शिक्षकहरूको आन्दोलन कायमै, शिक्षा ऐन नआएसम्म विद्यालय नफर्किने अडान
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा उनीहरूले प्रदर्शन गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । गत २० दिनदेखि आन्दोलनरत शिक्षकहरूले शिक्षा विधेयक तुरुन्तै जारी गर्नुपर्ने माग गर्दै काठमाडौं केन्द्रित विरोध कार्यक्रमहरू गरिरहेका छन् । सरकारले शिक्षा विधेयक आगामी बजेट अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाए पनि उनीहरू विश्वस्त देखिँदैनन् । शिक्षकहरूले पटक–पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यस पटक शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि शिक्षकहरूको माग सम्बोधन अझै अनिश्चित देखिएको छ । सरकारले वैशाख १२ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ । सो अधिवेशनमा शिक्षा विधेयक प्रस्तुत हुने सरकारले स्पष्ट पारेको छ । तर, शिक्षकहरूले विधेयक जारी भएपश्चात् मात्र आन्दोलन अन्त्य गर्ने बताएका छन् ।
विद्यालय बन्द हुँदा लागुऔषधमा फस्न थाले बालबालिका, तत्काल स्कूल खोल्न माग
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । 'विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ', बालककी आमाले भनिन्, 'विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।' वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छ÷गर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ । सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए । 'सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ ।' जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । 'बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ । अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ ।' हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । 'यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् । हामीलाई उनीहरूको चिन्ता छ । राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ', शिक्षक खड्काले भने । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले भने, 'लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ ।' रासस
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दियो । २० औं दिनदेखि शिक्षकहरूले सडकमा उत्रिएका छन् । आन्दोलनको विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । यसैबीचमा भट्टराईले राजीनामा दिएकी हुन् । शिक्षकसँग वार्तामा बसे पनि शिक्षामन्त्री चौतर्फी घेराबन्दीमा परेकी थिइन् । आजै मन्त्रिपरिषद बैठक पनि बस्दैछ । बैठकमा भट्टराईको राजीनामा स्वीकृत हुने सम्भावना रहेको सचिवालय स्रोतले जनायो ।