काठमाडौंमा ४० भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहेको ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु
काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिवारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन् । आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै सो एक्स्पो सञ्चालन गरिएको आयोजकले जनाएको छ । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ । दुई दिनसम्म संचालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै उक्त एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए । भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।
विद्यार्थीको हब बन्दै काठमाडौं मोडेल कलेज, भब्य भवनमा गज्जब पढाइ
काठमाडौं । काठमाडौं उपत्यकाभित्र सरकारी र गैरसरकारी स्वामित्वमा सञ्चालित सयौं स्कुल तथा कलेजहरु छन् । अधिक जनसंख्याका कारण सबै स्कुल तथा कलेजमा विद्यार्थीको चापमा कमी छैन । तर, एसईई दिएर बसेका मुलुककै विद्यार्थीको केन्द्र बन्न सफल भएको छ, काठमाडौं मोडेल कलेज । काठमाडौंको केन्द्र बागबजारमा रहेको काठमाडौं मोडेल कलेजको कक्षा ११ र १२ तहमा अहिले ४ हजार विद्यार्थीले पढ्छन् । सो कलेजमा पढ्ने विद्यार्थीले विज्ञान, मानविकी, व्यवस्थापन र कानून संकाय रोजेर पढ्न पाउँछन् । सन् २००० मा स्थापना भएको सो कलेजले सन् २०१९ सम्म ३ वटा संकायमा मात्रै अध्यापन गर्ने गरेकोमा त्यसपछि कानून संकाय पनि थप गरेर अध्यापन शुरु गरेको छ । स्थापनाकालदेखि नै कलेजले नेपालको शैक्षिक क्षेत्रमा आफुलाई अब्बल स्थानमा राख्न सफल हुँदै आएको छ । कलेजले सबै शैक्षिक वर्षमा कुल विद्यार्थी संख्याको औसत २५ प्रतिशत विद्यार्थीहरुलाई ए प्लस लेबलमा पास गराउन सफल भएको छ । सो कलेजमा पढ्नको लागि प्रवेश परीक्षामा कलेजले नै धान्न नसक्ने संख्यामा विद्यार्थी आउने गर्दछन् । ग्रेडिङ लागू नभएको समयमा कक्षा ११ र १२ पढेर उत्तिर्ण भएका विद्यार्थीहरुको तथ्यांक हेर्ने हो भने सन् २००१ देखि २०१६ सम्म ९२ प्रतिशत भन्दा धेरै विद्यार्थीहरु औसतमा उत्तिर्ण भएका थिए । जसमध्ये सन् २००७ मा सतप्रतिशत विद्यार्थी नै कक्षा १२ मा उत्तिर्ण भएका थिए । सन् २०१७ यताको शैक्षिक सत्रहरुमा पनि कलेजबाट वर्षेनी दर्जनौ विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । कलेजले विज्ञापन गर्देन, नतिजाले विज्ञापन गर्छ काठमाडौं उपत्यकामा सयौंको संख्यामा कलेजहरु रहेका छन् । आफ्नो कलेजमा विद्यार्थीहरु आकर्षण गर्नको लागि प्रायजसो सबै कलेजले ठुलो धनराशी खर्च गरेर विभिन्न माध्यममार्फत विज्ञापन गर्ने गर्छन् । तर, काठमाडौं मोडेल कलेज यसको अपवाद भएको छ । उसले विज्ञापनमा भन्दा पनि शिक्षाको गुणस्तरमा विश्वास गर्छ । पास भएका विद्यार्थीहरुले बाहिरी शैक्षिक क्षेत्र र अन्य क्षेत्रमा देखाएको क्षमताले नै कलेजको स्वभाविक प्रचार गरेको साे कलेजका प्रिन्सिपल डा. नागेन्द्र बहादुर अर्यालको भनाइ छ । ‘हाम्रो कलेज पढेर गएका विद्यार्थीको बजारमा छुट्टै विशिष्ट पहिचान छ,’ डा. अर्यालले भने । कलेजबाट पास भएर गएका धेरै विद्यार्थीहरुले विदेशका प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्ने गरेको प्रिन्सिपलको भनाइ छ । सो कलेजबाट पछिल्लो वर्ष कक्षा १२ पास गरेका ३ जना विद्यार्थीले विदेशका विश्वविद्यालयमा २० करोड बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् । त्यस्तै सोही कलेजको कक्षा १२ पढ्ने विद्यार्थी विकल्प पन्थी यहि जुलाईमा हुन लागेको म्याथको विश्वकपमा सहभागी हुन छनोट भएका छन् । ‘हामीले विज्ञापन गर्ने लगानी बरु विद्यार्थी र कलेजको गुणस्तरका निमिक्त खर्च गर्ने गर्छौं,’ कलेजका चिफ को–अर्डिनेटर मुक्तिराम अर्यालले भने, कलेज पढेर गएका विद्यार्थीहरुले नै कलेजको सकरात्मक पक्षको विषयमा अन्यलाई जानकारी दिँदा नै कलेजमा आउने विद्यार्थीको संख्या धेरै हुने गरेको छ ।’ ‘कलेजमा क्षमताअनुसारको भर्ना लिनुपर्ने हुन्छ तर, भर्नाको समयमा धेरै विद्यार्थीहरु यहीँ पढ्ने चाहना गरेर आउनुहुन्छ, त्यसलाई थेग्न निकै गाह्रो हुने गरेको छ,’ चिफ को– अर्डिनेटर अर्यालले भने । साे कलेजमा सुविधा सम्पन्न भौतिक संरचना, खेलकुद मैदान, पुस्तकालय र प्रयोगशाला, प्रोजेक्टर जडित उज्याला र सफा कक्षाकोठा, सुविधासम्पन्न सेमिनार हल रहेको छ। पढाइलाई आवश्यक अनुसार कक्षा संचालन गर्न कलेजले थ्रिएटर बेस, स्टेप बाई स्टेप र ग्रुप डिस्कसन गरी तीन प्रकारको कक्षा कोठा बनाएको छ। यी सुविधाले समेत अहिलेको आधुनिक समयमा विद्यार्थीलाई थप आकर्षित गर्न सहयोग पुर्याएको छ । कलेजले दशैंमा ८ दिन मात्रै विदा दिएर शनिवार समेत आवश्यकताको आधारमा अतिक्ति कक्षा सञ्चालन गरेर अध्यापन गर्ने काम गर्दै आएको छ । ‘विद्यार्थीले पढ्नुपर्छ, हामीले हाम्रो ठाउँबाट गर्छौं भन्ने कुरालाई स्थापित गरेका छौं, कक्षा ११ र १२ भनेको विद्यार्थीको फाउन्डेसन तयार गर्ने तह हो त्यसैले हामीले मेहनत गर्नुपर्छ भन्नेमा पनि हामी सबैको एक बुझाई रहेको छ । यहाँ पढ्न पठाएपछि अभिभावकले पनि पूर्ण रुपमा विश्वास गर्नुे अवस्था रहेको छ,’ प्रिन्सिपल डा. अर्यालले भने । काठमाडौं मोडेल कलेजले कक्षा ११ र १२ बाहेक स्नातक र स्नातकोत्तर तहको समेत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो तहको नेतृत्व सुरेन्द्र सुवेदीले गर्दै आएका छन् । सो तहमा पनि विद्यार्थीको आकर्षण धेरै रहेको देखिन्छ । कक्षा पास भन्दापनि विद्यार्थीको भविष्य प्राथमिकतामा राखेर पढाउँछाैं – डा. अर्याल हामीले गुणस्तरीय शिक्षाद्वारा शैक्षिक विशिष्टताको नारालाई शुरुवातदेखि नै अगाडि सारेर अध्यापन गर्दै आएका छौं । कलेजले सफलता प्राप्त गर्नुमा मुख्य गरेर दुइवटा कुरा महत्वपूर्ण रहेका छन् भन्ने मलाई लागेको छ । यो मैले गरेको अनुभव पनि हो । जसमध्ये एउटा शैक्षिक अनुशासन हो । शैक्षिक अनुशासन विद्यार्थीलाई मात्रै लागु नभएर शिक्षक, प्रशासन, विद्यार्थी र अभिभावक सबैलाई लागू हुन्छ । सबैले यसमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याएर मात्रै हामीले नतिजा हासिल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । सोही मान्यतालाई सही ढंगले कार्यान्वयन गर्दा नै हामीले सफलता हासिल गरेका हौं भन्ने लाग्छ । काठमाडौं मोडेल कलेजमा अनुशासनको निकै कडाइ छ र सोही कारणले सफलता हासिल गरेको हो भन्ने पनि बाहिर सुनिन्छ । तर, त्यसो होइन । कडाइ भन्नु र शैक्षिक अनुशासन भन्नु फरक विषय हो । विद्यार्थीको आकर्षण भनेको कलेजले व्यवस्था गरेको शुल्क संरचना पनि हो । हामीले नयाँ प्रकारको शुल्क संरचना कायम गरेका छौं । हामीले यहाँ पढ्ने कुनै पनि विद्यार्थीलाई शुरुमा छात्रवृत्ती वा कुनै पनि नाममा वार्षिक वा कक्षागत शुल्कमा छुट प्रदान गर्दैनौ । हामीकहाँ शुल्क छुट पाउने वा छात्रवृत्ति प्राप्त गर्नको लागि सबै विद्यार्थीलाई खुल्ला छ । जसको लागि कलेजले ३/३ महिनाको प्याकेज बनाएको छ । विद्यार्थीले गर्ने प्रगति र उसले आन्तरिक परिक्षाहरुमा प्राप्त गर्ने जिपिएको आधारमा शुल्क छुट वा छात्रवृत्तिको सुविधा प्राप्त गर्न सक्छन् । तर, सो प्रतिस्पर्धामा अब्बल हुन नसक्नेको खोसिने कुरा पनि हुन्छ । यो विषय पनि कलेजमा विद्यार्थी आकर्षणको अर्को महत्वपूर्ण विषय हो । हामीले कक्षा ११ र १२ राष्ट्रिय परिक्षा बोर्डले तय गरेको पाठ्यक्रम अनुसार नै अध्ययन अध्यापन गराउने र परिक्षा लिने काम गर्छौं । सो क्रममा विद्यार्थीलाई सम्बन्धित विषयवस्तुमा पढाएर पास मात्रै गराउने भन्दापनि विद्यार्थीको चाहनाअनुसार भविष्यको अध्ययनको लागि योग्य बनाउनुपर्छ भन्ने मान्यता राखेका छौं । त्यसको लागि नियमित कक्षाको अलावा हामीले विद्यार्थीलाई अतिरिक्त कक्षा उपलब्ध गराउने काम गर्दछौं । विद्यार्थीलाई नियमित रुपमा उच्च गुणस्तरको काउन्सिल उपलब्ध गराउँछौं । जसमा विद्यार्थीको करिअर हेरेर गाइड गर्ने काम हुन्छ । भविष्यमा एमबिबिएस, इन्जिनियर वा अन्य के विषय पढ्न चाहेका छन् सो अनुसार बिना शुल्क अतिरिक्त कक्षा ११ र १२ दुबैमा सञ्चालन गर्ने गर्दछौं । यस्तो कक्षा हप्तामा १ दिन सञ्चालन हुन्छ । सोही कारण एमबिबिएस र इन्जिनियरिङको प्रवेश परिक्षामा हाम्रो कलेजबाट उत्तिर्ण भएर गएका विद्यार्थीहरु नै अहिलेसम्म नाम निकाल्ने मध्ये धेरै छन् । हामीले पढ्ने वातावरण र भौतिक संरचनालाई पनि राम्रोसँग ध्यान दिएका छौं । एउटा कक्षामा ४२ देखि ४८ जना सम्म विद्यार्थी राखेर पढाउने गर्दर्छौं । प्रोजेक्टरबाट अडियो र भिजुअल प्रविधिको प्रयोग गरेर पढाउने गर्छौ। अध्यापनको क्रममा व्यत्तिगत केयरलाई हामीले निकै प्राथमिकता दिने गरेका छौं । कमजोर विद्यार्थीलाई थप जोड दिएर अध्यापन गर्ने काम गर्ने गर्छौ। विद्यार्थीको सिर्जनशिलतामा अभिवृद्धि हो होस् भन्ने हेतुले विषयगत आधारमा विद्यार्थीहरुको क्लब बनाइएको छ । ती कल्बमार्फत् विद्यार्थीहरुले नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने गर्छन् ।
सनराइज बैंकले बर्दिबासका विपन्न बालबालिकालाई वितरण गर्यो शैक्षिक सामग्री
काठमाडौं । सनराइज बैंकले बर्दिबासका ५० जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । उक्त सामाग्री बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी गरे ।