भोजपुरको शैक्षिक सुधारका लागि ६४ बुँदे अवधारणा पत्र

भोजपुर । यहाँको शैक्षिक सुधारका लागि ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अवधारणा पत्र सार्वजनिक गरेको हो । अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नुपर्ने कामलाई समेटिएको छ । सङ्गठनले तयार गरेको यो अवधारणा पत्र कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई बुझाउने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषी देखाएर राज्य पन्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले अवधारणा पत्र सार्वजनिक गरेको उनको भनाइ छ । ‘शिक्षा क्षेत्रमा रहेका समस्यालाई उजागर गर्न अवधारणा पत्र सार्वजनिक गरेका छौँ’, अध्यक्ष रेग्मीले भने, ‘शिक्षक सङ्गठनका तर्फबाट सार्वजनिक गरिएको देशमा नै यो अवधारणा पत्र पहिलो हो, यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा उठान गरेका छौँ, यसको कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई समेत बुझाउने योजना छ ।’ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रममार्फत अवधारणा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तयार गरिएको अवधारणा पत्र राम्रो रहेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समधान हुने उनीहरुको भनाइ छ । नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तीर्थकुमार राईले राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको बताए । राज्यले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दासमेत कम प्राथमिकतामा राख्ने गरेको धारणा राखे । राज्यले शिक्षामा लगानी बढाउनुपर्ने उनको भनाइ छ । ‘राज्यले शिक्षक तथा शिक्षा क्षेत्रलाई उपेक्षा गरेको छ’, अध्यक्ष राईले भने, ‘जहाँ गुरु वर्गको सम्मान हुँदैन, त्यस्तो अवस्थामा कसरी सभ्य समाज निर्माण हुन्छ, राज्यले यो क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ ।’ एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले आगामी निर्वाचनमा शिक्षा क्षेत्रका समस्यालाई समाधान गर्न दलहरुले घोषणापत्रमा समेटेर लैजानुपर्ने बताए । उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो पार्टीले पनि शिक्षकसँग छलफल तथा परामर्श गर्ने योजना रहेकोसमेत सुनाए । उनले शिक्षाको सुधारका लागि सबै राजनीतिक दलले शिक्षालाई पहिलो एजेण्डा बनाउनुपर्ने धारणा राखे । ‘अवधारणा पत्रमा उल्लेख भएका विषयवस्तु उत्कृष्ट छन्’, उपाध्यक्ष खड्काले भने, ‘यसको कार्यान्वयन तथा नीति निर्माणमा राजनीतिक पार्टीले भूमिका खेल्नुपर्छ, शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा तपाई हामी एकजुट भएर अघि बढ्न आवश्यक छ ।’ कार्यक्रमका अवसरमा बढुवा भएका चार शिक्षकलाई सम्मानसमेत गरिएको छ । बढुवा भएका ध्रुवराज रेग्मी, तीर्थकुमार राई, राजधन राई र सरिता तामाङलाई सम्मान गरिएको हो । सङ्गठनका तर्फबाट स्वास्थ्य उपचारका लागि सङ्गठनका पूर्वअध्यक्ष प्रकाशचन्द्र खतिवडालाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ । रासस

केपिलासगढी गाउँपालिकाले दियो एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

खोटाङ । केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरेका हुन् । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो । केपिलासगढीले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाका लागि छात्रबृत्ति प्रदान गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए। यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताए ।

‘टिबिसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । द ब्रिटिस कलेजले ‘टिबिसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो । यो वर्षको नारा ‘महिला उद्यमशिलता’ रहेको थियो । ब्रिटिस कलेजका सिइओ राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत मन्तन्य दिएका थिए। उनले रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाईले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए । प्यानल छलफल सेसनमा पूर्वमिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डा स्रुजना श्रेष्ठ (डर्माटोलोजिष्ट), डिजाइनर सिवाङ्गी प्रधान, द ब्यूउटीबारकी संस्थापक इत्छ्या कार्की रहेका थिए । प्यानल छलफललाई द ब्रिटिस कलेजकी प्रोगाम लिडर (पोस्टग्राजुयट बिजनेस र म्यानेजमेन्ट प्रोगाम) निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन् ।  ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक तथा सन् २०१५ को सिएनएन हिरो म्यागी डोयनले सामाजिक उद्यमशिलताबारे आफ्नो धारणा राखेकी थिइन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै द ब्रिटिस कलेजकी इएमबिए स्टुडेन्ट इन्टरप्रेनर तथा राष्ट्रिय व्यवसायिक महत्वपूर्ण व्यक्ति अवार्ड पनि प्राप्त गरेकी सुनिता शेर्पाले आफ्नो उद्यमी यात्राबारे बताएकी थिइन् । यस्तै, द ब्रिटिस कलेजकी बिजनेश स्कूल हेड सुनिता बस्नेतले महिलाहरुलाई व्यवसाय र सामाजिक उद्यमशिलतामा प्रोत्साहन र सहयोगगर्न प्रतिवद्ध रहेको कुरामा जोड दिइन् । कार्यक्रमहरुमार्फत रचनात्मक परिवर्तनका लागि पहल हुने कलेजले अपेक्षा गरेको छ ।