त्रिविको दीक्षान्त समारोहमा सोह्र हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा बिहीबार (आज) १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायतले उनीहरूलाई दीक्षित भएको घोषणा गरे । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी  ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।    दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिको रूपमा उपस्थित छिन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायतको पनि उपस्थिति छ । विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए ।

विद्यालय नर्स आफैँ समस्यामा, ५४ करोड रुपैयाँ खर्च

काठमाडौं । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा कार्यक्रममा स्वयं विद्यालय नर्सहरूले नै आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । दरबन्दी बिना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न नपाएको, एकै जना नर्सले एक हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको, विद्यालय प्रशासनबाट असहयोग हुने गरेको लगायत समस्या कार्यक्रममा व्यक्त गरिएका थिए । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित आदर्शशौल माध्यमिक विद्यालयका नर्स सरस्वती शाक्यले काम गर्ने सकारात्मक वातावरण नहुँदा किशोर किशोरीको स्वास्थ्य समस्या समाधानमा कठिनाइ रहेको बताइन् । उनले शिक्षा र स्वास्थ्यमा समन्वयको अभाव रहेको भन्दै विद्यालय प्रशासन, शिक्षक र अभिभावकलाई अभिमुखीकरण गर्नुपर्ने बताइन् । बालकुमारी माध्यमिक विद्यालय सुनाकोठीमा नर्स अनु तिमल्सिनाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको कार्यक्रममा आफू सहभागी भएर काम गर्दा विविध समस्या भोग्नुपरेको सुनाइन् ।  ‘काम गर्ने दौरानमा विभिन्न व्यवधान ब्यहोर्नु परेको छ । विद्यालयमा उचित कार्यस्थल, विद्यार्थीलाई प्राथमिक उपचार गर्ने व्यवस्थित कक्ष र बालमैत्री शौचालय छैन । यस्तै, हरेक ६/६ महिनामा करारको नवीकरण गर्दा समस्या भइरहेको छ,’ उनले भनिन् ।  बागमती गाउँपालिका-७ गिम्दीको कटुवास्थित जनक माविका नर्स धना विष्टले अभिभावकहरूलाई आफ्ना बालबालिकाबारे थप सचेत र जागरुक बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् । यस्तै, विद्यार्थीलाई दिइने खाजा खर्च हरेक ३/३ महिनामा उपलब्ध गराइँदा विद्यार्थीहरूको स्वास्थ्य र विद्यालयप्रतिको आकर्षणमा अझै सकारात्मक प्रभाव पर्न नसकेको उनको भनाइ छ । बागमती गाउँपालिका-५ इकुडोलस्थित शारदा शिक्षा सदन माझखण्डमा कार्यरत नर्स यशोदा कुशवाह, महेन्द्र भृकुटी माध्यमिक विद्यालयका सजना महर्जन, ललितपुरको नखिपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयका विद्यालय नर्स मनकामना खरेल लगायतले विद्यालयमा विद्यार्थीको अनुकूल हुने गरी ‘सेक्सन’ छुट्याउन, पर्याप्त खेल मैदानको व्यवस्थाका साथै विद्यार्थीको सङ्ख्याअनुसार नर्सको व्यवस्था नहुँदा समस्या रहेको बताइन् ।  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले निर्णय गर्ने ठाउँमा विषयविज्ञ र सम्बन्धित क्षेत्रको ज्ञान भएको व्यक्ति नहुँदा समस्या भइरहेको बताए । उनले विद्यालय नर्सको सेवा सुविधाका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।  ‘बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रममा यस वर्ष ५४ करोड रुपैयाँ खर्च गर्ने भनेको छ । १३ जिल्लाका ८४८ वटा विद्यालयमा कार्यक्रम लागू भएको छ,’ डा गेलालले भने, ‘विद्यालय नर्सका कारण धेरैको ज्यान बचेको छ, विद्यार्थीको अध्ययनमा सहज भएको छ, तर उहाँहरू आफैँ समस्यामा रहेको सुन्यौँ । अब कार्यविधि र निर्देशिकामा भएका कमजोरीलाई सुधार गर्दै नर्सका समस्या समाधान गर्न ध्यान दिन लाग्नुपर्छ ।’ जनस्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत दीपा पाण्डेले ललितपुरका ५४ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको र हाल ४५ जना नर्स कार्यरत रहेको जानकारी गराए ।  महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले बालबालिकाको स्वास्थ्यका लागि विद्यालय नर्सले गरेको काम अत्यन्तै सकारात्मक रहेको बताए ।  महाकाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भरतबहादुर खड्काले विद्यालय नर्सको कार्यविधिमा रहेका समस्या समाधान गर्दै विद्यालय नर्सले अरु स्थायी र अस्थायी कर्मचारी सरह सेवा पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले विद्यालय नर्सका समस्या समाधान गर्न विद्यालय व्यवस्था समिति, प्रधानाध्यापक र विद्यालय प्रशासनसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा २० वटा विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम प्रभावकारी भएका निष्कर्षसहित आव २०८१/८२ मा प्रदेशका ८४८ वटा सामुदायिक विद्यालयमा कार्यक्रम विस्तार गरिएको जनाइएको छ ।

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, प्रमुख अतिथि नोबेल पुरस्कार विजेता काजिता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त  समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा. दीपक अर्यालले जानकारी दिए ।  समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।  उपकुलपति प्रा.डा. अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।  विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए ।  कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।