ट सदस्य बनेर महासंघ राजनीतिको केन्द्रमै रहने भन्ने हो । तर, यो सम्भावना करिब समाप्त भएको महासंघको राजनीति बुझ्नेहरु बताउँछन् । कार्यकारिणी सदस्यमा अध्यक्ष गोल्छाको पक्षमा बहुमत जुटेको तथा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि चण्डीराजको लागि अनावश्यक सम्झौता नगर्ने अवस्थामा रहेकोले पूर्व अध्यक्ष ढकालको महासंघको विशिष्ट सदस्य बन्ने सम्भावना करिब समाप्त भएको एक व्यवसायीले बताए । ‘शेखरजीको पक्षमा बहुमत पुग्यो, महासंघमा अध्यक्ष सहमत नभएसम्म कुनै पनि प्रस्ताव पारित हुन निकै गाह्रो हुन्छ, चन्द्रजी आफै अब चण्डीजीलाई बोकेर हिड्नु हुन्न होला, त्यसमा पनि शेखरजीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने भन्ने चण्डीजीको योजनामा चन्द्रजीको कुनै पनि हालतमा समर्थन र सहयोग हुदैन होला, त्यसैले फेरि विशिष्ट सदस्य बन्ने चण्डीजीको सपना अधुरै रहने सम्भावना अधिक देख्छु,’ महासंघका एक पूर्व पदाधिकारीले भने । महासंघको विशिष्ट सदस्य पदमा महासंघ कार्यसमितिले मनोनित गर्नुपर्ने व्यवस्था छ ।
आजबाट महासंघको अध्यक्ष शेखर गोल्छा, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आजबाट शेखर गोल्छा अध्यक्ष भएका छन् । वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पुरा भएपछि स्वत अध्यक्ष हुने महासंघको विधान अनुसार उनी अध्यक्ष भएका हुन् । साथै, आजबाट निर्वाचित नयाँ कार्यसमिति आएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघइ र बस्तुगत अध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । एशोसिएटतर्फ अम्बिका प्रसाद पौडेल, ज्योत्सना श्रेष्ठ, गोपाल खनालले सबैभन्दा धेरै मत पाएका छन् । विराट थापा र मंगेशलाल श्रेष्ठले बराबर मत पाएका छन् । जिल्ला नगरतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे शोभाकान्त पौडेल लोकप्रिय मत पाएर विजयी भएका छन् । त्यस्तै, बस्तुगत समूहबाट नरेशमान श्रेष्ठ, मिनमान श्रेष्ठ र सुमित केडियाले बढी मत पाएका छन् । कसले कति मत पाए ? [pdf id=248092]