मुहार फेरिएको बाग्लुङ नगरपालिका रायाडाँडाको महाविद्याजन माध्यमिक विद्यालय
बाग्लुङ । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले जानकारी दिए । ‘२०५३ सालमा डिसिआरडिसी संस्थाले बनाएको १० कोठे भवन भूकम्पले पूरै क्षति पु¥यो, एक कक्षा देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा छकोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाइ चलाइयो’, प्रधानाध्यापक केसीले भने, ‘विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले आठ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठा गरी १२ कोठा मात्रै विद्यालय भूकम्पपछि पुनःनिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठनपाठन भइरहेको छ ।’ भौगोलिकरुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भए पनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदानसहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ । विसं २०७२ पछि भूकम्पले विद्यालयमा क्षति पुर्याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय भूकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ । विसं २०५३ मा निर्माण भएको १० कोठे भए पनि भूकम्पले पूरै क्षति बनाएको थियो । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाअन्तर्गत रु एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार/चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालय नै खारेज भइसकेको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुई कोठा भवन १८ लाखको लागत आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा दुई कोठा आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक केसीले बताए। विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षासमेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुनःनिर्माण सकिएको बताउँदै बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताए। ‘मेरो पहिलो कार्यकालदेखि थालिएको पुनःनिर्माण अहिले दोस्रो कार्यकालमा पूरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसाबले अध्यापन गराउने लक्ष्य छ’, गौतमले भने, ‘विद्यालयमा प्रार्थना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।’ विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको गौतमले बताए । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थीसमेत छन् । रासस ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु गरेको छ । कच्ची अवस्थामा सञ्चालित विद्यालयमा पठनपाठनका गर्नुपर्ने भएकाले छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाले चालु वर्ष २०७८/७९ मा रु ९० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै (४८ वटा) सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने योजना नवनिर्वाचित जनप्रतिनिधिले गाउँसभाबाट पारित गरेको छ । लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान शुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन् । ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई विस्थापित गर्दै भुँइमा ढलान तथा भित्तामा प्लाष्टर गर्ने योजना बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताए । ‘धुलोरहित विद्यालय बनाउन गाउँपालिकाले हरेक विद्यालयमा प्राविधिक टोली खटाएको छ । प्राविधिक टोलीले विद्यालयको भौतिक अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन दिन्छ’, उनले भने, ‘प्राविधिकले दिएको प्रतिवेदनको आधारमा गाँउपालिकाले बजेट व्यवस्थापन गरेर सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।’ सात वडा रहेको गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयको भवन अव्यवस्थित तथा पुरानो भएर जीर्ण बनेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा धुलो र फोहरका कारण विद्यार्थी पटक–पटक समस्यामा पर्दै आएका शिक्षकले बताउने गरेका छन् । कक्षाकोठामा धुलो र फोहर हुँदा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने र विद्यार्थीलाई पढ्ने वातावरणसमेत नहुने भएकाले गाउँपालिकाले सबै विद्यालयका कक्षाकोठा सुधार गर्न थालेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए। ‘धुलाम्मे विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान सुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन्’, उनले भने, ‘गाउँपालिकाको यो अभियानले शैक्षिक सुधारमा केही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित ४८ सामुदायिक विद्यालयमा चार हजार सात सय ५२ विद्यार्थी अध्ययनरत रहेका छन् । चौधवटा मावि, पाँचवटा आधारभूत (निमावि) र २९ वटा पूर्व प्राथमिक (कक्षा–५ भन्दामुनि)का विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका अन्य स्थानीय तहलेसमेत आ–आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने अभियान सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा धुलोरहित बनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि एेंसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई धुलोरहित बनाएको थियो । ऐसेलुखर्कमा ४३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सत्ताइस प्रावि, आठवटा आधारभूतर आठ माध्यमिक विद्यालय सञ्चालनमा रहेको उक्त गाउँपालिकाका माध्यमिक तहमा इ–लाइब्रेरीसमेत जडान गरेर सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले आठवटा माविमा तीन हजार दुई सय पुस्तक भएको एक÷एक वटा इ–लाइब्रेरी स्थापना गरेर सञ्चालनमा ल्याएको हो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयको पठनपाठन कच्ची भवनको धुलाम्मे कक्षकोठामा सञ्चालन हुँदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ मावि, ६७ निमावि र तीन सय ३० आधारभूत गरी चार सय ९३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।
कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ३० हजार ८७८ परीक्षार्थी सहभागी हुन पाउने छन् ।बोर्डका उपाध्यक्ष डा शर्माले भने, ुयस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।ु दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको थियो । यस वर्ष नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।