यी हुन् १२ पासपछि बैंकर, उद्यमी र व्यवस्थापक बन्न खोज्नेले पढ्ने विषय

काठमाडौं । कक्षा १२ को परिक्षाको नतिजा आएसँगै उत्तिर्ण भएका विद्यार्थीहरुलाई विश्वविद्यालय तहमा अध्ययनको लागि ढोका खुलेको छ । आ–आफ्नो अनुकुलतामा विभिन्न विषय लिएर अध्ययन गरेका र उमेरका हिसाबले श्रम बजारमा प्रवेश गर्न योग्य भैसकेका व्यवस्थापन संकायका विद्यार्थीहरुले कुन विषय लिएर पढ्दा व्यवहारिक हुनसक्छ ? नेपालको बजारमा वा विदेशी बजारमा व्यवस्थापनको क्षेत्रमा कुन विषय लिएर पढेका जनशक्तिको माग रहेको छ ? नेपालमा कुन विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा कस्ता विषयहरु पढाइरहेका छन् ? विद्यार्थीले जीवनउपयोगी विषय कसरी रोज्ने ? यी र यस्तै विषय विद्यार्थीहरुकाे जीवनका लागि पनि महत्वपूर्ण हुन्छन् । नेपालमा सञ्चालनमा रहेका अधिकांश कलेजहरुले मुख्यतः ठुला विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपालका मुख्य विश्वविद्यालयहरुमध्ये त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन गर्ने शैक्षिक कार्यक्रमको विषयमा यहाँ चर्चा गरिएको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालयले स्नातक तहको व्यवस्थापन संकायमा १० वटा विषयहरुको सञ्चालन गर्ने गरेको छ । जसमा बिबिएम, बिबिएस, बिएचएम, बिआइएम, बिएमटिएम, बिएमएस, बिपिए, बिटिटिएम, बिबिए र बिबिएफ रहेका छन् । काठमाडौं विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत ५ वटा विभागीय विषयहरुमा कोर्षहरुको विकास गरेको छ । जसमा वित्त, अर्थशास्त्र र लेखा, मानव स्रोत तथा साधारण व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, सूचना तथा विज्ञान र बजार तथा रोजगार रहेका छन् । जसमा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिबिआइएस र बिएचएम विषयको अध्यापन सञ्चालन गर्ने गरेको छ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत ६ वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । जसमा व्यवसायिक प्रशासन, बैंक तथा बीमा प्रशासन, कम्प्युटर सूचना प्रणाली, होटल व्यवस्थापन र स्वास्थ्य हेरचाह व्यवस्थापन रहेका छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले बिबिए, बिबिए बैैंकिङ एण्ड इन्स्योरेन्स, बिबिए ट्राभल एण्ड टुरिजम, बिसिआइएस, बिएचएम र बिचसिएम कोर्ष सञ्चालन गर्ने गरेको छ । कुन विषय पढ्दा कुन क्षेत्रमा सम्भावना बढी ? काठमाडौं मोडेल कलेजका प्राध्यापक प्रदिप पराजुली बिबिएम कोर्ष पढेर विद्यार्थीहरुले आफुलाई उद्यमी बन्न र विभिन्न क्षेत्रमा रोजगार प्राप्त गर्नको लागि योग्य हुने बताउँछन् । उनले सेमेस्टर प्रणालीमा पढाई हुने ४ वर्षे बिबिएम कोर्ष पढेपछि विद्यार्थी आँफै उद्यमी बन्न सक्ने वा मध्यम तहको व्यवस्थापक सम्म बन्न सक्ने उनको भनाइ छ । पोखरा विश्वविद्यालयले तयार गरेको बिबिए–बिआई कोर्ष ८ सेमेस्टरमा पढाइ हुने गर्दछ । यो मल्पी इन्टरनेशनल कलेज काठमाडौंका प्राध्यापक प्रतिक शर्माकाअनुसार बिबिए–बिआई कोर्षको ३ सेमेस्टरसम्मको विषय बिबिएसँग मिल्छ, त्यसपछिका सेमेस्टरमा भने बीमा र बैंकिङ क्षेत्रलाई जोड दिइएको हुन्छ । बिबिए–बिआई अध्ययन गरेपछि बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा काम गर्नको लागि सो विद्यार्थी सक्षम हुने प्राध्यापक शर्माले बताए । विश्वविद्यालयहरुले सञ्चालन गर्दै आएको वाणिज्य शास्त्रको सट्टामा विकास भएको नयाँ कोर्ष हो बिबिए । बिबिए कोर्षलाई सबै विश्वविद्यालयहरुले सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने गरेका छन् । ८ सेमेस्टरमा पढाइ हुने बिबिएमा विद्यार्थीहरुले ४० वटा विषय पढ्नुपर्ने हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्राध्यापक अमित गुप्ता बताउँछन् । जुनसुकै संकायबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीले पढ्न पाउने सो विषय पढेपछि विद्यार्थी जुनसुकै फिल्डमा काम गर्न जानको लागि योग्य हुने उनको भनाइ छ । स्नातक तहमा अध्यापन हुने बिएचएम विषय सबै विषय पढेका विद्यार्थीहरुले पढ्न सक्ने विषय हो । जसमा किचन, सर्भिस, हाउसकिपिङ, फ्रन्टअफिस, आदि लगायतका विषयहरु पर्दछन् । होटलमा खाना कसरी बनाउने, कसरी गेष्टहरुलाई सर्भिस दिने, रुमहरुको व्यवस्थापन कसरी गर्ने, गेष्टहरुलाई आतिथ्यता कसरी टक्र्याउने, आदि लगायतका व्यवहारिक विषयहरु विएचएम लेभलमा अध्ययन गरिन्छ । मुलतः जसले भोकेस्नल कोर्षहरु सिक्न खोजिरहेको हुन्छ वा सैद्धान्तिक भन्दापनि प्राक्टिकल बेसमा बसेर काम गर्ने रुची भएको विद्यार्थीका निमित्त निकै उपयोगी र व्यवहारिक विषय मानिन्छ । होटल म्यानेजमेन्टको अध्ययन गरिसकेपछिको उपयोगिताको क्षेत्र धेरै नै बृहत रहेको छ । पहिलो त होटलमा धेरै भूमिकामा काम गर्न सकिन्छ । ट्राभल एण्ड टुरिजम क्षेत्रमा टिकेटिङ अफिसर, दोभासेलगायतको काम गर्न सकिन्छ । त्यस्तै एयरलाइन्सको क्षेत्रमा प्लेनभित्र किचनको काम गर्ने, यात्रुहरुलाई खानाको सर्भिस गर्ने लगायत कामहरुमा होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता र महत्व रहेको छ । फिटनेस सेन्टरहरुमा डाइटिसियनको रुपमा पनि काम गर्न सकिन्छ । न्युट्रेसन क्षेत्रमा, खाना तथा खाजाहरुको मेनुमार्फत् सन्तुलित भोजन निर्माण गर्ने कुरामा यसको महत्वपूर्ण भुमिका रहेको हुन्छ । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट ४ वर्षे शैक्षिक कार्यक्रम हो । यो कार्यक्रम व्यवसायिक हेल्थ केयर जनशक्ति उत्पादनको लागि डिजाइन गरिएको हो । यो कोर्षमा स्वास्थ्य योजना निर्माण, वृहत अर्थशास्त्र, व्यवसायिक सूचना, अस्पताल योजना, स्वास्थ्य प्रणाली र नीति तथा कार्यक्रम निर्माण सम्बन्धी अध्ययन गरिन्छ । अंग्रजी विषयमा राम्रो क्षमता भएका कक्षा १२ अध्ययन सकेका विद्यार्थीहरुले यो विषय अध्ययन गर्न सक्छन् । स्नातक तहको हेल्थ केयर म्यानेजमेन्ट अध्ययन गरिसकेपछि ती विद्यार्थीहरुले सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको व्यवस्थापकीय नेतृत्व वा सञ्चालनमा सहभागी भएर काम गर्न सक्छन् । नोवेल कलेज व्यवस्थापन संकायका प्रमुख ज्ञानेन्द्र चौलागाईंका अनुसार यो विषय पढेपछि विद्यार्थीहरु अस्पताल मात्रै नभएर एनजिओ, आइएनजिओ र डब्लुएचओ लगायतले सञ्चालन गर्ने स्वास्थ्य कार्यक्रममा समेत सहभागी भएर काम गर्ने क्षमता राख्दछन् । बिपिएच अर्थात् ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी मुख्यत हस्पिटालिटी उद्यमसँग सम्बन्धित विषय हो । काठमाडौं युनिभर्सिटीले सञ्चालन गरेको यो कार्यक्रम सीमित कलेजहरुले मात्रै सञ्चालन गरेका छन् । गर्दै सिक्दैमा आधारित यो कोर्ष कक्षा १२ पास भएका विद्यार्थीले पढ्ने व्यवहारिक विषय हो । ८ सेमेस्टरमा अध्यापन हुने यो विषय पढिसकेपछि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित पर्यटन क्षेत्रका धेरै विधाहरुमा काम गर्न सक्छन् । पछिल्लो समय नेपालमा हस्पिटालिटी क्षेत्रको विस्तार हुने क्रम रहेको छ । बिपिए अर्थात् ब्याच्लर अफ पब्लिक एडमिनिस्ट्रेसन त्रिभुवन विश्वविद्यालले विकास गरेको ४ वर्षे कार्यक्रम हो । ८ सेमेस्टरमा पढाइ हुने यो कोर्ष सार्वजनिक क्षेत्रमा प्रशाशन तथा व्यवस्थापकीय काम गर्नको लागि तय गरिएको हो । बिपिए पढिसकेपछि सार्वजनिक क्षेत्रको व्यवस्थापन तथा अनुसन्धान, सार्वजनिक सेवाको नेतृत्व र विभिन्न संस्थाहरुको नेतृत्वमा रहेर काम गर्न सकिन्छ । नेपालमा सार्वजनिक, सार्वजनिक निजी र निजी क्षेत्रको स्वामित्वमा सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रहरुको विस्तार भइरहेको छ । बिआइएम अर्थात् ब्याचलर अफ इन्फर्मेसन आइटी र म्यानेजमेन्टको समायोजन गरेर अध्ययन गरिने विषय हो । यो कोर्षमा व्यवसायिक प्रशासन तथा निर्णय प्रकृयामा सूचना तथा सञ्चार प्रणालीको मिश्रण गरे(र अध्ययन गरिन्छ । सूचना व्यवस्थापन कोर्षमा आधारभूत रुपमा अर्थशास्त्र, कम्प्युटर विज्ञान, र व्यवस्थापनका प्रविधि, विधि र सैद्धान्तिक कुराहरुलाई विश्लेषण गरेर अध्ययन गरिन्छ । पछिल्लो समय सेवा, उद्यम तथा व्यवसायको सम्पूर्ण क्षेत्र आधुनिक व्यवस्थापनमा आधारित हुँदै गएकाले बिआइएम अध्ययनको महत्व बढ्दै गएको छ । यो कोर्षलाई नेपालका विभिन्न विश्वविद्यालयहरुले विभिन्न नाम दिएर सञ्चालन गर्ने गरेको पाइन्छ ।

शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए । शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियोे । नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थीबीचमा विभिन्न गतिविधि गर्दै आएको छ । कक्षा आठदेखि खगोल विज्ञानसम्बन्धी ओलम्पियाड प्रतियोगिता, चित्रकला, वक्तृत्वकलालगायत कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो । यसलेगर्दा खगोल विज्ञानका विषयमा विद्यार्थीमा जिज्ञासा बढाएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य डा दीनेशराज भुजुले खगोल विज्ञानका विषयमा धेरै विद्यार्थी, अभिभावक र जनसाधारणको पनि ध्यानाकर्षण गराउन नासो सफल भएको बताए । नासोले नेपालमा विज्ञान र संस्कृतिलाई अघि बढाएको उल्लेख गँर्दै उनले अबका वैज्ञानिक सांस्कृतिक वैज्ञानिक हुने पनि सुनाए । नासोका अध्यक्ष सुरेश भट्टराईले नेपाललाई वैज्ञानिक संस्कृतितिर अघि बढाउने उद्देश्यले नै १५ वर्षअघि त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने विद्यार्थीको समूहले काम सुरु गरी संस्था स्थापना गरेको बताए । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले अन्तरिक्ष विज्ञान विश्वव्यापी बनिरहेका बेला नेपालले पनि काम सुरु गरेको जानकारी दिए । कार्यक्रममा नास्टका इञ्जिनीयर रोशन पाण्डे, अभिभावक पङ्कजकुमार कर्ण, विज्ञान शिक्षिका सरिता शाक्य प्रधान र रुपा मानन्धरलगायतले नेपालमा खगोल एवं अन्तरिक्ष विज्ञानका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने वातावरण बनाउन माग गरेका थिए ।कार्यक्रममा नासोले विभिन्न समयमा आयोजना गरेका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । नासोले मन्त्रालय, नास्टलगायत विज्ञानका विषयमा काम गर्ने सरकारी एवं गैरसरकारकारी संस्थासँग सहकार्य गरी आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । रासस

अध्यक्ष दाहालद्वारा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको वर्दिबास– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको आज शिलान्यास गरेका छन् । कोरियाली सरकारको एक अर्ब पाँच करोड रुपैयाँ सहयोगमा उक्त शिक्षालयको शैक्षणिक भवन निर्माण हुन लागेको हो । सिटिइभिटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय शिक्षालयको नयाँ चार वटा भवनको दाहालले शिलान्यास गरेका हुन् । कोरियाली सरकारको सहयोगमा निर्माण हुने शिक्षालयका चार वटा भवन अत्याधुनिक हुने शिक्षालयका प्रमुख रमण मेहेताले बताए । विसं २०७५ मा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक विषय अध्यापन हुने शिक्षालयले अहिले सात वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस