पोखरा विश्वविद्यालमा बिएएलएलबी पढाई शुरु हुने

पोखरा । पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन शुरु गरेको छ । एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने र शिक्षण शुल्क करिब चार लाख रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ । यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानूनी अध्ययनका लागि विष्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने विश्वास लिइएको छ । यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् । यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुङ्गेपाटनमा सञ्चालन हुने ढकालले जानकारी दिए ।

मत बदरको संख्या घटाउने उदेश्यले ट्रिटन कलेजमा गरियो नमुना मतदान

काठमाडौं । मतदाता शिक्षा कार्यक्रमअन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो । क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आर. सि.ले बताए । नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो । नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँ बानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगरले सहयोग गर्नेछ : बालेन

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताएका छन् । आज वडा १२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी दिए । नमूना विद्यालयहरुले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि सञ्चालन गरेका कार्यक्रमको नतिजा जानकारी लिन विद्यालयको अवलोकन गरेका हुन् । ‘पाठ्यक्रम अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ । यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ । प्रमुख शाहले भने, ‘अहिले हामी खेलकुदका लागि स्थान नभएका विद्यालय नजिक रहेका सार्वजनिक स्थलहरुलाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा नक्साङ्कन गरिरहेका छौँ । यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ ।’ अवलोकनका क्रममा उनले, विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव स्टीम क्लब्का विद्यार्थीहरुले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए । अवलोकनका विद्यालयको समग्र स्थितिका विषयमा प्रधानाध्यापक रविना महर्जनले जानकारी गराएका थिए । त्यस्तै विद्यार्थीहरुले आविष्कारका विषयमा जानकारी गराएका थिए । भूकम्प अलर्म, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, उर्जाको उत्पादन प्रयोग र प्रविधि प्रयोगमा रुपान्तरण, केवल कारलगायत प्रविधि, पीन बललगायतका खेल प्रविधि प्रदर्शन गरेका थिए । प्रमुख शाह आएर हामीलाई  दिए । विद्यार्थीहरुले अवलोकनपछि प्रतिक्रिया दिए । ‘नमूना विद्यालयमा नमूना कार्यक्रम सञ्चालन गर्न विद्यालय नेतृत्वको ठूलो भूमिका रहन्छ । उपलब्ध थोरै भौतिक संरचनामा धेरै कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सामुदायिक विद्यालयमा यो सम्भव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त स्रोतको उच्चतम उपयोग गर्न सकिन्छ । सरस्वती विद्यालय यसको उदाहरण बनेको हो ।’ अवलोकनका क्रममा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले प्रतिक्रिया दिए । ‘शिक्षकहरुको क्षमता विकासका लागि तालिमकर्ताहरुलाई सामुदायिक विद्यालयमा ल्याउने र विद्यालयको अवस्थिति र आवश्यकताका आधारमा तालिम उपलब्ध गराउने क्रियाकलाप सञ्चालन गर्ने तयारीमा छौँ ।’ अर्यालले भने, ‘महानगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब संस्थागतसँग प्रतिस्पर्धी बनाउँछौँ ।’ प्राथमिक शिक्षाका लागि शैक्षिक योग्यता भएका शिक्षकहरुलाई विश्वविद्यालय पठाउन सकिँदैन । त्यसैले अब विश्वविद्यालयलाई विद्यालयमा ल्याउनु पर्छ । यो संयोजनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । विद्यालयका प्रधानाध्यापक रविना महर्जनको भनाइ छ । यसका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य प्रयास भइरहेको उनको भनाइ छ । यो विद्यालय ३ आना ३ पैसा जमिनमा रहेको ५ तले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ । विद्यालयमा स्टीम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, डिजास्टर रिक्स रिडक्सन डीआरआर क्लव, इको क्लव, बाल क्लव छन् । यसैगरी आईसीटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र ईलर्निङ्गलगायत कक्ष छन् । विद्यालयमा खेल मैदान उपलब्ध नहुनु विद्यालयको सबैभन्दा ठूलो समस्या हो । प्रधानाध्यापक महर्जनले  शाहसँग खेल मैदान प्राप्त भए विद्यार्थीहरुको शारीरिक विकासका लागि ठूलो सहयोग हुने बताए ।