सुकुम्बासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने निजी विद्यालय सञ्चालकको उद्घोष

तस्बिर : एआई

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सुकुम्बासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् । काठमाडौं उपत्यका सहित देशभर खोला किनारमा भत्काइएका सुकुमबासी बस्तीका बालबालिकाको पढाइ प्रभावित हुन नदिन निःशुल्क रुपमा पढाइदिने घोषणा गरेका हुन् ।

निजी विद्यालय सञ्चालकहरू आवद्ध विभिन्न संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।
प्याब्सन, एन प्याब्सन, हिसान र एपेनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कुनै पनि बालबालिका पढाइबाट बञ्चित नहुन् भन्ने उदेश्यले निःशुल्क पठनपाठन गराउने घोषणा गरेका हुन् ।

सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनार र देशभरका जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने कार्यलाई तिव्रता दिइरहेका अवस्थामा ती समुदायका बालबालिकाहरूको पठनपाठनमा पर्न सक्ने असरप्रति गहिरो चाँसो व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा खलल हुन नदिनु राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व हो, यसै सन्दर्भमा  वर्तमान अवस्थाप्रति संवेदनशीलता र उत्तरदायी रहँदै स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन हामी सबै संगठनहरू प्रतिबद्ध छौं ।’

सञ्चालकहरूले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई तत क्षेत्रका निजी विद्यालयमा निःशुल्क ढंगले पढ्ने अवसर उपलब्ध गराउने र  आवश्यकता अनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । 
जारी विज्ञप्तिमा एपेनका अध्यक्ष बद्रि प्रसाद दाहाल, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका अध्यक्ष युवराज शर्मा र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।  

null

Share News