शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त भएका छन् । 

शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा अनुभव हासिल झालाई मन्त्री सस्मित पोखरेलले सल्लाहकारमा नियुक्त गरेका हुन् ।

झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न छन् ।

उक्त कार्यक्रममार्फत झाले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग काम गरिरहेका छन् ।

यसअघि झा काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए ।

उनले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गरेका थिए । 

उनको नेतृत्वमा सीपमेला, प्राविधिक तथा व्यावसायिक शिक्षा, ‘बुक फ्रि फ्राइडे’, सिर्जनात्मक सिकाइ, विद्यालय सौन्दर्यीकरण, शिक्षक क्षमता विकास, अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम तथा विशेष विद्यालय सुदृढीकरणजस्ता कार्यक्रम सञ्चालन भएका थिए ।

शैक्षिक रुपमा झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 
उनले नेपालको शिक्षा प्रणाली सुधारसम्बन्धी अनुसन्धानसमेत गरेका छन् ।

Share News