झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने
झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । निम्न आय भएका बुहारीहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कार्यक्रम शुरु गरिएको उनको भनाइ छ । छात्रवृत्तिका लागि बुहारीहरुले बिवाह दर्ताको प्रमाणपत्र, निम्न आय भएको सिफारिस र निवेदन पेस गर्नुपर्नेछ । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए । क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले नगरपालिकासँग मासिक शुल्क तिर्ने गरी निवेदन माग गरिएको बताए। उनका अनुसार छात्रवृत्तिका लागि करिब एक सय बुहारीहरुले निवेदन पेस गरेका छन् । नगरपालिकाका प्रमुख सुवेदीले यसवर्ष बुहारी र अर्को वर्ष छोरीका लागि छात्रवृत्ति प्रदान गरिने बताए ।
माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम नेपालमा शुरु
काठमाडौं । माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम शुरु गरेको छ । आइसिटी अवार्डसँगको सहकार्यमा शुक्रबार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम शुरु गरेको हो । शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० बढी देशमा सफलतापूर्वक शुरु भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा शुरु गरेको माइक्रोसफ्टले जनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पु¥याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरे । त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । उक्त कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आवद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए । त्यस्तै, कार्यक्रममा माइक्रोसफ्ट एजुरे बारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गरेका थिए । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आईडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ, सिमाबिहिन र महत्वकांक्षी परियोजना हो । यसले स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्ने गर्ने छ । फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिङ्कडीन क्रेडिट लगायतको सुविधा पाइने छ । यसका साथै फाउन्डर्स हबमा आवद्ध भएका आईडियाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव समेत पाउने मानन्धरले जानकारी दिएका छन । फाउन्डर्स हब कार्यक्रममा आवद्ध हुन सफ्वेयरमा आधारित प्रडक्ट तथा सेवा हुनुपर्ने, प्राइभेट हुनुपर्ने र प्रफिट बिजनेस हुनुपर्नेछ । शैक्षिक संस्था, सरकारी इन्टिटी, व्यक्तिगत ब्लग, डेभसप, कन्सल्टेन्सी, एजेन्सी, बिटक्वाइन वा क्रिप्टो माइनिङ कम्पनी यस कार्यक्रममा सहभागी हुन पाउने छैनन् । यसअघि माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा आवद्ध नभएका स्टार्टअप सहभागी हुन सक्ने छन् । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जिनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआर कार्यक्रममा माइक्रोसफ्टले इकोसिस्टम पार्टनरको रुपमा सहकार्य गरेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले २३ डिसेम्बर २०२२ मा द सोल्टी काठमाडौंमा आयोजना भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । माइक्रोसफ्टसँगको सहकार्यले नेपालको स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण सहयोग पुग्ने उनको भनाई छ ।
एसपीए कलेज : जसले जन्माइरहेको छ बैंकर
धनगढी । पछिल्लो समय आम–युवाहरुको रोजाइको विषय बनेको छ प्रति बैंकिङ पेशा । आकर्षक तलब सुविधा र आम जनमासनप्रतिको हेर्ने दृष्ट्रिकोण पनि उच्च रहेकै कारण पनि धेरैको रोजाइको विषय बनेको छ बैंकिङ । तिनै बैंकर बन्न चाहनेहरुको सपना पुरा गर्न लागेको छ कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम एकेडमी (एसपीए) कलेज । अहिले एसपीए कलेजका विद्यार्थी नेपाली अधिकांश वाणिज्य बैंकहरुमा कार्यरत छन् । चित्रान्जन चन्द मेघा बैंक धनगढी शाखामा सिनियर असिस्टेन्टका रुपमा रिलेसनसिप अफिसर पदमा कार्यरत छन् । उनी एसपीए कलेजबाट स्नातक (२०७१) र स्नातकोत्तर (२०७५) पासआउट हुन् । आफ्नो करिअर विकासमा कलेजको भूमिका अहम रहेको उनी बताउँछन् । शिक्षकहरुको गाइडेन्स र मेहनतले आफूले बैंकिङ करिअर पूरा गर्न पाएको उनले बताए । ‘करिअर सेपअप गर्न कलेजको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने, ‘हामीलाई तयारी गर्ने क्रममा आवश्यक सुझाव सल्लाह देखि कलेजमा आवश्यक पर्ने सबै विषयहरुमा सरहरुले सहयोग गर्नुभयो ।’ यस्तै एसपीएका पूर्व विद्यार्थी दीपेन्द्र अवस्थी राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धक पदमा कार्यरत छन् । उनी जस्तै धनगढी हरेकजस्तो बैंकमा एसपीएका विद्यार्थीहरु कार्यरत छन् । धनगढीमा मात्रै दुई दर्जन बढी विद्यार्थीहरु विभिन्न बैंकमा कार्यरत रहेका छन् । ग्लोबल आईएमई बैंकमा गणेश बहादुर खडायत, नेपाल बैंक लिमिटेडमा कुशल खड्का, राष्ट्रिय वाणिज्य बैंकमा मनिषा जोशी, पूर्णसिंह ऐर सिद्धार्थ बैंकमा, कृष्णा जोशी कुमारी बैंकमा कार्यरत छन् । त्यसबाहेक चक्र कुन्जेडा र महासिंह कुन्जेडा कृषि विकास बैंक, शान्ति जोशी र महेश्वरा बोहरा नेपाल बैंक लिमिटेड, तेजु रोकाया सिभिल बैंक, हेम रोस्यारा एभरेष्ट बैंक, लक्ष्मी महतरा एनआईसी एसिया, अनिल शाही एनसीसी बैंकमा कार्यरत छन् । उनीहरुसँगै दिनेश ओझा ग्लोबल आईएमई बैंक, सुनिल पडाल सिद्धार्थ बैक, हरी बुढा कृषि विकास बैंक, श्वेता थापा एभरेष्ट बैंक, आश्मा श्वार नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छन् । त्यसबाहेक एसपीएमा विद्यार्थीहरु दिव्या अधिकारी, हेमराज ओझा, ललित भट्ट, राहुल अहिर, सुदीप जोशी, कैलाश भण्डारी, शम्भु अवस्थी, बसन्ती भण्डारी पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले धनगढी तथा आसपासका बैंक तथा वित्तीय संस्थाहरुमा पाइलापिच्छे एसपीएका विद्यार्थी भेटिनु संस्थाका लागि गर्वको कुरा भएको बताए । ‘म यहाँका जुनसुकै बैंकमा गएपनि हाम्रा विद्यार्थीहरु भेटिनुहुन्छ । हार्दिकभावले प्रस्तुत बन्नुहुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ । त्यसैको उदाहरण यो हो ।’ बैंक तथा वित्तीय संस्थासँगसँगै एसपीएका बीएचएमका विधार्थीहरु दुबई, बहराईन, भारतलगायत नेपाल विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् । त्यसबाहेक यहाँका शैक्षिक संस्थाहरुमा एसपीएमै बीएड र एमएड गरेको शिक्षकहरु, सरकारी कार्यालयमा एसपीएका विद्यार्थीहरु भेटिनु संस्थाका लागि गर्वको कुरा भएको उपाध्यायले बताए । एसपीएले आफ्ना विद्यार्थीहरुलाई पढाईसँगसँगै करिअर अघि बढाउन नबिल एसईई कार्यक्रम लागू गरेको छ । नबिल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुलाई उद्यमशील बनाउँन उक्त कार्यक्रम लागू गरिएको हो । यस्तै, विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा सहयोग गर्ने उदेश्यले कलेजले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ ।