सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन् । ज्ञानोदय माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन आग्रह गरे । ‘दस वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौं ।’ उनले शिक्षकहरूका सेवा सुविधामा समस्यालाई सम्बोधन गर्न मन्त्रालयले निजामती कर्मचारी सरहको सेवा सुविधा दिने गरी प्रक्रिया अघि बढेको जानकारी दिए । मन्त्री पौडेलले एक सय ४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलिरहेको र यसवर्ष थप सय विद्यालय छनोट गरी सीपलाई रोजगारसँग जोडिने बताए । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने उदाहरण ज्ञानोदय भएको बताए । नवर्निमित ३५ कोठे विद्यालयको भवन निर्माण तीन करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार काठमाडौं महानगरपालिकाको एक करोड, महायज्ञबाट ६७ लाख, बागमती प्रदेश सरकारबाट ९० लाख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २९ लाख, प्रदेश सांसद विकास कोषबाट ५० लाख, जिल्ला शिक्षा, समन्वय एकाइबाट २१ लाख सहयोग प्राप्त भएको थियो । उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक सो विद्यालयमा हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । रासस
राउण्ड टेबल नेपालले २ करोड लगानीमा मोरङको सरस्वती सदन विद्यालयमा बनायो कक्षाकोठा
काठमाडाैं । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले २ करोड बढीको लगानीमा विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको हाे । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको हाे । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए । आफुहरुले अभिभावकत्व ग्रहण गर्नु अघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा संचालन हुने गरेको राउण्ड टेबल नेपालका पुर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए । राउण्ड नोपाल ११ ले हालसम्म विद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए ।