एसईई नतिजा असार तेस्रो साता सार्वजनिक हुने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असार पहिलो साता नै नतिजा सार्वजनिक हुने तय थियो । तर, गत चैत २० गतेदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको मूल्यांकन बहिष्कारका कारण उत्तरपुस्तिका परीक्षण ढिला भइ नतिजा सार्वजनिक मिति पछाडि धकेलिएको हो । ‘शिक्षकहरूको आन्दोलनले परीक्षण प्रक्रियामा ढिलाइ भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा आउन सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाइएको छ । केही स्थानमा अझै परीक्षण भइरहेकाले ती काम सकिएपछि इन्ट्री, रुजु र त्रुटि सच्याएर नतिजा प्रकाशित गर्नेछौं’, उनले स्पष्ट पारे । एसईई परीक्षा चालु वर्षको चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ ।

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक/एक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् ।  बाल कक्षामा दुई, कक्षा १ र ३ मा एक/एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन् । उनका अनुसार गत शैक्षिक सत्रको सुरुमा २२ जना विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन् । ‘कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन् । विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो,’ उनले भने, ‘अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ । बालबालिकाको सिकाइ उपलब्धि मूलक बनाउन बाल कक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ । समुदायको साथ नपाउँदा विद्यार्थी सङ्ख्या घटेको हो ।’  विसं २०८० सम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ थियो । कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंशबाहिनीका शिक्षकले गुनासो गरेका छन् ।  गत वर्ष विद्यार्थी सङ्ख्या कम भएकाले उक्त विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्मको पठनपाठन गर्न पाउनेगरी बेनी नगरपालिकाले निर्णय गरेको थियो । यहाँका तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रअ नेपालीले बताए ।  विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ । सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताए । उनका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन् । ‘हंशबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ,’ शिक्षक श्रेष्ठले भने, ‘रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ ।’ सुविधा युक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उनको भनाइ छ । 

त्रिविमा तालाबन्दी, प्राध्यापकहरूले गरे आन्दोलन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूका अनुसार छ बुँदे माग राख्दै शुक्रबार बिहानदेखि तालाबन्दी गरिएको हो । प्राध्यापक संघले त्रिविले ल्याएको ‘फास्ट ट्र्याक’ नामक नयाँ पदपूर्तिप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको जनाएको छ । त्रिविले अनुसन्धानात्मक विशिष्टताको आधारमा १०० जना उप-प्राध्यापकको विज्ञापन खुलाएकोमा संघले लेखित परीक्षा विना अन्तर्वार्तामार्फत पदपूर्ति गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । 'फास्ट ट्र्याकको नाममा लिखित परीक्षा बिना नै अन्तर्वार्ताका भरमा नियुक्ति दिने नियत देखिएकोले यो असंवैधानिक र विभेदपूर्ण प्रक्रिया तुरुन्त खारेज हुनुपर्छ,' अध्यक्ष लिम्बूले बताए । संघले हाल रिक्त रहेको दरबन्दी र आगामी ६ महिनामा सेवा निवृत्त हुने शिक्षकहरूको संख्या समेटी ५ हजार २०३ पदमा प्रतिस्पर्धामार्फत विज्ञापन खुलाउनुपर्ने माग अघि सारेको छ । यस मागको दबाबस्वरूप आंशिक प्राध्यापक संघले शुक्रबारदेखि त्रिविको सबै शीर्ष प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।