यी हुन् काभ्रेका उत्कृष्ट नौ विद्यालय
काभ्रेपलाञ्चोक । शैक्षिक गुणस्तर परीक्षण केन्द्र आरओले कार्यसम्पादन परीक्षण गरेको उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय छनोटमा परेका छन् । केन्द्रद्वारा सार्वजनिक देशभरका सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजाअनुसार उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय रहेका हुन् । केन्द्रले देशका चार हजार आठ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको छ, रोशी गाउँपालिका एक, पनौती नपाको एक र मण्डनदेउपुर नगरको एक माध्यमिक विद्यालय छनोटमा परेका छन् । जिल्लास्थित शिक्षा विकास समन्वय इकाईका अनुसार विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङक मेरिटका आधारमा पाँचखाल नगरका छ विद्यालय एक सयमध्येमा छनोट भएका छन् । पाँचखालमा नगरमा १३ माध्यमिक विद्यालय छन् । पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले इआरओको कार्यसम्पादन परीक्षणका उत्कृट एक सयमध्ये आजाद मावि बालुवा ३५ नं, ज्ञानेश्वरी मावि अनेकोट ४० नं, भक्रमदेवी मावि अनेकोट ५० नं, सर्वमंगला मावि पाँचखाल ६५ नं, मंहाङकाल मावि बेला ८१ नं र जोरपाटी मावि तिनपिप्ले १०० नं मा छनोट भएको जानकारी दिए । त्यस्तै रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा छनोट भई काभ्रेपलाञ्चोककै उत्कृष्ट विद्यालय बनेको छ । पनौती नगरको भालेश्वर मावि मल्पी २८ नं तथा मण्डनदेउपुर नगरको महाकाली मावि चैनपुर ४४ नं मा परेका हुन् । इकाईप्रमुख गोकर्णध्वज कार्कीले इआरओको कार्यसम्पादन परीक्षणमा उत्कृष्ट सयमध्ये काभ्रेपलाञ्चोकमा नौ विद्यालय छनोटमा परेकोमा खुसी व्यक्त गरे । जिल्लामा पाँच सय २७ सामुदायिक विद्यालय छन् । देशका चार हजार आठ सय ६७ विद्यालयलाई श्रेणीकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि प्रथम श्रेणीमा परेको छ । उक्त विद्यालयले इआरओको कार्यसम्पादन परीक्षणमा ९४ दशमलब ५९ अङ्क प्राप्त गर्दै प्रथम भएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलले स्थानीय जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका सबै क्षेत्रको सहयोगमा आफ्नो क्षेत्रका छ विद्यालय उत्कृष्ट सयमध्येभित्र परेकामा खुसी व्यक्त गरे । ‘नगरले शिक्षालाई प्राथमिकतामा राखेका कारण यसको समग्र परिवर्तनका लागि विद्यालय प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउनेतर्फ उन्मुख छौँ’, खरेलले भने । रासस
गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पढाई, तीन लाख ८० हजार लाग्ने
अन्नपूर्ण (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुगे । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । वस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उनको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्छन् । गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत हुन्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उनी खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि परेका छन् । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँडेका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित भए । अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उनी बिएसएममा भर्ना भएका हुन् । उनी अहिले दोस्रो सेमष्टरमा अध्यनरत छन् । पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उनको भनाइ छ । ‘खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ’, उनले भने, ‘व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।’ एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्प्रेरणा पनि आवश्यक रहेको उनले बताए । नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उनी जस्तै २१ जना अध्ययनरत छन् । पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उहाँहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित छन् । नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहेका छन् । अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताए । डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिएका हुन् । ‘नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ’, डा सुवेदी भन्छन्, ‘त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।’ बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उनले बताए । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उनको भनाइ छ । चार वर्षे पढाइ सक्दा तीन लाख ८० हजार लाग्ने उनले जानकारी दिए । ‘आठ सेमेष्टर सक्दा तीन लाख ८० हजार खर्च आउँछ’, उनले भने, ‘यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।’ एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिए । ‘यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्’, उनले भने । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उहाँले बताउनुभयो । अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उनको अनुमान छ । नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिए । योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताए । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ । विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिए । रासस
पैसाका कारण ७० वर्षभन्दा पुरानो ऐतिहासिक पुस्तकालय बन्द
टक्सार । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायतका युवाद्वारा पुस्तक सङ्कलन गरी मर्यादा पुरुषोत्तम भगवान् रामको नामबाट सञ्चालन गरिएको श्रीराम पुस्तकालयलाई शासकको नीतिनियममा सञ्चालित हुनेगरी तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट बि.स.२००५ सालमा अनुमति प्राप्त भएसँगै श्रीराम पुस्तकालय सञ्चालनमा आएको हो । राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर शहीदको सम्झनामा विसं २०१० मा भोजपुर सदरमुकाममा नै श्री अमर शहीद पुस्तकालय नामको अर्काे पुस्तकालयसमेत स्थापना भएको पाइन्छ । पछि आएको पुस्तकालयलाई तत्कालीन वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएको पुस्तकालयका ज्ञाता स्थानीयवासी शेरबहादुर मोक्तान बताउँछन् । पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभाव जस्ता कारणले गर्दा दुवै पुस्तकालयलाई अगाडि बढाउन र सञ्चालन गर्न नसकिएपछि विसं २०२३ माघ १६ गते श्रीराम पुस्तकालय र श्री अमर शहीद पुस्तकालयलाई एकीकरणगरी श्रीराम अमर शहीद पुस्तकालय भोजपुरका नामबाट सञ्चालनमा ल्याइएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिए । त्यसपश्चात् पुस्तकालयले भोजपुर जिल्लाको शैक्षिक, बौद्धिक, साहित्यिक, सामाजिक, खेलकुद, सांस्कृतिकलगायत विविध क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आइरहेको थियो । जिल्ला प्रशासन कार्यालय, भोजपुरमा संस्था दर्ता ऐन २०३४ अनुसार बि.स.२०३८ साल साउन ६ गते दर्ता भएको पुस्तकालयले समाजकल्याण परिषद्मा समेत दर्ता भएको पुस्तकालय सञ्चालक समितिका सचिव विनम श्रेष्ठले जानकारी दिए । हाल यो पुस्तकालयको सात आना दुई पैसा जग्गामा बनेको तीनतले आफ्नै घरमा छ । तत्कालीन पुस्तकालयका संस्थापक सदस्य युवाले चाडपर्वमा देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसमा नाटक एकाङ्की प्रदर्शन मञ्चन गरेर वचत गरी तथा तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोग प्राप्त गरी कूल एक लाख १४ हजारको लागतमा विसं २०४० भदौ महिनामा भोजपुर सदरमुकाममा भवन निर्माण गरेका थिए । त्यसबेला पुस्तकालय सञ्चालनका लागि भवन निर्माणमा स्थानीय युवाले स्वेच्छाले श्रमदान गरी भवन निर्माण गरेकाले पुस्तकालयप्रति सबैको सकारात्मक भावना र सोच देखिएको थियो, संरक्षक मोक्तान बताउँछन् । पुस्तकालयबाट २०२८/२९ सालमा नाटक प्रदर्शनको लागि ‘कलाकुञ्ज सांस्कृतिक समूह’ स्थापना भएको थियो । जसले आफैँ नाटक लेख्ने, मञ्चन निर्देशनगर्ने काम गरी प्रत्येक शुक्रबार जनसेवा निमावि, सामुदायिक भवनमा नाटक प्रदर्शनगर्ने गरेका थिए । केही नाटक र नाटकका संवाददेखि आत्तिएर तत्कालीन शासकले नाटकका कलाकार, निर्देशकलाई सजाय स्वरुप हिरासतमा पु¥याएका थिए । उनीहरुले तुँवालोले ढाकेको बस्ती, छ औले मान्छे, सतित्व, दोबाटो, पर्दाभित्रको रहस्य जस्ता चर्चित नाटकलाई सदरमुकाममा मात्रै सीमित नराखी गाउँगाउँमासमेत प्रदर्शन गरेका थिए । विसं २०५७ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आयोजनामा विराटनगरमा भएको ‘पूर्वाञ्चल क्षेत्रीय गीतसङ्गीत महोत्सव’ मा यसै पुस्तकालयले समग्र भोजपुर जिल्लाको प्रतिनिधित्व गर्दै भाग लिएको थियो । श्रीराम अमर शहीद पुस्तकालयले बौद्धिक तथा प्राज्ञिक क्षेत्रका स्रष्टा र सर्जकलाई सम्मान प्रदान पनि र्दै आएको छ । साहित्यकार मेघराज नेपाल ‘मन्जुल’, विप्लव ढकाल, शैलेन्द्र साकार, विष्णुविभु घिमिरे, नेपाली भाषामा स्नातकोत्तर जापानी नागरिक हारोहितो नोजुलाई अभिनन्दन तथा भोजपुर साहित्य, कला, सङ्गीत महोत्सवका अवसरमा हीरण्य भोजपुरे, उर्मिला भोजपुरे, श्रवण मुकारुङ, सैलेन्द्र साकार, बुलु मुकारुङ, भूपाल राई, मुकारुङ गोविन्द, भिषण मुकारुङ, श्याम तमोट, पारस मुकारुङ, खेमराज गुरुङ, आभा मुकारुङ, शेरबहादुर मोक्तान, गीता कार्की र दीपा राई जस्ता नेपालका मूर्धन्य कवि तथा कवयत्री, साहित्यकार, गीतकार, गायकगायिका तथा सङ्गीतकारलाई एकैथलो पुस्तकालय हातामा सम्मान प्रदान गरिएको थियो । यसरि सम्मानित हुने अधिकांश भोजपुरे र तिनीहरुको सम्बन्ध यस पुस्तकालयसँग कुनै न कुनै तवरले जोडिएको पाइन्छ । पुस्तकालय सञ्चालक समितिका सचिव श्रेष्ठका अनुसार पुस्तकालयले विगतमा वीरेन्द्र शुभजन्मोत्सव विषेशाङ्क तथा पिखुवाको सुशेलीलगायत थप अरु केही फुटकर साहित्यिक पुस्तकसमेत प्रकाशन गरिसकेको छ । भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, शहीद दिवस तथा पुस्तकालय वार्षिकोत्सवलगायतका अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्ने गरेको थियो । पुस्तकालयले सामाजिक एवं सांस्कृतिक क्षेत्रमासमेत सहभागिता जनाएको छ । सांस्कृतिक पर्वको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णाअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन र नेपालसंवत्, ल्होसार चण्डीनाचको आयोजना सहयोग तथा सहभागिता गर्ने गरेको छ । सदरमुकाममा संचालन गरिएको पुस्तकालयले खेलकुद क्षेत्रमा पनि सहयोग गरेको बताउँदै भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवाल भन्छन्, ‘खेलकुद क्षेत्रलाई पनि पुस्तकालयले आफ्नोतर्फबाट टेवा पु¥याउँदै आएको थियो, भूकम्पका कारण पुस्तकालयको माथिल्लो तला मर्मत हुन नसक्दा ऐतिहासिक पुस्तकालय सञ्चालनमा आउन सकेको छैन ।’ यो पुस्तकालय सञ्चालनमा आउँदा स्थानीय मात्र नभएर विद्यालयस्तरका अतिरिक्त क्याम्पसका विद्यार्थी पनि पुस्तकालयबाट प्रत्यक्ष लाभान्वित बनेको स्थानीय जीवन श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘अन्यत्र नपाइने पुस्तकसमेत यस पुस्तकालयमा पढ्न पाइन्थ्यो ।’ यसका अलावा पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहासका पुस्तक छन् साथै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्य, विभिन्न ठाउँबाट प्राप्त पुस्तक, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजी विधाका पुस्तक, रेफरेन्स पुस्तकसमेत गरी करिब छ हजार पुस्तक छन् । पुस्तकालय राष्ट्रिय तथा स्थानीयस्तरमा मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकासमेत नियमितरुपमा आउने पढने व्यवस्था मिलाइएको थियो । अहिले आएर भवन पुनःनिर्माण हुन नसक्दा पुस्तकालय नियमित सञ्चालनमा समस्या भएको पदाधिकारीको भनाइ छ । जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालयको सञ्चालनमा समस्या भएको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठले भने, ‘सदरमुकाममा पक्की घर बनाउन आर्थिक स्रोत जुटाउन नै समस्या छ, हामीले पुनःनिर्माणका लागि सरोकारवाला र स्थानीय निकायमा भने पटकपटक पहल गरेका नै छौँ ।’ पुस्तकालयमा इ–लाइब्रेरी सञ्चालनका लागि पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटरसमेत पुस्तकालयलाई सहयोग गरेको थियो । गृहजिल्ला भोजपुरका पूर्वअर्थमन्त्री कोइरालाले राणाशासनकालमा सञ्चालनमा आएको पुस्तकालय संरक्षणमा सबैले ध्यान दिन जरुरी रहेको बताए । ‘आगामी दिनमा पुस्तकालयलाई अझ पाठकको सुविधामा पुग्नेगरी समयसापेक्ष सुधार गर्दै पुस्तकालयको भवन जीर्णोद्धार गर्न आवश्यक देखिन्छ ।’ पुस्तकालय सञ्चालनमा लामो सयम काम गर्नुभएका सङ्केत कोइराला सदरमुकाममा रहेको ऐतिहासिक पुस्तकालयमा पुस्तक र पत्रपत्रिका हेर्न आउनेको बिगतको भीड सम्झँदै भन्छन्, ‘बिहान र बेलुका खुल्ने पुस्तकालयमा हामीले नियमित पुस्तक लिन आउनेका लागि सदस्यता कार्डमार्फत पुस्तक दिने व्यवस्था मिलाएका थियौँ । पुस्तकालयका पुस्तक लगेर अध्ययन गर्ने साधारण सदस्यको सङ्ख्या मात्र करिब चार सय थियो ।’ ‘पुनःनिर्माण प्राधिकरणले संस्थाका नाममा रहेका भवनलाई पुनःनिर्माण गर्ने सूचीमा नराखेका कारण पुनःनिर्माणमा समस्या देखिएको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । प्राधिकरणले पनि सूचीमा राखेन, घर पुनःनिर्माणका लागि करोडौँ पैसा लाग्छ, जसले गर्दा समस्या भएको छ’, अध्यक्ष श्रेष्ठले भने । रासस