बस्तीका शतप्रतिशत मुसहर समुदायका बालबालिका विद्यार्थी भर्ना
जनकपुरधाम । घरदेखि करिब दुई सय मिटरको दूरीमा छ स्कुल तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ पातोका १० वर्षीय किसनकुमार सदा विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आएको अपमानजनक व्यवहार र चेतनाको आभावमा विद्यालय नगएर घरको काममा आफ्ना बुबाआमालाई सघाउँदै आएका थिए, तर स्थानीयवासी युवा र महिलाको लामो प्रयास पश्चात अहिले विगत एक वर्षदेखि उनी नियमित स्कुल जान थालेका छन् । बाह वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका स्थानीयवासी ब्रह्मकुमार सदा पनि अहिले एक वर्षदेखि विद्यालय जाँदैछन् । स्थानीय जनता मावि तरहीको कक्षा ३ मा पढ्दै आएका सन्तोष र अशोकले अगुवा युवा तथा महिलाको सक्रियतामा आफूहरुले विद्यालयसम्म पुगेको बताएका छन् । हरुवाचरुवा परिवारका युवा र महिला सङ्गठित भएर अभियान चलाएपछि सन्तोष र अशोक मात्र होइन्, शिक्षाको उज्यालो घामबाट वञ्चित सो बस्तीका ३० बालबालिका एकै पटक स्कुल भर्ना भएर पढ्न थालेका छन् । ‘मुसहर बस्तीका हामी सबै प्रत्येक महिनामा एक पटक बैठक बस्छौंँ’, स्थानीय युवा तथा समाजिक अभियानकर्मी नरेश सदाले भने, ‘त्यही बैठकबाट सबै अभिभावकलाई विद्यालय जाने उमेरका आफ्ना बच्चालाई अनिवार्य विद्यालय पठाउनुपर्ने निर्णय गर्छौ ।’ दलित समुदायमा पनि सबैभन्दा पछाडि परेको मुसहर समुदायका बालबालिका स्कुलसम्म पुगेपछि पूरै बस्ती नै पूर्ण साक्षर हुने बाटोमा अघि बढ्को स्थानीयवासीले बताएका छन् । सामाजिक, आर्थिक र शैक्षिकलगायत सबै क्षेत्रमा पछाडि परेको हरुवाचरुवा मुसहर समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन धेरै मेहनत गर्नुपरेको सामाजिक क्षेत्रमा क्रियाशील श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरी बताउँछन् । ‘सुरु सुरुमा चेतनाको आभावमा मुसहर समुदायका अभिभावक बच्चालाई विद्यालय पठाउनै नमान्दैनथे’, टिम लिडर चौधरीले भने, ‘तर नियमित रुपमा हामीले स्थानीयस्तरमा हरुवाचरुवा नगर सञ्जाल बनाएर सङ्गठित रुपमै दबाब दिएपछि बल्ल अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउन मञ्जुर भएका छन् ।’ मुसहर बस्तीका विद्यार्थी स्कुल जान थालेपछि अभिभावकसमेत उत्साहित बनेको उनको भनाइ छ । करिब दुई सय घरपरिवार रहेको मुसहर समुदायबाट पहिला मुस्किलले दुई/तीन बालबालिका मात्र विद्यालय आउने गरेकामा पछिल्लोे वर्षदेखि सो बस्तीका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको जनता माविका शिक्षक पुलकित मुखियाले बताए । द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित हरुवाचरवा सशक्तिकरण अभियानअन्तर्गत गठित बाबा डिहबार हरुवाचरवा परिवारमा आवद्ध भएर स्थानीयवासी सामाजिकसँगै आयआर्जनको बाटोमा समेत अघि बढेको छन् । छुवाछुत र भेद्भावलाई छाडेर सो गाउँका हरुवाचरुवा मुसहर परिवारका सदस्य अहिले बस्तीको विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएका छन् । ‘छुवाछुत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन्’ स्थानीय युवा राजेश चौधरीले भने, ‘समाजमा उच निचको कुरा गर्नुहुदैन् भन्ने हामीमा ज्ञानको विकास भयो ।’ समूहमा महिला र पुरुष सबैलाई सहभागी गराएर एकापसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि स्थानीयमा सरसफाइ र बालबालिकालाई विद्यालय पठाउनुपर्छ भने सोचको विकास भएको हरुवाचरुवा नगर सञ्जालका अध्यक्ष मधु सदाले बताए । रासस
सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्ने लिखित प्रतिबद्धता
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअहरुले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् । शिक्षामा परिवर्तन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले शिक्षा सुधारसम्बन्धी चारदिने अभिमुखीकरणमा सहभागी गराएर प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा ध्यानदिन उनले निर्देशनसमेत दिएका छन् । अध्यक्षले शिक्षा नियमावलीको नियमावली २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिका विद्यालय आउनेजाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मतसम्भारमा जोड दिने, शिक्षक र विद्यार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ, विद्यार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीयस्तरमा स्रोतको पहिचान, सङ्कलन र उपयोगमा वृद्धि गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाएका हुन् । प्रअहरुले वार्षिक कार्ययोजना र शैक्षणिक कार्ययोजनाको निर्माण/कार्यन्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, बिहान ठीक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने, अनुपस्थित विद्यार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्याल परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण, जरुरी कामबाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकको सहभागितामा छात्रवृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावकलाई बुझाउनेलगायतका १७ बुँदामा प्रतिबद्धता जनाएका हुन् । नगरपालिका र विव्यास अध्यक्ष तथा प्रअसँग भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईं, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललगायतको उपस्थिति थियो । प्रतिबद्धता जनाउनुअघि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म अध्यक्ष र प्रअलाई शिक्षा सुधार अभियन्ता डा तोयानाथ खनाल र माधवप्रसाद अधिकारी ए तथा शैक्षिक उत्प्रेरक माधवप्रसाद अधिकारी बिले विद्यालय शिक्षा सुधारका विषयमा सहजीकरण गरेका थिए । पहिलो दिन २१ मावि, १४ निमाविका प्रअ र १५ वडाकै वडाध्यक्ष, दोस्रो दिन आधारभूत विद्यालय १–५०का ५८ प्राविका प्रअ, तेस्रो दिन मावि र निमाविका ३५ विव्यास अध्यक्ष र चौथो दिन आधारभूत विद्यालय ९१–५० का ५८ जना विव्यास अध्यक्षसँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चारदिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । रासस
कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै
कञ्चनपुर । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका छौंँ’ उनले भने,’कम्तीमा पनि प्रत्येक सामुदायिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी स्थायी शिक्षकले पाउनुपर्छ भन्ने मान्यता थियो, त्यो पूरा भएको छ ।’ निजी विद्यालय र सामुदायिक विद्यालय बिचको पठनपाठनलाई एकरुपता ल्याउन एउटै कार्यतालिका बनाइ लागू गर्ने तयारी गरिएको छ । तिहारपछि कार्यतालिका बनाएर लागू गर्न शिक्षा शाखालाई निर्देशन दिइसकिएको नगर प्रमुख ओझाको भनाइ थियो । प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि ई हाजिरी जडान गर्न लागिएकोे उनले बताए । ‘ई हाजिरीका लागि १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । विगतमा भन्दा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तीन गुणा बढी बजेट विनियोजन गरेका छौँ’ नगरप्रमुख ओझाले भने, ‘पाँच वर्षभित्र शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएका छौँ ।’ आर्थिक स्रोत अभावले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्नका लागि छात्रवृत्ति वितरण कार्यलई वस्तुगत बनाइ गरिब र जेहन्दार समूहलाई केन्द्रित गरी मेयर गैरआवासीय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत टुहुरा, असहाय, अति विपन्न, लोपोन्मुख, जाती, गरिब, जेहन्दार, मुक्तकमलरी तथा दलित, अपाङ्गत भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने छ । ‘सामुदायिक विद्यालयका छात्रालाई निःशुल्करुपमा स्यानीटरी प्याड उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ’ सूचना अधिकारी बोगटीले भने, ‘विद्यालय, शिक्षक, विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालयको भौतिक संरचना सुधारको कार्य अगाडि बढाइएको छ, प्रारम्भिक बालविकास केन्द्रलाई आधुनिकरण गरी प्रभावकारी रुपमा सञ्चालन एवं व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’ नगरपालिकाभित्र सञ्चालित विद्यालयमा प्राविधिक विषय अध्ययन गर्दा कृष्णपुरवासीका लागि १० प्रतिशत आरक्षण, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदानको व्यवस्थाका साथै प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन योजना बनाइएको छ । विद्यालयमा शैक्षिक सामग्रीको अभाव पूर्ति, भौतिक पूर्वाधार सुधार, आधुनिक प्रयोगशालाको व्यवस्था, पुस्तकालय स्थापना, फर्निचरको व्यवस्था र खेलकुद सामग्रीको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्था गरिएको उनको भनाइ थियो । रासस