संघीय शिक्षा ऐन विधेयक मन्त्रिपरिषदबाट पास

काठमाडौं । लामो समयदेखि अगाडि बढ्न नसकेको संघीय शिक्षा ऐन सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पास भएको छ । संसदीय समितिमा छलफल प्रारम्भ गर्ने गरी मन्त्रिपरिषदबाट पास भएको शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेलले जनाएका छन् । उक्त विधेयक तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलकै समयमा निर्माण भएको थियो । नयाँ संविधान र नयाँ व्यवस्था बमोजिम शिक्षा क्षेत्रको व्यवस्थापन, सञ्चालन र नियमन गर्ने गरी निर्माण भएको उक्त विधेयक लामो समयदेखि अगाडि बढ्न सकेको थिएन् । ऐनको अभावमा शिक्षा सम्बन्धी धेरै क्षेत्र नयाँ व्यस्थासँगै अलमलको अवस्थामा रहिरहेका थिए । संघीय शिक्षा ऐन निर्माण भएमा शैक्षिक क्षेत्रले नयाँ व्यवस्थाअनुरुप मुर्तता प्राप्त गर्न सजिलो हुने अनुमान गरिएको छ ।

आइटीमा पनि थरिथरि विषय पढाइ, स्नातक तहमा कुन कोर्ष राेज्ने ?

काठमाडौं । विज्ञान प्रविधिको विकाससँगै संसारभर काम गर्ने तरिका पनि प्रविधिमैत्री हुँदै गएको छ । उत्पादन, वितरण तथा सेवाको प्रकियामा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ । यस तथ्यलाई ध्यानमा राखेर विश्व विद्यालयहरुले पाठ्यक्रम बनाएका छन् । सोही अनुसार कलेजहरुले अध्यायन अध्यापनमा जोड दिएका छन् । तर नेपालमा पढाई र गराईमा थुप्रै बेमेल छन् । विश्वविद्यालय पढाई पुरा गरेका युवाहरुले देशमा काम नपाएको भन्दै विदेशिएको र विदेशमा पनि उनीहरुले सीप नभएका मानिसले गर्ने काम गरिरहेको पाइन्छ । भर्खरै कक्षा १२ को परिक्षा उत्तिर्ण गरेर विश्वविद्यालय प्रवेश गर्न लागेका आइटी क्षेत्रमा रुची भएका विद्यार्थीहरुले कस्तो विषय छनोट गरेर अध्ययन गर्दा व्यवहारिक हुनसक्ला ? नेपाली कलेजहरुले आइटी क्षेत्रसँग सम्बन्धित के–कस्ता कोर्षहरु पढाइरहेका छन् ? यहाँ नेपालका अधिकांश कलेजले सञ्चालन गरिरहेको आइटी क्षेत्रसँग सम्बन्धित मुख्य कोर्षको विषयमा चर्चा गर्न खोजिएको छ । बिएससी सिआइटी (कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी) बिएससी सिआइटी ४ वर्षे सेमेस्टर प्रणालीमा अध्यापन हुने प्राविधिक कोर्ष हो । डियर वाक डी डब्लु आइटी कलेज काठमाडौं बिएसी सिएसआइटी विभागका प्रमुख बिजयबाबु रेग्मीकाअनुसार कक्षा १२ मा फिजिक्स, म्याथ र केमेस्ट्र विषय लिएर सी ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्छन् । रेग्मीका अनुसार यो कोर्षमा कम्प्युटर साइन्स र सूचना प्रविधिको विषयमा आधारभूत सैद्धान्तिक ज्ञान, सफ्टवेयर निर्माण तथा सञ्चालन र वेबसाइट, मोबाइल एप्लिकेसन को विषयमा अध्ययन गरिन्छ । कम्प्यूटरसँग सम्बन्धित धेरै समस्या र इन्टरनेट सुरक्षा सम्बन्धी आधारभूत ज्ञान यो कोर्षको अध्ययनमार्फत प्राप्त गर्न सकिन्छ । ४ वर्षे विएससी सिएसआइटी कोर्ष पढिसकेपछि विद्यार्थीले वेबसाइट निर्माण तथा सञ्चालन गर्न, मोबाइल एप्लिकेसन निर्माण तथा सञ्चालन गर्न, सफ्टवेयरको निर्माण तथा सञ्चालन गर्न सक्ने रेग्मीले बताए । उनका अनुसार अहिलेको समयमा बिएससी सिएसआइटी पढेको जनशक्तिको माग निकै बढिरहेको छ । पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रमा सफ्टवेयरको प्रयोग गर्ने कार्य निकै बढेको छ । त्यस्तै वेबसाइट निर्माण गर्ने र सूचना प्रविधिको सहायतामार्फत काम गर्ने अभ्यास तिव्रतामा वृद्धि हुँदै गएको छ । साथै देशभित्रै बसेर पनि विदेशका सूचना प्रविधिका कामहरु गरेर मनग्य रुपमा आम्दानी गर्ने अवसरहरुको विकास हुँदै गएको छ । जसले गर्दा स्वरोजगार वा रोजगार दुबै दृष्टिकोणले बिएससी सिआइटी अध्ययनको महत्व दिनप्रतिदिन बढ्दै गएको प्राध्यापक रेग्मीले बताएका छन् । बिसिए (ब्याच्लर अफ कम्प्युटर एप्लिकेसन) बिसिए त्रिभुवन विश्वविद्यालयले निर्माण गरेको स्नातक तहको ८ सेमेस्टरमा पढाइ हुने ४ वर्षे कोर्ष हो । मेगा कलेजका बिसिए विभागका प्रमुख धर्मराज पौडेलका अनुसार यो कोर्ष खासगरी कक्षा ११ र १२ मा आइटी अध्ययन नगरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउनेगरी निर्माण गरिएको हो । कक्षा ११ र १२ जुनसुकै विषय अध्ययन गरेर न्यूनतम डि ग्रेड ल्याएर उत्तिर्ण भएका विद्यार्थीहरुले पनि बिसिए अध्ययन गर्न सक्छन् । यो कोर्षको अध्ययनमा आधारभूत रुपमा कम्प्युटर एप्लिकेसन र सफ्टवेयर डेभलपमेन्टलाई फोकस गरिन्छ । पौडेलका अनुसार यो कोर्षको मुख्य विशेषता भनेको विद्यार्थीले ८ सेमेस्टरको अवधिमा गर्नुपर्ने विशेष ३ वटा प्रोजेक्ट आफ्नो क्षमता र रुचीको आधारमा छनौट गरेर गर्न सक्छ । जसमा मोबाइल एप्लिकेसन, कम्प्युटर एप्लिकेसन, सफ्टवेयर डेभलेपमेन्ट, वेब पेज लगायतका थुप्रै विषयहरु हुन सक्छन् । पछिल्लो समयमा हाम्रो मुलुक लगायत विश्वभरी नै आइटी उद्यमको तिव्र गतिमा विकास भइरहेको छ । बिसिए पढेपछि सिस्टम इन्जिनियर, सफ्टवेयर टेस्टर, जुनियर प्रोग्रामर, वेब डेभलपर, सिस्टम एड्स्ट्रेस्टर र सफ्टवयर डेभलपरको रुपमा सरकारी तथा गैर सरकारी वा स्वयंले उद्यमको सिर्जना गरेर काम गर्न सकिने पौडेलले बताए । बिसिआइएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन) बिसिआइएस स्नातक तहका लागि पोखरा विश्वविद्यालयले तयार गरेको कोर्ष हो । ४ वर्षमा अध्ययन गरिने यो कोर्ष जुनसुकै विषयमा कक्षा ११ र १२ अध्ययन गरेर सी प्लस ग्रेडमा उत्तिर्ण भएको विद्यार्थीले पनि पढ्न सक्छन् । एपेक्स कलेज काठमाडौं बिसिआइएस विषयका प्रमुख उज्जवल शाक्यले सो कोर्षमा आइटी र म्यानेजमेन्टका विषयहरु मिश्रण गरेर तयार पारिएको बताए । जसले गर्दा सो कोर्ष पढ्ने विद्यार्थीले दुबै आइटी र म्यानेजमेन्ट दुबै क्षेत्रको अध्ययन गर्ने उनको भनाइ छ । शाक्यका अनुसार बिसिआइएसको कोर्षमा विद्यार्थीले व्यवस्थापन अन्तर्गत पर्ने सबै विषयहरु र आइटी अन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डाटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतका विषयहरु पढ्छन् । जसले गर्दा सो कोर्षको अध्ययन गरिसकेपछि विद्यार्थीले आफूलाई आइटी वा म्यानेजमेन्ट दुबैतर्फ वा कुनै एक क्षेत्र रोजेर अगाडि बढ्न सक्छन् । यो विषयको अध्ययनपश्चात विद्यार्थीले प्रणाली विश्लेषण, सूचना विश्लेषण, डाटाबेस म्यानेजर र नेटवर्क एड्मिन्स्ट्रेटर लगायतका धेरै क्षेत्रमा आफ्नो करिअर स्थापित गर्न सक्छ । साथै विद्यार्थीले स्नातकोत्तर तहमा म्यानेजमेन्ट वा आइटी विषयलाई रोजेर आफ्नो थप अध्ययनलाई अगाडि बढाउन सक्छ । बिआइटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी) बिआइटी नेपालमा धेरै विश्वविद्यालयले भिन्न–भिन्न ढंगले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम हो । किष्ट कलेज काठमाडौंका बिआइटीका को–अर्डिनेटर दीपक खड्काका अनुसार बिआइटी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन् । उनका अनुसार पूर्वाञ्चल विश्वविद्यालयले अहिलेसम्मको नियमअनुसार डी प्लस ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्ने व्यवस्था गरेको छ । यो कोर्षमा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डाटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरुको अध्ययन गरिन्छ । को–अर्डिनेटर खड्काका अनुसार सो विषय अध्ययन पश्चात विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरुको सञ्चालन गर्न सक्षम हुन्छ । अहिले भइरहेका जुनसुकै काम पनि आइटीसँग जोडिदै गएकाले जनजीवन नै आइटीमय भएको र भविष्यमा पनि यसको थप महत्व बढ्दै गएको उनले बताए । बिएससी आइटी (कम्प्युटर सिस्टम इन्जिनियरिङ) बिएसी आइटी ‘आइटी युनिभर्सिटी अफ सन्डरल्यान्ड’ युकेको विश्वविद्यालयले विकास गरेको स्नातक तहको कोर्ष हो । नेपालको सीमित कलेजमा मात्रै यो कोर्षको पढाई हुने गरेको छ । आइएसएमटी कलेज काठमाडौंका प्रिन्सिपल ध्रुबबाबु जोशीका अनुसार यो ८ सेमेस्टर ४ वर्षमा पढाइ हुने पूर्ण रुपमा व्यवहारिक प्रयोगका माध्यमबाट अध्ययन गरिने कोर्ष हो । प्रिन्सिपल जोशीका अनुसार कक्षा १२ मा नेपालको मापदण्डअनुसार ५० प्रतिशत नम्बर ल्याएर उत्तिर्ण भएको विद्यार्थीले यो विषय पढ्न सक्छ । उनका अनुसार यो कोर्षमा कम्प्युटर सिस्टम, एप्लिकेसन, वेब, नेटवर्किङ, डाटा एनालाइसिस, प्रोग्रामिङ लगायतका सबै विषयहरुको व्यवहारिक ढंगले अध्ययन गरिन्छ । जसकारणले यो कोर्षको अध्ययनपश्चात विद्यार्थीले सम्बन्धित उद्यमको क्षेत्रमा वास्तविक रुपमा कार्यान्वयन गर्नसक्ने क्षमता राख्छ । आइटी उद्यमको तिव्र विकाससँगै बिएससी आइटी अध्ययन गरेका विद्यार्थीको माग दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ ।

यी हुन् १२ पासपछि बैंकर, उद्यमी र व्यवस्थापक बन्न खोज्नेले पढ्ने विषय

काठमाडौं । कक्षा १२ को परिक्षाको नतिजा आएसँगै उत्तिर्ण भएका विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययनको लागि ढोका खुलेको छ । आ–आफ्नो अनुकुलतामा विभिन्न विषय लिएर अध्ययन गरेका र उमेरका हिसाबले श्रम बजारमा प्रवेश गर्न योग्य भैसकेका व्यवस्थापन संकायका विद्यार्थीहरुले कुन विषय लिएर पढ्दा व्यवहारिक हुनसक्छ ? नेपालको बजारमा वा विदेशी बजारमा व्यवस्थापनको क्षेत्रमा कुन विषय लिएर पढेका जनशक्तिको माग रहेको छ ? नेपालमा कुन विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा कस्ता विषयहरु पढाइरहेका छन् ? विद्यार्थीले जीवनउपयोगी विषय कसरी रोज्ने ? यी र यस्तै विषय विद्यार्थीहरुकाे जीवनका लागि पनि महत्वपूर्ण हुन्छन् । नेपालमा सञ्चालनमा रहेका अधिकांश कलेजहरुले मुख्यतः ठुला विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपालका मुख्य विश्वविद्यालयहरुमध्ये त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको विषयमा यहाँ चर्चा गरिएको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा १० वटा विषयहरुको सञ्चालन गर्ने गरेको छ । जसमा बिबिएम, बिबिएस, बिएचएम, बिआइएम, बिएमटिएम, बिएमएस, बिपिए, बिटिटिएम, बिबिए र बिबिएफ रहेका छन् । काठमाडौं विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत ५ वटा विभागीय विषयहरुमा कोर्षहरुको विकास गरेको छ । जसमा वित्त, अर्थशास्त्र र लेखा, मानव स्रोत तथा साधारण व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, सूचना तथा विज्ञान र बजार तथा रोजगार रहेका छन् । जसमा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिबिआइएस र बिएचएम विषयको अध्यापन सञ्चालन गर्ने गरेको छ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत ६ वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । जसमा व्यवसायिक प्रशासन, बैंक तथा बीमा प्रशासन, कम्प्युटर सूचना प्रणाली, होटल व्यवस्थापन र स्वास्थ्य हेरचाह व्यवस्थापन रहेका छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले बिबिए, बिबिए बैैंकिङ एण्ड इन्स्योरेन्स, बिबिए ट्राभल एण्ड टुरिजम, बिसिआइएस, बिएचएम र बिचसिएम कोर्ष सञ्चालन गर्ने गरेको छ । कुन विषय पढ्दा कुन क्षेत्रमा सम्भावना बढी ? काठमाडौं मोडेल कलेजका प्राध्यापक प्रदिप पराजुली बिबिएम कोर्ष पढेर विद्यार्थीहरुले आफुलाई उद्यमी बन्न र विभिन्न क्षेत्रमा रोजगार प्राप्त गर्नको लागि योग्य हुने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा पढाई हुने ४ वर्षे बिबिएम कोर्ष पढेपछि विद्यार्थी आँफै उद्यमी बन्न सक्ने वा मध्यम तहको व्यवस्थापक सम्म बन्न सक्ने उनको भनाइ छ । पोखरा विश्वविद्यालयले तयार गरेको बिबिए–बिआई कोर्ष ८ सेमेस्टरमा पढाइ हुने गर्दछ । यो मल्पी इन्टरनेशनल कलेज काठमाडौंका प्राध्यापक प्रतिक शर्माकाअनुसार बिबिए–बिआई कोर्षको ३ सेमेस्टरसम्मको विषय बिबिएसँग मिल्छ, त्यसपछिका सेमेस्टरमा भने बीमा र बैंकिङ क्षेत्रलाई जोड दिइएको हुन्छ । बिबिए–बिआई अध्ययन गरेपछि बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा काम गर्नको लागि सो विद्यार्थी सक्षम हुने प्राध्यापक शर्माले बताए । विश्वविद्यालयहरुले सञ्चालन गर्दै आएको वाणिज्य शास्त्रको सट्टामा विकास भएको नयाँ कोर्ष हो बिबिए । बिबिए कोर्षलाई सबै विश्वविद्यालयहरुले सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने गरेका छन् । ८ सेमेस्टरमा पढाइ हुने बिबिएमा विद्यार्थीहरुले ४० वटा विषय पढ्नुपर्ने हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्राध्यापक अमित गुप्ता बताउँछन् । जुनसुकै संकायबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले पढ्न पाउने सो विषय पढेपछि विद्यार्थी जुनसुकै फिल्डमा काम गर्न जानको लागि योग्य हुने उनको भनाइ छ । स्नातक तहमा अध्यापन हुने बिएचएम विषय सबै विषय पढेका विद्यार्थीहरुले पढ्न सक्ने विषय हो । जसमा किचन, सर्भिस, हाउसकिपिङ, फ्रन्टअफिस, आदि लगायतका विषयहरु पर्दछन् । होटलमा खाना कसरी बनाउने, कसरी गेष्टहरुलाई सर्भिस दिने, रुमहरुको व्यवस्थापन कसरी गर्ने, गेष्टहरुलाई आतिथ्यता कसरी टक्र्याउने, आदि लगायतका व्यवहारिक विषयहरु विएचएम लेभलमा अध्ययन गरिन्छ । मुलतः जसले भोकेस्नल कोर्षहरु सिक्न खोजिरहेको हुन्छ वा सैद्धान्तिक भन्दापनि प्राक्टिकल बेसमा बसेर काम गर्ने रुची भएको विद्यार्थीका निमित्त निकै उपयोगी र व्यवहारिक विषय मानिन्छ । होटल म्यानेजमेन्टको अध्ययन गरिसकेपछिको उपयोगिताको क्षेत्र धेरै नै बृहत रहेको छ । पहिलो त होटलमा धेरै भूमिकामा काम गर्न सकिन्छ । ट्राभल एण्ड टुरिजम क्षेत्रमा टिकेटिङ अफिसर, दोभासेलगायतको काम गर्न सकिन्छ । त्यस्तै एयरलाइन्सको क्षेत्रमा प्लेनभित्र किचनको काम गर्ने, यात्रुहरुलाई खानाको सर्भिस गर्ने लगायत कामहरुमा होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता र महत्व रहेको छ । फिटनेस सेन्टरहरुमा डाइटिसियनको रुपमा पनि काम गर्न सकिन्छ । न्युट्रेसन क्षेत्रमा, खाना तथा खाजाहरुको मेनुमार्फत् सन्तुलित भोजन निर्माण गर्ने कुरामा यसको महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट ४ वर्षे शैक्षिक कार्यक्रम हो । यो कार्यक्रम व्यवसायिक हेल्थ केयर जनशक्ति उत्पादनको लागि डिजाइन गरिएको हो । यो कोर्षमा स्वास्थ्य योजना निर्माण, वृहत अर्थशास्त्र, व्यवसायिक सूचना, अस्पताल योजना, स्वास्थ्य प्रणाली र नीति तथा कार्यक्रम निर्माण सम्बन्धी अध्ययन गरिन्छ । अंग्रजी विषयमा राम्रो क्षमता भएका कक्षा १२ अध्ययन सकेका विद्यार्थीहरुले यो विषय अध्ययन गर्न सक्छन् । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट अध्ययन गरिसकेपछि ती विद्यार्थीहरुले सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको व्यवस्थापकीय नेतृत्व वा सञ्चालनमा सहभागी भएर काम गर्न सक्छन् । नोवेल कलेज व्यवस्थापन संकायका प्रमुख ज्ञानेन्द्र चौलागाईंका अनुसार यो विषय पढेपछि विद्यार्थीहरु अस्पताल मात्रै नभएर एनजिओ, आइएनजिओ र डब्लुएचओ लगायतले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रममा समेत सहभागी भएर काम गर्ने क्षमता राख्दछन् । बिपिएच अर्थात् ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी मुख्यत हस्पिटालिटी उद्यमसँग सम्बन्धित विषय हो । काठमाडौं युनिभर्सिटीले सञ्चालन गरेको यो कार्यक्रम सीमित कलेजहरुले मात्रै सञ्चालन गरेका छन् । गर्दै सिक्दैमा आधारित यो कोर्ष कक्षा १२ पास भएका विद्यार्थीले पढ्ने व्यवहारिक विषय हो । ८ सेमेस्टरमा अध्यापन हुने यो विषय पढिसकेपछि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पर्यटन क्षेत्रका धेरै विधाहरुमा काम गर्न सक्छन् । पछिल्लो समय नेपालमा हस्पिटालिटी क्षेत्रको विस्तार हुने क्रम रहेको छ । बिपिए अर्थात् ब्याच्लर अफ पब्लिक एडमिनिस्ट्रेसन त्रिभुवन विश्वविद्यालले विकास गरेको ४ वर्षे कार्यक्रम हो । ८ सेमेस्टरमा पढाइ हुने यो कोर्ष सार्वजनिक क्षेत्रमा प्रशाशन तथा व्यवस्थापकीय काम गर्नको लागि तय गरिएको हो । बिपिए पढिसकेपछि सार्वजनिक क्षेत्रको व्यवस्थापन तथा अनुसन्धान, सार्वजनिक सेवाको नेतृत्व र विभिन्न संस्थाहरुको नेतृत्वमा रहेर काम गर्न सकिन्छ । नेपालमा सार्वजनिक, सार्वजनिक निजी र निजी क्षेत्रको स्वामित्वमा सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रहरुको विस्तार भइरहेको छ । बिआइएम अर्थात् ब्याचलर अफ इन्फर्मेसन आइटी र म्यानेजमेन्टको समायोजन गरेर अध्ययन गरिने विषय हो । यो कोर्षमा व्यवसायिक प्रशासन तथा निर्णय प्रकृयामा सूचना तथा सञ्चार प्रणालीको मिश्रण गरे(र अध्ययन गरिन्छ । सूचना व्यवस्थापन कोर्षमा आधारभूत रुपमा अर्थशास्त्र, कम्प्युटर विज्ञान, र व्यवस्थापनका प्रविधि, विधि र सैद्धान्तिक कुराहरुलाई विश्लेषण गरेर अध्ययन गरिन्छ । पछिल्लो समय सेवा, उद्यम तथा व्यवसायको सम्पूर्ण क्षेत्र आधुनिक व्यवस्थापनमा आधारित हुँदै गएकाले बिआइएम अध्ययनको महत्व बढ्दै गएको छ । यो कोर्षलाई नेपालका विभिन्न विश्वविद्यालयहरुले विभिन्न नाम दिएर सञ्चालन गर्ने गरेको पाइन्छ ।