कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ३० हजार ८७८ परीक्षार्थी सहभागी हुन पाउने छन् ।बोर्डका उपाध्यक्ष डा शर्माले भने, ुयस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।ु दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको थियो । यस वर्ष नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५१.९ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको छ । जस अनुसार १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डले यसवर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने व्यवस्था लागू गरेको हाे । यसवर्ष चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।
शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिनेछ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । ‘त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ’, प्रधानमन्त्री देउवाले भने ।दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए । नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगकोे प्रशंसा पनि गरे । क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पु¥याएका छन् भन्दै उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको छ भने । शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षामा यस क्याम्पसले इज्जत जोगाएको बताए । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै क्याम्पस प्रमुख र विश्वविद्यालयका पदाधिकारीसँग हालै मन्त्रालयमा छलफल गरिएको र यस्ता प्रयासलाई जारी राख्ने उनले जानकारी गराए । ‘दश जोड दुई उत्तीर्ण गरेपछि विद्यार्थीमा विदेश जाने लहर बढेको छ, विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न जानेलाई रोक्नुहुन्न तर देशमै भएको विषय अध्ययनका लागि विदेश जाने वातावरण बन्नु भनेको हाम्रो गुणस्तरमा कतै समस्या छ भन्ने सन्देश हो, शङ्करदेवजस्ता उत्कृष्ट क्याम्पसमा भारत, बङ्गलादेश, चीनलगायत देशबाट विद्यार्थी आउने वातावरण बनाउनुपर्छ’, मन्त्री पौडेलले जानकारी दिए । पहिलेदेखि नै शङ्करदेव क्याम्पसको जग्गा थोरै रहेकाले भवनको पूर्वाधार बढाउन कठिन रहेको उल्लेख गर्दै उनले मन्त्रालयले समाजकल्याण परिषद्को जग्गा दिन प्रक्रिया अघि बढाउने बताए । शिक्षा, स्वास्थ्य र रोजगार संविधानको मौलिक हकमा व्यवस्था गरिएकाले पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले विश्वविद्यालयका समस्या वार्ताकै माध्यमबाट समाधान गर्न पनि जोड दिए । क्याम्पस प्रमुख प्रा डा केशवराज जोशीले तोकिएको कोटाभन्दा ३० गुणाबढी विद्यार्थी पढ्न आउने गरेकाले ठाउँको अभाव हुने गरेको बताए । थप भवन बनाउने ठाउँ पाए पढ्न आउने सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ थियो । क्याम्पसलाई जमलस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा दिइएकामा अहिले त्यहाँबाट हटाइएकामा क्याम्पस प्रमुख जोशीले गुनासो गरे । क्याम्पसमा हाल १० हजार विद्यार्थी अध्ययन गरिरहेकामा खुला ठाउँ नभएकाले पनि समस्या हुने गरेको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवं क्याम्पसका पूर्वविद्यार्थी डोजाङ शेर्पाले क्याम्पसमा भौतिक पूर्वाधार विकासमा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । क्याम्पसमा लामो समय काम गरेका प्राध्यापकको योगदानको कदर गरिनुपर्ने उनको भनाइ थियो । क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति शुभराम बस्नेतले यस क्याम्पसलाई विषयगत विश्वविद्यालयका रुपमा स्थापित गर्न माग गरे । क्याम्पसअघि रहेको समाज कल्याण परिषद्को आठ रोपनी जग्गा थप भवन बनाउन क्याम्पसका नाममा ल्याउने प्रक्रिया सुरु गर्न पनि उनले माग गरेका थिए। क्याम्पस पूर्वविद्यार्थी समाजका अध्यक्ष राजीव थापाले क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । रासस