६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !
तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् । रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उनले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् । ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुप¥यो’, उनले भने, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’ आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन् । ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले विगत सुनाए । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन् । त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन् । उनले बिहान र बेलुकाको समयमा घरको काम भ्याउछन् । उनले दिउँसोको समयको सदुपयोग गरिरहेका छन् । ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु’, रिमबहादुरले भने, ‘दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।’ आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन् । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ’, रिमबहादुरले भने, ‘त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’ रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उनले बताए । ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, लालमतीले भने । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ । रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन् । अहिले विस्तारै सबै बानी परेका छन् । ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो’, प्रधानाध्यापक खत्रीले भने, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’ रासस
स्नातक पढ्न म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दियो ६ लाखको छात्रवृत्ति
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध गराएको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले ३२ जनाले आवेदन पेश गरेकामा छात्रवृत्ति निर्धारण समितिको असार १९ गतेको बैठकले २७ जनालाई छनोट गरेको जानकारी दिए । ‘गाउँपालिकाका सामुदायिक विद्यालयमा तीन–चारपटकसम्म विज्ञापन गर्दासमेत विद्यार्थी नपाउने समस्या आएपछि उच्च शिक्षाका लागि छात्रवृत्ति दिने कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘रघुगङ्गा गाउँपालिका स्थायी ठेगाना भएर गाउँपालिकाभित्रकै विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीले छात्रवृत्ति सुविधा पाउँछन् ।’ बेनीको म्याग्दी बहुमुखी क्याम्पसका २१, पोखराको पृथ्वीनारायण क्याम्पसका तीन, पोखराको लक्ष्मी आदर्श बहुमुखी क्याम्पस, उदयपुरको प्राकृतिक व्यवस्थापन कलेज र नमूना मच्छिन्द्र क्याम्पस ललितपुरका एक–एक जनाले छात्रवृत्ति पाएका हुन् । आवेदन पेश गरेका पाँच जनाले गाउँपालिका बाहिरका विद्यालयबाट एसइई उत्तीर्ण गरेकाले छनोटमा नपरेका हुन् । प्रतिविद्यार्थी क्याम्पसको वार्षिक शुल्क पाँच हजार ९०५ देखि २८ हजार ५०० सम्म छात्रवृत्ति पाएका छन् । विसं २०७९ जेठ २६ देखि असार ५ गतेसम्म आवेदन माग गरिएको थियो । गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७७ अनुसार एक जनाले अधिकतम वार्षिक ४० हजारसम्म छात्रवृत्ति पाउने व्यवस्था छ । क्याम्पसको शुल्क र कार्यविधिमा उल्लेखित रकम जुन कम छ सोहीअनुसार उपलब्ध गराइने शिक्षा अधिकृत सुवेदीले बताए । विसं २०७७ मा बनेको कार्यविधिलाई रघुगङ्गाले पहिलोपटक कार्यान्वयन गरेको हो । रघुगङ्गा गाउँपालिका उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने म्याग्दीको पहिलो स्थानीय तह बनेको छ । कार्यक्रमलाई निरन्तरता दिन आगामी आव २०७९/८० का लागि १० लाख बजेट विनियोजन भएको छ ।
मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिए कारबाही गर्छौं : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गरे । उनले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने सांसद्हरुको भनाइमा सहमत हुँदै विश्वविद्यालयको पढाइ र शैक्षिक क्यालेण्डरलाई प्रभावित पार्न नहुने जनाए ।