चिट चोर्ने, टिकटक बनाउने १२६ जनाको परीक्षा रद्द
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । एसईईमा चिट चोर्ने, टिकटक बनाउने लगायत अन्य गैरकानुनी काम गर्ने १२६ जनाको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन् । यस वर्षको एसईईमा ६१।८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
एसईई पूरक परीक्षा साउन २९ गतेदेखि हुने
काठमाडौं । एसईईको पूरक परीक्षा मिति तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तोकेको हो । पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
गणितमा सबैभन्दा धेरै फेल, कुन प्रदेशमा कति पास भए ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको तुलनामा यसपटक एसईईको नतिजा बढेको बताए । गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएकोमा यस वर्ष बढेका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । जसमध्ये एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुतिर्ण भएका छन् । कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । शर्माका अनुसार कोशी प्रदेशमा ४७ हजार ८३५ जना, मधेश प्रदेशमा ५९ हजार ७४९ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना विद्यार्थी एसईई पास भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना उतिर्ण भएको शर्माले बताए । विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण अर्थात् ‘ननग्रेडेड’ भएका छन् । गणितमा १ लाख २८ हजार २१५ जना अनुत्तीर्ण भएका छन् । त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८० हजार ६७२ जना रहेको कार्यालयले जनाएको छ । यस्तै, विज्ञान र प्रविधिमा ७९ हजार २७१ जना अनुत्तीर्ण, नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४ हजार ७३५ जना र सामाजिक शिक्षामा ५३ हजार १८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।