निजामती कर्मचारीका छोराछोरीले पाए साढे १६ करोड छात्रवृत्ति, एक जनालाई ५ लाखसम्म

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति स्वरुप सो रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ बमोजिम मन्त्रालयले सो छात्रवृत्ति उपलब्ध गराएको हो । निजामती कर्मचारीका ६८० जना छोराछोरीले उक्त छात्रवृत्ति प्रोत्साहन बापतको रकम प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । छात्रवृत्ति प्रोत्साहनको लागि सामान्य प्रशासन मन्त्रालयले गत बैशाख १२ गते अनलाइन आवेदनको लागि आह्वान गरेको थियो । मन्त्रालयले तोकिएको रित पुरा गरी प्राप्त भएका भन्दै गत जेठ ३० गते योग्यताक्रमको आधारमा ६९९ जना विद्यार्थीको सूची प्रकाशन गरी गत असार १७ गते अन्तिम नामावली भन्दै ७०२ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो । सो नामावली निर्देशिकाको दफा १५ को व्यवस्था बमोजिम उजुरी लिई गुनासोका सम्बन्धमा दफा १६ बमोजिम सुनुवाई समितिबाट सुनुवाई गरी प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार नेपाली शैक्षिक संस्थाहरुमा स्नातक वा सो सरहको अध्ययन गरिरहेको निजामती कर्मचारीका छोराछोरीले सो छात्रवृत्ति प्राप्त गर्न सक्छन् । २० लाख भन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ५ लाख, १५ लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ४ लाख र १० लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ३ लाख रुपैयाँ छात्रवृत्ति पाउने व्यवस्था निर्देशिकामा रहेको छ । त्यस्तै ५ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले २ लाख, १ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले १ लाख र १ लाख भन्दा कम शिक्षण शुल्क लाग्ने विद्यार्थीले पुरै शुल्क छात्रवृत्तिवापत प्राप्त गर्ने कुरा निर्देशिकामा उल्लेख गरिएको छ । मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा सहभागी हुनको लागि निजामती सेवा ऐन, नेपाल स्वास्थ्य सेवा ऐन र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन अनुसार नेपाल सरकारको कर्मचारी रहेका व्यक्तिका छोराछोरी र संघीय तहबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारी, निवृत्तिभरण लिएका कर्मचारी लगायतका छोराछोरीहरुलाई लक्षित गरेर आवेदन संकलन गरेको थियो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका छोराछोरी विद्यालय जान नसकिरहेको अवस्थामा कर्मचारीका छोराछोरीलाई भने सुविधा दिने गरी निर्देशिका ल्याइएको हाे ।  २०६८ सालबाट सुरु गरिएको छात्रवृत्ति वितरणमा तल्लो तहका सबै कर्मचारीका छोराछोरीले सुविधा पाउने अवस्था सिर्जना नभएपछि २०७५ सालबाट रोकिएको थियो । गत आर्थिक वर्षको बजेट वक्तव्यमा पुनः बजेटको व्यवस्था गरेर परिमार्जित निर्देशिकाबमोजिम छात्रवृत्ति दिइने भएको हो ।

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न

काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ । टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे लागि उक्त एकदिने वर्कसप आयाेजना गरेकाे थियाे । कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङकाे अनुसार वर्कसपमा २०० जना विद्यार्थीहरू सहभागी भएका थिए । ‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’उनी भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’ वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।  

काठमाडौं विश्वविद्यालयमा ‘मास्टर्स इन मिडिया स्टडिज’ को अध्ययन सुरु, ४ लाख शुल्क लाग्ने

काठमाडौं  । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए । एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ । विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताए । सो तहमा अध्ययनका लागि चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताए ।