सामसङले नेपाली युवालाई प्राविधिक तालिम दिने, त्रिविसँग गर्यो सम्झौता

काठमाडौं । सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग सम्झाैता गरेको छ । सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने त्रिविसँग सम्झाैता गरेकाे हाे । उक्त सम्झाैतामा सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ, सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले हस्ताक्षर गरेका छन् । यस सम्झाैतालाई सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत रहेकाे छ । २०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस सामसङको ‘टुगेदर फर टुमोरो’ को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । यस अन्तर्गत सामसङले मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ । सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङले त्रिवि जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा सम्मानित महसुस गरेकाे बताएका छन् । ‘सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रमबजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं, उनले भने । यस्तै, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा शशिधर राम जोशीले सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू (आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स) इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइने बताए । उनका अनुसार पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्नेछ । इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छन् । यस तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने कम्पनीले जनाएकाे छ ।    

हुबहु प्रश्नपत्र निकाल्नेलाई त्रिविद्वारा कारवाही, नाम सार्वजनिक भने नगर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेका प्राध्यापकहरुमाथि कारवाही गरेको जनाएको छ । तर, सो घट्नामा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिल्ने त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविले विद्यार्थीको परीक्षामा अघिल्लो वर्षको परीक्षामा सोधिएको हुबहु प्रश्नपत्र निकाल्ने प्राध्यापकलाई कारबाही गरिएको जनाएको हो । विषय संवेदनशील भएकाले नाम सार्वजनिक गर्न नमिल्ने उपकुलपति बाँस्कोटाले बताएका छन् । हुबहु प्रश्नपत्र प्रकाशन गर्ने प्राध्यापकहरुलाई तीनवर्षसम्म पठनपाठन र परीक्षाका काममा रोकिएको र उनीहरुलाई विभागीय कारबाही गरिएको उपकुलपति बाँस्कोटाको भनाइ छ । सुरक्षाको खतर हुने भएकाले नाम सार्वजनिक नगरिएको उनले बताइएका छन् ।

तोडफोडका साथै पदाधिकारीलाई धम्क्याइएको भन्दै त्रिविले सरकारसँग माग्यो सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो । विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा वारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ । पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गरेको विज्ञप्तिमा उल्लेख छ । ‘केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक काम–कारबाही रोकिएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी विश्वविद्यालयलाई बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिवि केन्द्रीय कार्यालयमा शान्ति सुरक्षा गर्न भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयसमक्ष विश्वविद्यालय अपिल गर्दछ ।’ प्रत्येक नागरिक तथा व्यक्तिको सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानुनले प्रत्याभूत गरेको संवैधानिक तथा कानुनी हकको विपरीत हुने गरी कानुन आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीप्रति दुव्र्यवहार गर्ने कार्यले त्रिविको नियमित काम प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।